–कैलाशबाबु गेलाल
प्रबन्ध निर्देशक, जी मोटर्स प्रालि (स्काइवेल)
नेपालको अटोमोबाइल क्षेत्र निकै छोटो समयमा आइस इन्जिन गाडीबाट विद्युतीय गाडी (ईभी) मा फड्को मा¥यो । नेपाली बजारमा सस्ता, मध्यमस्तरदेखि उच्च तहका प्रिमियमसम्मका गाडी छन् । अहिले हामीले स्काइवेलको इटी–५ गाडी बिक्री वितरण गरिरहेका छौं, यसलाई हामीले प्रिमियम भन्नका लागि केही आधारभूत सिद्धान्तलाई आधार मानेका छौं । यस्तो एसयूभी, जुन साइजमा ठूला (४७२० मिलिमिटर) र फराकिलो ‘लेग रूम’, अटो पार्किङ, लामो रेन्ज (६४२ किलोमिटर), सिटिङ कम्र्फटलगायतका विशेषता भएका कारण हामीले यसलाई प्रिमियम भनेका हौं । यो गाडी संसारका ६५ भन्दा धेरै देशमा बिक्रीवितरण हुँदै आइरहेको छ भने त्यहाँ यसलाई वर्गीकरण गर्दा पनि बीएमडब्ल्यूलगायतका गाडीसँग तुलना भइरहेको छ ।
नेपालमा अहिले मोटर किलोवाटको आधारको भन्सार महशुल लाग्ने नीतिसँग तुलना गर्दा पनि यो ‘अपर क्लास प्रडक्ट’ हो । भन्सार नीतिकै कारण हाम्रो गाडी १५० किलोवाटको मोटरका कारण तुलनात्मक महँगो प¥यो र यो ‘अपर क्लास’ वर्गमा गयो । अर्को कुरा, संसारभर पाउने स्काईवेलका गाडीको मोटर र नेपालमा उपलब्ध स्काइवेलका गाडीको मोटर पावर समान छ ।
किन सानो छ प्रिमियमको बजार ?
पछिल्लो २÷३ वर्षदेखि नेपाल आर्थिक मन्दीको अवस्थामा छ । यसमा अझै सुधार आएको छैन । यस्तो अवस्थामा हामीले गाडी आयात गर्दा के अनुभव ग¥यौं भने समग्र प्रिमियम गाडीको बजार सानो भइसकेको छ । निर्माण व्यवसायी, ठूला व्यापारी, उद्योगीहरुको पनि अहिले मुनाफामा गिरावट आएका कारण पनि प्रिमियम गाडीको बजार खुम्चिएको हो । व्यक्तिविशेष वा संस्थागत रुपमा पनि महँगा गाडीमा आकर्षण थोरै छ ।
अहिले प्रिमियम गाडी बेच्न भनेर धेरै ब्राण्ड लागिपरेका छन् । तर त्यसअनुसारका गाडी किन्ने क्षमताका मान्छे कति छन् ? नेपालमा औंलाले गन्न मिल्ने मात्र कर्पोरेट हाउस छन् । हाम्रै छिमेकी राष्ट्र चीन, भारत र अन्य मुलुकमा हेर्ने हो भने कर्पोरेट हाउस बढिरहेका छन् । तर नेपालमा खासै बढ्नै सकेको अवस्था छैन । कर्पोरेट हाउस बढ्न नसक्दा र सरकारले यसका लागि नीतिगत प्रयास नगर्दा प्रिमियम गाडीको बजार पनि बढ्न नसकेको हो ।
कुनै व्यवसायीले व्यापार गर्दै गर्दा ५–६ सय जनालाई रोजगारी दिन शुरू हुन्छ अनि मात्र अर्थतन्त्र उकालो लाग्यो भन्ने बुझिन्छ । यहाँका व्यवसायीले आर्थिक मन्दीकै कारण भएका कर्मचारी हटाउनुपर्ने बाध्यता छ । गएको आर्थिक वर्षमा सयौंलाई रोजगारी दिने कर्पोरेट हाउस कति जन्मिए ? खोज्दै विरलै भेटिएला । जबसम्म यस्ता ठूला उद्योग÷व्यवसाय जन्मिँदैनन्, वा उनीहरुले कमाउँदैनन् भने प्रिमियम अटोमोबाइल प्रोडक्ट कसले किन्ने ?
