–चाँदनी श्रेष्ठ
रिटेल बैंकिङ प्रमुख, नबिल बैंक
मानिसहरुको जीवनशैलीमा आएको परिवर्तनसँगै नेपालमासवारी साधनको प्रयोग पनि बढ्दै गएको छ । विगतमा बिलासिताको वस्तुको रुपमा हेरिने सवारी साधन अहिले अत्यावश्यक जस्तै भइसकेको छ । अटोमोवाइल क्षेत्रमा नयाँ नयाँ प्रविधि र नयाँ नयाँ सुविधाहरु पनि थपिने क्रम बढ्दै गएको छ । यसले ग्राहकहरुलाई आकर्षण पनि थपेको छ । पछिल्लो समयमा विद्युतीय सवारी साधन (ईभी) तर्फ ग्राहकहरुको बढी नै रुची बढेकोले यस्तो गाडी खरिदका लागि कर्जा माग गर्ने क्रम पनि बढ्दो छ । तुलनात्मकरुपमा सस्तो मूल्यमा भित्रिएका यस्ता गाडीहरुलाई सरकारले कर र कर्जामा पनि सहुलियत दिएकाले कर्जाको माग बढेर गएको हो ।
नबिल बैंकको रिटेल कर्जाको महत्वपूर्ण अंश भनेको अटो कर्जा पनि हो । गाडी किन्न चाहने ग्राहकहरुको लागि सर्वसुलभरुपमा विगतदेखि नै सवारी कर्जा (अटो फाइनान्सिङ) सुविधा प्रदान गर्दै आएको छ । नबिल बैंकको समग्रमा एक खर्बभन्दा धेरैको रिटेल कर्जाको आकार भइसक्यो । त्यसमा १० प्रतिशतभन्दा बढी नै अटो कर्जाको हिस्सा छ, जसलाई हामीले राम्रो पोर्टपोलियो मान्दै पनि आएका छौं । अबको दुई महिना भनेको अटो लोनको समय पनि हो ।
नबिल बैंकले अटो कर्जामा निजी गाडीका साथै कमर्सियल गाडीलाई पनि फाइनान्स गर्छ । यी दुबैमा पेट्रोलबाट चल्ने आईसीई इन्जिनका गाडी र विद्युतीय गाडी (ईभी)लाई प्राथमिकताका साथ फाइनान्स गर्छ । पछिल्लो समयमा ईभीतर्फ ग्राहकहरुको आकर्षण बढेकाले अटो फाइनान्समा यसको हिस्सा ६०–७० प्रतिशत पुगिसकेको छ भने पेट्रोल÷डिजलका गाडीमा ३०–४० प्रतिशत रहेको छ । प्यासेन्जर गाडी र कमर्सियल गाडी दुबैमा ईभी फाइनान्सको अग्रता छ । नबिलमा पनि करिब त्यही अनुपातमा अटो फाइनान्स भइरहेको छ ।
के छ नाडा अटो शो तथा चाडपर्व विशेष ?
नबिल बैंकले बिगतमा जस्तै यसवर्षको गाडीहरुको कुम्भ मेला ‘नाडा अटो शो २०२४’ मा पनि सहभागिता जनाएको छ । हामीले नाडा अटो शोदेखि आउँदो चाडपर्वसम्मका लागि निजी गाडीहरुको खरीदमा फाइनान्सिङलाई प्राथमिकता दिएका छौं । यसका लागि बैंकले विशेष चाडपर्व योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत बैंकले ५ वर्षका लागि ८.२५ प्रतिशत र ७ वर्षका लागि ८.४९ प्रतिशत स्थिर ब्याजदरको आकर्षक योजना ल्याएको छ । आधार दर परिवर्तन भए पनि उक्त अवधिसम्म ब्याजदर परिवर्तन हुँदैन । आफ्नो सहजताका लागि बढी समय बनाइदिनु भन्ने ग्राहकले सात बर्षको सुविधा उपयोग गर्न सक्नेछन् । यसले अटो मोबाइल खरिद गर्न चाहने ग्राहकहरूलाई दीर्घकालसम्म सुलभ र स्थिर वित्तीय सहायता उपलब्ध गराउन मद्दत पु¥याउने विश्वास बैंकले लिएको छ ।
