‘कर नबढे ‘ईभी भ्यान’को बजार ९० प्रतिशत पुग्छ’

Advertisement

–विवेक विजुक्छें
नेपालमा विद्युतीय भ्यानको इतिहास त्यति लामो छैन । पहिलोपटक पाँच वर्षअघि दिगो ग्रुपले सार्वजनिक यातायातको प्रयोजनका लागि विद्युतीय भ्यान भिœयाएको थियो । त्यसपछि चौधरी ग्रुप, हामी र अन्य धेरै कम्पनीले विभिन्न सिट क्षमताका विद्युतीय भ्यान ल्यायौं । विगतमा हामी प्यासेन्जर गाडी र हेभी इक्युपमेन्टमा फोकस थियौं भने पछिल्लो एक वर्षदेखि कर्मसियल इलेक्ट्रिक भ्यान बिक्रीवितरण गरिरहेका छौं ।

निर्माण क्षेत्र सुस्ताएपछि हेभी इक्युपमेन्टमा एक नम्बरमा रहेको हाम्रो ‘कोबेल्को’को पनि बिक्री ९० प्रतिशतले घट्यो । हेभी इक्युपमेन्ट र प्यासेन्जर गाडीमा काम गरिरहेका कर्मचारीको रोजगारी नै गुम्ने अवस्था आएको र विद्युतीय भ्यानको बढ्दो आकर्षणका कारण पनि हामीले इलेक्ट्रिक भ्यानमा हात हालेका हौं । इलेक्ट्रिक भ्यानको बजार भनेको हामीले पहिले काम गरिरहेको प्यासेन्जर गाडी र हेभी इक्युपमेन्टभन्दा फरक छ । प्यासेन्जर गाडीमा हामीले लुक्स, सुविधा हेर्छौं भने कर्मसियलमा लगानी गरेपछि कति प्रतिफल आउँछ ? भन्ने हेर्छौं । 

Advertisement

हेभी इक्युपमेन्ट र कमर्सियल गाडीमा केही समानता भने छ । यी दुवै गाडीले काम गर्छ र मुनाफा कमाउँछ । फरक यत्ति हो कि हेभी इक्युपमेन्टले बाटोघाटो नभएको ठाउँमा काम गर्छ भने कर्मसियल गाडीले बाटो भएका ठाउँमा राम्ररी काम गर्छ । सुरूवाती दिनमा ग्राहकले एकैपटक विद्युतीय भ्यानमा विश्वास गरेनन् । यो नयाँ प्रविधि भएका कारण पनि ग्राहकको मन जित्न समय लाग्नु सामान्य नै हो । गाडी गुड्छ कि गुड्दैन ? ब्याट्री पड्किन्छ कि ? रेन्ज दिँदैन कि ? मुनाफा गर्न सकिन्छ कि सकिँदैन ? भन्ने दुविधा ग्राहकमा थियो । सुरूमा आएका गाडी डेढ÷दुई लाख किलोमिटर गुडेपछि बल्ल ग्राहक यसमा आकर्षित भए । विद्युतीय भ्यानमा ग्राहकलाई प्रत्यक्ष रुपमै फाइदा पनि छ । फाइदा नभईकन यो सेग्मेन्टको गाडी किन्ने ग्राहकले ४०÷४५ लाख हाल्नु सामान्य कुरा होइन । 

डिजेल भ्यानमा मासिक दुईदेखि अढाई लाखसम्मको डिजेल हाल्नुपर्छ भने विद्युतीय भ्यानले २० देखि २५ हजारको विद्युत् खपत गर्छ । कमाइ दुवै भ्यानको एउटै हो । त्यस्तै यसको मर्मतसम्भार खर्च पनि निकै कम छ । डिजेल गाडीमा छ सयभन्दा धेरै पार्ट्स हुन्छन्, जो टुटफुट पनि भइरहन्छन् । अनि गाडी वर्कसपमा राख्नुपर्दा व्यवसायीको कमाइमा गिरावट आउँछ । हामीले ग्राहकसँग प्रतिक्रिया लिँदा पनि धेरैले एकपटकमै दुई किस्तासम्म तिर्न सकिरहेको पायौं । तर इलेक्ट्रिक गाडीमा जम्मा २०–२२ वटा मात्रै पार्ट्स हुन्छन् । बिग्रिने सम्भावना कम हुन्छ र बिग्रे पनि धेरै दिनसम्म ग्यारेजमा राखिरहनु पर्दैन ।

