-खेम बोलखे-
सडकमा गाडी गुड्नु अब असामान्य कुरा रहेन । आफैंले गाडी चलाऔं कि नचलाऔं, तर गाडी भने हाम्रो जीवनको अभिन्न अंग भइसकेको छ । यतिसम्म कि हामीले हाम्रा बालबच्चालाई खेलौनाका रुपमा समेत गाडी दिइरहेका हुन्छौं ।
कुनै बेला वाष्प (बाफ) इन्जिनबाट शुरू भएको गाडीको विकास अहिले मानिसबिना रोबोटले चल्नेदेखि जैविक इन्धनबिना चल्नेसम्म आइपुगेको छ । विश्वको झन्डै अढाई सय वर्षको इतिहासमा नेपालको इतिहास पनि एक शताब्दी पुरानो र गौरवमय छ ।
गाडीको आविष्कार
वाष्प इन्जिनको विकास सन् १७६९ मा निकोलस क्युजोटले गरे पनि पहिलोपटक कारको आविष्कार सन् १८८६ मा जर्मन इन्जिनियर कार्ल फ्रेडरिख बेन्जले गरेका थिए । तीनपांग्रे उक्त आधुनिक कारको पेटेन्ट सोही वर्ष दर्ता गराइएको थियो ।
बेन्जले कारसँगसँगै अटोमोबाइल्समा प्रयोग हुने थ्रटल सिस्टम, स्पार्क प्लग, गियर सिफ्सर्ट, पानीवाला रेडिएटर र कार्बोरेटको पनि पेटेन्ट दर्ता गराएका थिए । पछि बेन्जले एउटा कार कम्पनी पनि स्थापना गरे । त्यसको नाम डायमलर ग्रुप थियो । यो ग्रुप आज पनि स्टुटगार्ट जर्मनीमा छ ।
समयक्रमसँगै आजभोलि सडकमा बाक्लै विद्युतीय सवारीसाधन (ईभी) देखिन थालेका छन् । तर शुरूमा बनेको कार भने बाफको इन्जिनबाट चल्थ्यो । बिस्तारै विभिन्न वैज्ञानिक, इन्जिनियर तथा कम्पनीहरुले योजना बनाए र त्यसमा परीक्षण गर्दै गए । त्यस क्रममा विभिन्न इन्जिनबाट चलाउने प्रयास पनि भएका थिए ।
धेरैपछि मात्र पेट्रोल/डिजेल र ग्यासद्वारा चल्ने कार बनेका हुन् । त्यसो त कार कुनै एक व्यक्तिले मात्रै बनाएको होइन । यसमा कैयौं व्यक्तिले योजना बनाउँदै परीक्षण गर्दै गरे । अनि बल्ल एउटा मोडल कार बन्न पुगेको हो, जसमा सम्बन्धित राष्ट्रको ठूलै लगानीसमेत छ । पहिलो कार बनेपछि पनि यसका डिजाइन र विशेषता फेरिँदै गए । साना–ठूला गाडी विकास र विस्तार हुँदै गए ।
छिमेकी देश भारतमा बिरला समूहले सन् १९४२ मा पहिलोपटक गाडी बनाउन शुरू गरेका थियो भने नेपालमा गोल्छा समूहले विसं. २०५४ सालमा त्यसको प्रयास गरेको थियो । गोल्छा समूहले मुस्ताङ ब्राण्डमा गाडी उत्पादनको प्रयास गरे पनि यसलाई सफल हुन नदिने प्रयासलाई स्वयम् सरकारले नै साथ दियो ।
नेपालमा गाडीको शुरूवात
नेपालमा गाडी भित्रिएको पनि एक शताब्दी नाघिसकेको छ । भनिन्छ, राणा प्रधानमन्त्री चन्द्रशमशेरले आफू चढ्न गाडी झिकाएका थिए । टोनी हेगनका अनुसार गेहेन्द्र शम्शेरले पनि आफ्ना लागि फोर्ड कम्पनीको गाडी झिकाएका थिए । त्योभन्दा अगाडि नै नेपालको तराई भेगमा ब्रिटिसले गाडी ल्याएका थिए । तर जे होस्, नेपालीहरुमा गाडी राणाहरुले नै भित्राएका थिए ।
दोस्रो विश्वयुद्धमा सहयोग गरेबापत जर्मन चान्सलर हिटलरले राजा त्रिभुवन र प्रधानमन्त्री जुद्धशमशेरका लागि उपहारस्वरुप मर्सिडिज बेन्ज कार पठाइदिएको इतिहास छ । त्यो कार अहिले पनि नारायणहिटी दरबार संग्रहालयमा हेर्न सकिन्छ । राणाहरुले विलासी जीवन बिताउन थुप्रै गाडी मगाए ।
त्यतिबेला चित्लाङबाट नेपाल उपत्यका (अहिलेको काठमाडौं) जोड्ने बाटोघाटो बनेको थिएन । यद्यपि, विलासी जीवन बिताउन पल्केका राणा शासकहरुले चित्लाङ, कुस्ले चौर, मार्खु, पौवा, कुलेखानी र फाखेल क्षेत्रका तामाङ तथा नेवार समुदायका बलामी थरका भरियालाई काँधमा बोक्न लगाएर गाडी नेपाल उपत्यका भित्र्याउने काम गरे । उनीहरुले करिब ४ दर्जन गाडी भित्र्याएको इतिहास पाइन्छ ।
भीमफेदीदेखि नेपाल उपत्यकासम्म गाडी बोकेर ल्याइपुर्याउन उनीहरुलाई ७ देखि ११ दिन लाग्थ्यो । भनिन्छ, शुरूको केही समय झारा प्रथाअनुसार भरियाहरुले निःशुल्क गाडी बोके । त्यसपछि उनीहरुले ५ आना पारिश्रमिक पाउन थाले र यो बढेर १ रूपियाँसम्म पुग्यो ।
पछि विसं २०१३ सालमा त्रिभुवन राजपथ काठमाडौंसँग जोडिएपछि गाडी काँधमा बोकेर ल्याउने काम बन्द भयो । यसरी आविष्कारदेखि नेपालसम्म भित्रिएको गाडी अहिले लगभग सबै जिल्लामा पुगेको छ । अहिले देशभर एक लाख किलोमिटर सडक बनेको छ भने ६० लाख सवारीसाधन दर्ता भएको सरकारी आँकडा छ । पछिल्लो समयमा प्यासेन्जर गाडीतर्फ ईभीको विस्तारले नेपालको अटोमोबाइल क्षेत्रलाई पनि नयाँ मोडमा लाने सम्भावना बढेको छ ।
कर्पोरेट नेपाल विजनेश म्यागाजिनमा प्रकाशित लेख ।