रू ६८ लाखमा निर्मित भ्युटावर बेवारिसे, बन्यो जाँडरक्सी खाने ‘अड्डा’

Advertisement

नवलपरासी । बर्दघाट सुस्तापूर्वको कावासोतीमा रु ६८ लाख लागतमा निर्माण सम्पन्न भएको भ्युटावर बेवारिसे बनेको छ । कावासोती नगरपालिका–१ बालुवाडाँडामा रु ६८ लाख लगानीमा ६० फिट अग्लो टावर निर्माण गरिएको थियो । 

तीन वर्षअघि निर्माण सम्पन्न भएको टावरको प्रयोग  रेखदेख एवं सञ्चालन गर्ने निकायका अभावमा अहिले बेवारिसे अवस्थामा पुगेको हो । टावरको अहिले स्टिलका बार चोरी हुन थालेका छन् भने भ्युटावर मद्यपान र धुमपान गर्नेको रोजाइको केन्द्र बन्न थालेको स्थानीय जितुमाया रानाले गुनासो गरिन् । 

Advertisement

‘अहिले त भ्यूटावरमा लगाइएको स्टिलको बार काटेर लगिएको छ । भित्ताका प्लास्टर उप्किएको छ, लेउ लागेको छ, यत्रतत्र फोहर फालिएको छ, जमिन पनि धाँजा भएर फाट्न थालेको छ,’ उनले भनिन् । 

टावर बनेपछि पर्यटकीय गतिविधि बढ्ने र स्थानीयको आयआर्जनमा वृद्धि हुने आशाले रानालगायत भ्युटावर नजिकै घर भएका स्थानीयवासी खुसी भएका थिए । तर भ्यूटावर बनेको तीन वर्ष हुँदासम्म पनि सञ्चालनमा नआउँदा खुसीभन्दा पनि अहिले असुरक्षा बढेको रानाको भनाइ छ । 

‘भ्युटावर सञ्चालन गर्ने निकाय नहुँदा विकृति बढ्दै गएको र बाटोमा हिँड्न पनि डरलाग्दो भएको छ,’ उनले भनिन्, ‘अबेर रातिसम्म मदिरा सेवन गर्नेको समूह धेरै आउन थालेको छ, कहिलेकाहीँ त दिउँसै पनि लट्ठिएर हिँड्दा स्थानीय बालबालिकालाई पनि डर हुने अवस्था सृजना भएको छ ।’  

कावासोती –१ का वडाध्यक्ष तबारक अहमद मियाँले भ्यूटावर सञ्चालनमा नआए पनि दैनिक सयभन्दा धेरै आन्तरिक पर्यटक भ्युटावर क्षेत्र घुम्न आउने गरेको बताए । 
‘तत्काल भ्युटावर व्यवस्थित रूपमा सञ्चालन गर्ने गरी नगरपालिकामा पहल गरिरहेको छु,’ उनले भने, ‘व्यवस्थित रूपमा भ्युटावर सञ्चालन नहुँदा दैनिक आम्दानीको स्रोत गुमिरहेको छभने रेखदेख नहुँदा त्यस क्षेत्रमा फोहरको थुप्रो लागेको छ ।’

भ्युटावरको वरिपरि पहिरो जान थालेपछि आर्थिक वर्ष २०७९/८० मा रु १० लाख बजेट विनियोजन गरी नगरपालिकाले ‘कम्पाउण्ड वाल’ लगाउन सुरु गरेको थियो । चालू आवमा पनि कम्पाउन्ड वाल निर्माणका लागि रु १० लाख रकम विनियोजन गरिएको छ । भ्युटावर व्यवस्थापन र नियमित सञ्चालनका लागि नगरपालिकाले प्राथमिकतामा राखेको कावासोतीका नगरप्रमुख विष्णुप्रसाद भुसालले बताए । 

‘यसै आवदेखि वडा कार्यालय र स्थानीयको रेखदेखमा सञ्चालन गर्न दिनेबारे मोटामोटी छलफल भइरहेको छ,’ उनले भने, ‘अहिले देखिएका केही समस्यालाई छिटोभन्दा छिटो सम्बोधन गर्नेछौँ ।’

पूर्वपश्चिम राजमार्गको फलफूलचोकबाट ११ किलोमिटरको दूरीमा रहेको छ । यस क्षेत्रबाट जिल्लाका अधिकांश भूभागसँगै चितवनसहित भारतीय क्षेत्रसमेत देख्न सकिन्छ ।  
 

Advertisement

Advertisement