नाडा अटो शोमा नबिल बैंकले राखेको स्टल (सेवा केन्द्र) मार्फत ग्राहकहरूले तत्काल कर्जा मूल्याङ्कनको सुविधा प्राप्त गर्न सक्नेछन् । साथै, ग्राहकहरूलाई आवश्यकता अनुसार शर्तसहितको ‘अफर लेटर’ पनि तुरुन्तै उपलब्ध गराइनेछ । ग्राहकले कुनै ब्राण्डको गाडी मन पराएर आइसकेपछि आफ्नो आयसहितको विवरण देखाउनासाथ तत्कालै बैंकले ‘अफर लेटर’ दिन्छ । कालोसूचीमा नभएको जस्ता केही शर्तहरु भने ग्राहकले पनि पालना गर्नुपर्छ । साथै, आवश्यक अरु कुराको परामर्श बैंकको स्टलबाट हुन्छ । ‘नाडा अटो शो’ मा सुरु हुने यो विशेष ब्याजदरसहितको योजना छ दिनको मेलामा मात्रै नभएर मंसिर अन्तिमसम्म नै जारी रहने छ । त्यतिबेलासम्म सम्पर्कमा आउने र योग्यता पुगेका ग्राहकहरुलाई गाडी किन्न वित्तीय सहजता प्रदान गर्न नबिल बैंक प्रतिवद्ध छ ।
यो कोरोना महामारीपछिको यो दोस्रो ‘अटो शो’ हो । महामारीको समयमा अटो लोन खासै प्रवाह हुन सकेन । गतबर्षभन्दा पनि यो बर्ष अटोमोवाइल क्षेत्रमा रौनक बढी देखिएको छ । प्रायः अधिकांश डिलरहरुले नयाँ नयाँ ब्राण्ड र मोडलका गाडीहरु भित्राउने क्रम जारी छ । डिलरहरुमा देखिएको उत्साह र ग्राहकमा देखिएको आकर्षणलाई नबिल बैंकले पनि हातेमालो गर्ने प्रतिवद्धता जनाएको छ । गतबर्ष ‘नाडा अटो शो’ मा झण्डै दुई अर्बको बिजनेश भएकोमा यसबर्ष त्यो भन्दा धेरै हुने अपेक्षा गरिएको छ । नबिल बैंकको राम्रो ग्राहक आधार र अफर पनि भएकाले योजना सफल हुने विश्वासमा छौं । सेवामा पनि कुनै कमजोरी नगर्ने प्रयासमा छौं ।
ईभीका लागि हब
ईभी लोनको बढ्दो मागलाई ध्यानमा राखेर नबिल बैंकले डेडिकेटेड स्टेशन (हब) पनि सञ्चालन गरेको छ । यस्तो अटो हब बैंकको पुल्चोक शाखामा रहेको छ । यो हबमा कार्यरत टिमले ईभीमा ट्याक्सी, काठमाडौंभित्र र बाहिर चल्ने माइक्रो बससहितका कमर्सियल गाडीहरुको फाइनान्सिङको काम गर्छ । यस्तो सेवा अन्य शाखाबाट नहुने भन्ने होइन । देशका सबै शाखाले ईभी फाइनान्सिङको काम गर्छन् । बाहिर सञ्चालन हुने कमर्सियल गाडीको हकमा भने धितो चाहिने व्यवस्था छ । जहाँबाट गाडीको लागि फाइनान्स सुविधा दिए पनि छिटोछरितो दिने बैंकको नीति छ ।
फाइनान्स सुविधा लिन आउँदा ग्राहकले गाडीको कोटेशनसँगै नागरिकता, २५ लाखभन्दा बढीको हकमा प्यान कार्ड अनिवार्य ल्याउनुपर्ने हुन्छ । आम्दानीको स्रोतका हकमा नोकरी गर्नेले पछिल्लो महिनाको तलब बुझेको प्रमाण, आन्तरिक राजश्व विभागबाट कर तिरेको प्रमाण, बैंक स्टेटमेन्ट ल्याउनु पर्छ । तलबको आयविवरणको सट्टा घरबहालको आय देखाउने हो भने घरबहाल सम्झौता र घर बहाल कर तिरेको प्रमाण ल्याउन सकिन्छ । व्यवसायिक आम्दानी देखाउने हो भने लेखापरीक्षण प्रतिवेदन र कर चुक्त प्रमाणपत्रसहित अन्याय बैधानिक कागजपत्र ल्याउनुपर्ने हुन्छ । गाडी किन्नुअघि अटो लोनमा के कस्तो व्यवस्था र सुविधा छ भनेर ग्राहकले जुनसुकै बेला पनि आएर सोधपुछ र सल्लाह लिन सक्नेछन् । ग्राहकहरुले प्रस्तुत गर्नुपर्ने आवश्यक आधार प्रमाण आइसकेपछि बैंकले कर्जा सूचना केन्द्रबाट सीआईसी निकालेर हेर्दा ‘क्लिन’ छ भने आयको मूल्यांकनका आधार तीन कार्यदिन भित्रमै हामी अटो लोन प्रवाह गर्दछौं ।