हवाई क्षेत्रको अनुभव नभएकोलाई राजनीतिक पहुँचमा नेतृत्व दिँदा निगम धरासायी भयोः झा

Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले नेपाल एयरलाइन्सका सबै जहाजहरु ग्राउण्डेड भएको भन्दै आवश्यक कदम लिनका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । 

बिहीवारसंसदमा उनले नेपाल एयरलाइन्सका सबै जहाजहरु ग्राउण्डेड भएको भन्दै सरकारको ध्यानाकर्षण गर्राएका हुन् । झाले सि–चेकको लागि एक महिनाको लागि जहाज विदेश पठाएको भएपनि इटालीमा ६० दिनदेखि चर्को शुल्क तिरेर राखिएको बताए । 

Advertisement

उनले इटालीमा दैनिक पाँच करोड रुपियाँ पार्किङ शुल्क तिरेर निगमले घाटा व्यहोरिरहेको भन्दै यसप्रति कडा कदम चाल्न सरकारको ध्यानाकर्षण गराए । झाले चाडपर्वको बेलामा अन्य निजी कम्पनीहरुसँग नाफा खानका लागि एयरलाइन्सको जहाज ग्राउण्डेड गरिएको हो कि ? भन्ने आशंका पनि उब्जिएको बताए । 

साँसद झाले भने, ‘नेपाल एयरलाइन्सको सबै जहाजहरु ग्राउण्डेड छ भन्ने कुराहरु आइरहेका छन् । विभिन्न अन्तर्राष्ट्रिय रुटहरुमा सञ्चालित विभिन्न क्षेत्रहरुसँग, नेपाली जनता वा पर्यटकलाई बोक्नका लागि सञ्चालित रुटहरुमा कतैपनि हाम्रो ध्वजाबाहक उडिराखेको छैन । सि–चेकको लागि एक महिनाको मात्र समय लिएर पठाइएको जहाज केही दिन दिल्लीमा राखियो र त्यहाँ कसैले देख्लान् कि भनेर लुकाउनका लागि इटाली लगियो । इटालीमा ६० दिनभन्दा धेरै भइसक्यो जहाँ दैनिकरुपमा तीन हजारभन्दा धेरै पार्किङ चार्ज मात्र तिरिरहेका छौँ ।’

उनले थपे, ‘दैनिकीहरुको खबर पढ्दै गर्दा दैनिक रुपमा हामीले पाँच करोडभन्दा धेरै नोक्शाानी व्यहोरिरहेका छौँ । चाडपर्व आउन लागेको बेलामा कतै अन्तर्राष्ट्रिय अरु कम्पनीहरुले सञ्चालितहरुलाई पैसा र नाफा दिनका लागि सेटिङमा आफ्नो ध्वजावाहकलाई पार्किङमा पुर्याइएको हो कि ? भन्ने आशंका छ ।’

झाले हवाइ क्षेत्रको अध्ययन नगरेको व्यक्तिलाई राजनीतिक पहुँचको आधारमा सो क्षेत्रमा नियुक्ति दिलाउँदा पनि हवाइ क्षेत्रको अवस्था यस्तो बनेको बताए । 

Advertisement

Advertisement