–भोलेश्वर दुलाल
प्रवन्ध निर्देशक, पूर्वाञ्चल ल्युब आयल (पीएलओ)
नेपालमा लुब्रिकेन्ट उद्योगको इतिहास चार दशकभन्दा पुरानो छ । विसं. २०४१ मा सरकारले पहिलोपटक नेपाल ल्युब आयल कम्पनी स्थापना गरेको थियो । पछि २०५१ सालमा सरकारले यसलाई निजीकरण गरेपछि निजी क्षेत्रबाट पूर्वाञ्चल ल्युब आयल (पीएलओ) लगायतका उद्योग सञ्चालनमा आए । अहिले झन्डै एक दर्जन उद्योगले व्यावसायिक रुपमा लुब्रिकेन्ट तथा ग्रिज उत्पादन गरी आयात प्रतिस्थापनमा भूमिका खेलिरहेका आएका छन् ।
नेपालको समग्र लुब्रिकेन्ट बजार वार्षिक २० अर्बको छ । यसमा नेपाली उद्योगको हिस्सा बढ्दै गएर अहिले ३० प्रतिशत पुगेको छ । यो आयल अटोमोबाइल क्षेत्रमा मात्रै नभएर जलविद्युत् परियोजना, कृषि क्षेत्र, उद्योगधन्दामा समेत प्रयोग हुन्छ । नेपाली उद्योगहरु प्रायः सबैले गुणस्तरीय उत्पादन गर्दै आए पनि आयातित आयलको प्रभाव न्यूनीकरण गर्न भने नेपाली उद्योगले अझै कसरत गर्नुपर्ने अवस्था छ ।
नेपाली उत्पादनको बजार विस्तार हुने क्रममा नै छ । बहुराष्ट्रिय कम्पनीहरुको बिक्री घट्दो छ र स्वदेशी उत्पादनको बजार बढ्दो छ । यही सिलसिलामा नेपाली उत्पादनलाई स्वदेशमा मात्रै बिस्तार नभई निर्यातसमेत गर्ने योजनामा हामी छौं । नेपाली ब्राण्डलाई बाह्य बजारमा पनि चिनाउने योजनाका साथ काम भइरहेको छ ।
पछिल्लो समयमा विद्युतीय सवारीसाधन (ईभी) को आयात बढ्दो छ । यसले लुब्रिकेन्टको बजार खुम्चिन्छ भन्ने लाग्दैन । हुन त ईभीले यस्तो आर्थिक मन्दीमा पनि यसरी बजार लिन्छ भन्नेमा स्वयं बिक्रेताले पनि सोचेका थिएनन् होला । उनीहरुलाई पनि अहिले आश्चर्यको विषय बनेको छ । यद्यपि नेपाली लुब्रिकेन्ट उद्योगलाई यो कुराले खासै असर पर्ने देख्दिनँ । किनभने हामीले उत्पादन गर्ने लुब्रिकेन्ट र ग्रिज बढी जाने भनेको ट्याक्टर, पम्पिङ सेट, हातेट्याक्टर, पाँच वर्ष पूरा भएका तथा वारेन्टी समय पूरा भएका गाडी तथा कलकारखानामा हो ।
लामो समयदेखि लुब्रिकेन्ट बजारमा एक खालको ‘कार्टेलिङ’ चल्दै आएको छ । वास्तवमा यो गलत हो । कानुनी दृष्टिमा र व्यावसायिक आचरणका दृष्टिले पनि नमिल्ने काम यो क्षेत्रमा हुँदै आएको छ । गाडी आयातकर्ताले उपभोक्तालाई आफ्नै लुब्रिकेन्ट हाल्नुपर्छ भनेर सर्त राख्ने, अरु हाल्दा वारेन्टी सुविधा नदिने, आफ्नोबाहेक अरु लुब्रिकेन्टको गुणस्तर हुँदैन भनेर उपभोक्तालाई भ्रमित बनाउनेजस्ता काम हुँदै आएका छन्, जुन सरासर गलत हो ।
