–हेमन्त अग्रवाल
पछिल्लो समय अटोमोबाइल क्षेत्रमा ‘रिभोलुसन’ देखिएको छ । विगत १०० वर्षभन्दा लामो समयदेखि वर्चश्व रहिआएको आइस इन्जिनका गाडीको विकल्पमा विद्युतीय सवारीसाधन (ईभी) आइरहेका छन् । नेपालमा आयात भएका गाडीमध्ये ३ भागको एक भाग ईभी हुन थालिसकेको छ भने यातायात क्षेत्रमा ईभीले ठूलो परिर्वतन ल्याएको छ ।
हाम्रो सोचमा नयाँ कुरा प्रयोग गर्ने भन्ने भएकैले इभीको ‘अडप्टेसन’ धेरै छ । जोखिम लिएर भए पनि नयाँ चिजमा लगानी गर्ने, नयाँ चिजको बारेमा बुझ्न, अनुभव गर्न खोज्ने छ । त्यो कुरा हामी भारत, पाकिस्तान, श्रीलंका आदि मुलुकमा पाउँदैनौं । यी मुलुकमा सरकारको नीतिदेखि ग्राहकको टेक्नोलोजीको बुझाइ ईभीमैत्री छैन । तर नेपालमा सरकारले पनि ईभीमा कर कम राखेको छ र ग्राहक पनि टेक्नोलोजीमा अभ्यस्त र कन्फिडेन्ट छन् ।
मापदण्ड तोकिनुपर्छ
ईभीको क्रेजसँगै धेरै व्यवसायीले नयाँ–नयाँ ब्राण्ड ल्याइरहेका छन् । खुला बजार अर्थतन्त्र भएकाले नयाँ ब्राण्ड ल्याउन निरूत्साहित गर्ने भन्ने हुँदैन । तर भोलिका दिनमा केही आयातकर्ताले आयात गर्न छाडे भने त्यो ग्राहकमाथिको अन्याय हुन्छ । त्यसकारण सरकारले गाडी बेच्ने हो भने पूर्वाधार, सर्भिस सेन्टर, चार्जिङ स्टेशन यतिवटा हुनुपर्छ भनी मापदण्ड तोकिदिनुपर्छ । यसका लागि नीति आवश्यकता छ । अहिले तीन जना मान्छे मिलेर दुई वटा गाडी ल्याएर बेच्न सक्ने अवस्था छ । यो अवस्थालाई भने निरूत्साहित गर्नुपर्छ ।
त्यस्तै केही कुरा ग्राहकले पनि बुझ्न जरूरी छ । किन्न लागेको ब्राण्डको अन्तर्राष्ट्रिय बजार कस्तो छ ? आयातकर्ताको ट्र्याक रेकर्ड कस्तो छ ? विगतमा ग्राहकलाई कस्तो सेवा दिइरहेको छ ? लगायतका विषयमा ग्राहक आफैं पनि सजग हुनुपर्छ । सजग नहुँदा भोलिका दिनमा सास्ती भोग्नुपर्ने र नोक्सानी हुने ग्राहकको नै हो ।
ईभीमा आक्रामक सिजी
प्यासेन्जर गाडीको सेगमेन्टमा हेर्ने हो भने पछिल्लो १५ वर्षदेखि दुई वटा ब्राण्ड सुजुकी र हुण्डाईले मात्र ७० देखि ८० प्रतिशतसम्म बजार हिस्सा ओगटेका थिए । यता कमर्सियल सेगमेन्टमा टाटाले मात्र ७०÷८० प्रतिशत बजार लिएको थियो । कोरियन, जापानी भारतीय गाडीमा ठूलो ‘ग्याप’ के देखियो भने उनीहरुले ईभी प्रविधि समय मै ‘एडप्ट’ गर्न सकेनन् ।
डिजेल इन्जिनभन्दा दोब्बर लाइफको ब्याट्री बजारमा आइसक्यो, त्यो पनि न्यून शुल्कमा । हाम्रो ४५ लाखको ईभी भ्यान र अर्को एउटा कम्पनीको आइस इन्जिनको १४ सिटर भ्यानमा २० लाख रूपियाँले आइस इन्जिनको गाडी महँगो छ । त्यस्तै डिजेल इन्जिनको उमेर हामी दुई लाख किलोमिटर भन्छौं । तर चार लाख किलोमिटरको ब्याट्रीको ग्यारेन्टी नै हुन्छ । त्यसकारण ईभी प्रविधि परिपक्क भइसक्यो । यसरी हेर्दा चिनियाँ कम्पनी ईभीमा अरुभन्दा धेरै अघि बढिसकेका छन् ।