भारतमै हेर्ने हो भने त्यहाँ प्रिमियम प्रडक्टको माग बढिरहेको छ । त्यहाँ कलाकारले पनि महँगा गाडी चढ्छन् । खेलाडीले पनि महँगै गाडी चढ्छन् । कर्पोरेट हाउसमा आबद्ध भएकाले पनि प्रिमियम गाडी नै चढ्छन् । हाम्रो देशको कलाकारिता, खेलकुदलगायतका सबै क्षेत्र संकुचित छ । त्यसले गर्दा बजार जति विस्तार हुनुपर्ने हो, त्यति हुन सकेको छैन । प्रिमियम गाडीको बजार बढ्न देशको सबै क्षेत्र बलियो हुनुपर्छ । हाम्रो बजारको मुख्य चुनौती त्यही हो ।
सानो बजारमा धेरै ब्राण्ड आएकाले पनि यो समस्या आएको हो कि ? भन्ने प्रश्न उब्जिएला । स्वाभाविक प्रश्न हो । बजार यही हो । सबैले अवसर खोज्ने यही बजारमा हो ।
केही समयअघि नेपालमा फोर्स गाडी भित्रियो । तर नेपालमा फोर्स चढ्न सक्ने १० जना पनि भएनन् । फोर्स चढ्न सक्ने १० जना पनि भएनन् भने ‘इन्ट्री लेबल’का गाडी चढ्ने कति थपिएलान् ? अरु प्रिमियम गाडी चढ्ने कति थपिएलान् ? सरकारले कर बढी लगाउने धनी वर्गलाई नै हो । गाडी होस् वा होटल, धनी वर्गले प्रयोग गर्ने कुरामा धेरै कर छ । तर त्यो धनी वर्ग बढाउन गर्नुपर्ने पहल सरकारले गरेको छैन । धेरै मान्छे पाँचतारे होटल जान सक्ने अवस्था आएमा मात्रै सरकारको कर पनि बढ्छ ।
हामीले प्रिमियम भन्ने सयदेखि २ सय किलोवाटका ईभी नै गत वर्ष २५० को हाराहारीमा मात्र बिक्री भए । समग्रमा भन्दा प्रिमियम गाडीको बजार बढ्न जनतालाई पैसा कमाउने वातावरण बनाइदिनुपर्छ, व्यावसायिक वातावरण बढाउनुपर्छ । निर्माण व्यवसायीले आफ्नो पाउनुपर्ने पैसा सरकारबाट पाइरहेका छैनन् । उनीहरुले भुक्तानी नपाउँदा देशको आर्थिक चक्र नै बिग्रिएको छ । अरु क्षेत्रमा पनि त्यस्तै खालका समस्या छन् ।
निर्माण व्यवसाय, घर÷जग्गा व्यवसाय, उद्योग, कलकारखानादेखि सानातिना व्यवसायसम्मलाई काम गर्ने वातावरण नभएसम्म अर्थतन्त्र सुध्रिँदैन र प्रिमियम गाडीको मात्र होइन ‘इन्ट्री लेबल’का गाडीको पनि बजार बढ्दैन । त्यस्तै, देशमा प्रिमियम गाडी सुहाँउदो भौतिक संरचना छैन । प्रिमियम इलेक्ट्रिक गाडी लिएर काठमाडौंबाट पोखरा जानुप¥यो भने पाँचपटक सोच्नुपर्छ । सरकारले सडक, चार्जिङ स्टेशनलगायतका विषयमा पनि गम्भीर भएर सोच्नुपर्छ ।
कर्पोरेट नेपाल विजनेश म्यागाजिनमा प्रकाशित विचार ।