यस्ता विभिन्न फाइदाका कारण अहिले बजारमा दुई हजारभन्दा धेरै विद्युतीय भ्यान आइसकेका छन् । यो क्रम तीव्र रुपमा बढ्दै पनि छ । यस्ता गाडी १०० देखि २०० किलोमिटरको दूरीमा चल्न उपयोगी हुन्छन् । त्यस्तै, सार्वजनिक गाडी मात्र नभई स्कुल, अस्पताल, होटललगायतमा पनि अहिले यसको माग उच्च छ । लोकप्रियता बढेसँगै धेरै आयातकर्ताले विद्युतीय भ्यान ब्राण्ड ल्याइरहेका छन् । यसले ग्राहकमा केही त्रास पनि छ । कुनै आयातकर्ताले गाडी बेच्न छोड्यो भने स्पेयर पाटर््स चाहिँदा के गर्ने ? भन्ने दुविधा रहेछ । 

प्यासेन्जर कारको हकमा हामीले अलि जोखिममा काम गरिरहेका छौं । तर कर्मसियल भ्यानमा त्यस्तो छैन । चीनमा प्यासेन्जर ईभीको तीन सयभन्दा धेरै कारखाना छन् । उनीहरुले अलग–अलग मोटर, अलग–अलग ब्याट्री, अलग–अलग फिचर्स हालिरहेका छन् । त्यसो हुँदा स्पेयर पार्ट्सको समस्या आउन सक्छ । तर कमर्सियल ईभीको पाँचवटा मात्र मुख्य कारखाना छन् । बाँकी यिनै पाँचवटा कारखानाबाट पाटर््स ल्याएर एसेम्बल गर्ने मात्र हो । त्यसकारण लोगो धेरै देखिए पनि सबै गाडी बन्ने यही पाँचवटा कम्पनीबाट हो । त्यस्तै, यी कमर्सियल गाडी भएकाले स्पेयर पाटर््सको माग धेरै हुन्छ र कम्पनीले समेत त्यहीअनुसार उत्पादन गरिरहेका हुन्छन् । 

कस्तो छ भविष्य ? 
कमर्सियल ईभी भ्यानको भविष्य निकै राम्रो छ । सरकारले कर बढाएन भने कमर्सियल ईभी भ्यानले ९० प्रतिशत बजार लिन्छ । यसको बजार बढ्दा उपभोक्तालाई त फाइदा हुन्छ नै, देशलाई पनि ठूूलो आर्थिक लाभ हुन्छ । यसका लागि सरकारले केही पहल भने गर्नैपर्छ । जस्तो कि सार्वजनिक यातायात राजमार्गमा गुड्छन् । सरकारले ती राजमार्गमा पर्याप्त मात्रामा फास्ट चार्जिङ स्टेशन बनाइदिनुपर्छ । यो काम अहिले हामी निजी क्षेत्रले गरिरहेका छौं । तर अहिले सबैभन्दा ठूलो समस्या भनेकै जग्गाको हो । हामी आफंैले निःशुल्क चार्जिङ स्टेशन राखिदिन्छौं भन्दा पनि जग्गा पाउन सकिएको छैन । 

अर्को कुरा ग्राहकमा मुख्य दुविधा ब्याट्रीको देखिएको छ । अहिले आइरहेका भ्यानहरुमा तेस्रो जेनेरेशनको ब्याट्री हो । यो ब्याट्री ‘ब्याट्री साइकल’ अनुसार हिसाब गर्ने हो भने १० वर्षसम्म फेर्नु पर्दैन । त्यसपछि पनि यो ब्याट्रीले कामै नगर्ने भन्ने हुँदैन । ब्याट्री फेरेपछि पुरानो ब्याट्रीलाई इलेक्ट्रिक स्टोरेजका रुपमा प्रयोग गर्न सकिन्छ । त्यस्तै, राम्रो योजना बनाउने हो भने नेपाल विद्युत् प्राधिकरणले खेर जाने बिजुलीलाई स्टोरेज गर्न पनि प्रयोग गर्न सक्छ । 

विजुक्छें पूजा इन्टरनेशनल नेपाल प्रा.लि.का महाप्रवन्धक हुन । कर्पोरेट नेपाल विजनेश म्यागाजिनमा प्रकाशित कुराकानीमा आधारित लेख । 

Advertisement

Advertisement