उनीहरुले २० वर्ष अघिदेखि ईभीमा दुःख पनि गरिरहेका थिए भने सरकारले पनि आरएण्डडी (रिसर्च एण्ड डेभलपमेन्ट)मा लगानी गरिरहेको थियो । अहिले आएर बजार ईभीमा ‘सिफ्ट’ भएको हो । नयाँ प्रविधिमा ‘सिफ्ट’ हुँदा जसले भौतिक पूर्वाधारलगायतका ईको सिस्टम बनायो, त्यसले बजार लिने हो । त्यसकारण हामीले यहाँ अवसर देखेर ईभीमा हात हालेका हौं । प्रविधिका हिसाबले ईभीमा चीनलाई कसैले भेट्न सकेको छैन । त्यसैमाथि मूल्य पनि सस्तो छ । त्यसकारण हाम्रो लाइनअपमा चिनियाँ ब्राण्ड धेरै देखिएको हो ।
कमर्सियलमा पनि अग्रणी
ईभीले प्यासेन्जर गाडी मात्र नभई सार्वजनिक यातायातमा पनि ठूलो परिर्वतन ल्याइरहेको छ । कोभिडपछि सार्वजनिक यातायातको क्षेत्र निकै जीर्ण थियो । यातायात व्यवसायीले गाडीको किस्ता तिर्ननसक्ने अवस्था पनि आयो । डिजेल गाडीको इन्धन खर्च, सञ्चालन खर्च, मर्मत खर्च नै महँगो हुन्छ । यी सबै समस्यालाई ईभी प्रविधिले समाधान गरेको छ ।
सिजी मोटर्सले पनि अहिले विद्युतीय पब्लिक कमर्सियल गाडी बिक्रीवितरण गरिरहेको छ । विद्युतीय कमर्सियल गाडीमा ८० प्रतिशत बजार हिस्सा लिएका छौं । यस्ता गाडी प्रयोगकर्ताको दैनिक सञ्चालन खर्च आइस गाडीको भन्दा ९० प्रतिशत कम छ । व्यवसायीले दैनिक पाँच हजारको डिजेल हाल्नुपथ्र्यो भने अहिले त्यो खर्च नगण्य छ । व्यवसायीले पाँच वर्षको ईएमआईलाई दुई वर्षमै तिर्नसक्ने अवस्था बनेको छ ।
अहिले हाम्रो कमर्सियल गाडीको बिक्री राम्रो भए पनि यस्ता गाडी बेच्न त्यति सजिलो भने थिएन । बेच्नुभन्दा पहिले बुझाउनु आवश्यक थियो । हामीले जनचेतनाका लागि धेरै काम ग¥यौं । सँगसँगै चार्जिङ स्टेशनलगायतका भौतिक पूर्वाधारमा पनि काम ग¥यौं । हाम्रो मूल मान्यता के हो भने कुनै एउटा रूटमा पाँच वटा गाडी चल्छन् भने त्यहाँ एउटा डिसी फास्ट चार्जिङ स्टेशन राख्नुपर्छ । सोहीअनुरुप अहिलेसम्म २०० ठाउँमा फास्ट चार्जिङ स्टेशन बनाइसकेका छौं । त्यस्तै यो वर्षभित्र अरु २५० वटा ठाउँमा राख्ने लक्ष्य छ । त्यस्तै सर्भिस सेन्टर र सेल्स पनि २० ठाउँमा छ ।
ग्राहकले राजमार्गको प्रत्येक ५० किलोमिटरमा एउटा चार्जर स्टेशन र १०० किलोमिटरमा सर्भिस सेन्टर पाउनुपर्छ भन्ने हाम्रो मान्यता हो । यी र यस्तै कुराको तयारीले हामीले पहिले ईभीको बीउ रोप्ने काम ग¥यौं । त्यसपछि दुई÷चार जनाले ईभी कमर्सियल भ्यान प्रयोग गरेपछि उनीहरुको ‘वर्ड अफ माउथ’ बाटै हाम्रो बजारीकरण भयो ।
चार्जिङ स्टेशनको विषयमा सरकारसँग त्यति गुनासो नगरौं । चार्जिङ स्टेशनका लागि चाहिने ट्रान्सफर्मर कनेक्टिभिटी नेपाल विद्युत् प्राधिकरणले उपलब्ध गराएको छ । यो निकै राम्रो हो । कुनै पनि विकट ठाउँमा हामीले कतै चार्जर स्टेशन लगाउछौं भने प्राधिकरणले ट्रान्सफर्मर लगाइदिइहेको छ । यसमा उसको ठूलो लगानी छ । यद्यपि यो उसको स्वाभाविक दायित्व हो ।
अग्रवाल सिजी मोटर्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । कर्पोरेट नेपाल विजनेश म्यागाजिनमा प्रकाशित विचार ।