नेपालमा स्पष्ट कानुनी व्यवस्था नहुँदा ‘कार्टेलिङ’ अन्त्य हुन सकेको छैन । यसरी आयातित लुब्रिकेन्टको मूल्य नेपाली लुब्रिकेन्टको भन्दा चार गुणासम्म बढी लिने र उपभोक्तामाथि शोषण गर्ने काम हुँदै आएको छ । वास्तवमा अटोमोबाइलका धेरै उपभोक्ता जानेर वा नजानेर शोषित हुनुपरेको छ । अब त उपभोक्ता जागरूक भएर आफू ठगिँदै आएको विषयमा आवाज उठाउनुपर्ने हो । धैर्य गरौं, त्यो दिन पक्कै आउला ।
नेपाली लुब्रिकेन्टको गुणस्तर आयातितभन्दा कुनै पनि हिसाबले कम छैन । लुब्रिकेटिङ आयल बनाउने तरिका र सूत्र विश्वभर एउटै हो । सबै बन्ने बेस आयलबाट नै हो । त्यसमा प्रयोग हुने रसायन ‘एडिटिप्स’ नेपाली उद्योग र बहुराष्ट्रिय कम्पनीहरुको पनि एउटै हो । उनीहरुले बेस आयल बढी प्रयोग गरेर बढी गुणस्तरीय बनाउँछन् भन्नेचाहिँ होइन ।
आयातित लुब्रिकेन्टभन्दा नेपाली लुब्रिकेन्ट कुनै पनि हिसाबले कमसल नभए पनि उनीहरुले आफ्नो पुरानो ब्राण्डको फाइदा उठाउँदै गाडी आयात गर्ने कम्पनीमार्फत नेपालमा ‘कार्टेलिङ’ गर्ने काम गरेका छन् । पुरानो ब्राण्डका आधारमा मूल्यमा सामान्य फरक पर्ने भए पनि अस्वाभाविक मूल्य कम गर्ने र ‘कार्टेलिङ’ गर्ने कुरा राम्रो होइन । उनीहरुले अटोमोबाइल उपभोक्तालाई ग्रेडका आधारमा इन्जिन आयल प्रयोग गर्न सिफारिस गर्नुपर्नेमा ‘मेरै कम्पनीको हाल्ने भए हाल, नत्र हुँदैन’ भन्नु उचित होइन र यस्तो भन्न मिल्दैन पनि । सरकारले पनि ग्रेड तोक्ने तर ब्राण्ड तोक्न नपाउने भनेर कडाइका साथ अनुगमन गर्नुपर्ने देखिन्छ ।
अहिले २० प्रतिशतसम्म महँगो भए पनि सरकारी कार्यालयहरुले नेपाली उत्पादन प्रयोग गर्नुपर्ने नीतिले नेपाली लुब्रिकेन्ट उद्योगलाई केही राहत भने भएको छ । सरकारले २० प्रतिशत भने पनि नेपाली उत्पादन त्यति साह्रो महँगो पर्दैन । बरू आयातित लुब्रिकेन्टभन्दा निकै सस्तो र गुणस्तरीय पनि हुन्छ । सरकारको यस्तो नीति हुँदा पनि कमिसन दिन नसक्ने हुँदा सरकारी कार्यालयमा बिक्री गर्न कठिनाइ भएको छ । धेरै लबिङ गरेर टेण्डरमा प्रतिस्पर्धा गरेर सेना÷प्रहरीमा भने आपूर्ति सुरू गरेका छौं । दुई अर्बभन्दा बढीको ट्रान्सफर्मर आयल नेपाल विद्युत् प्राधिकरणले बाहिरबाट मगाउने गरेको छ । यो पनि हामी आपूर्ति गर्न सक्षम छौं । त्यस्तै, जनक शिक्षा सामग्री केन्द्रदेखि नेपाल वायुसेवा निगमसम्म नेपाली लुब्रिकेन्ट प्रयोग गर्न सरकारले सहजीकरण गर्नुपर्छ । स्वदेशी उद्योगलाई प्रवद्र्धन गरेर आयात प्रतिस्थापनमा सहयोग गर्नु राज्यको पनि कर्तव्य हो ।
भन्सारमा नेपाली लुब्रिकेन्ट उद्योगलाई निकै समस्या छन् । यी समस्याको एउटा कारण अस्थिर सरकार पनि हो । अहिले जुन दरमा नेपाली उद्योगमा बेस आयल आउँछ, त्योभन्दा सस्तोमा तयारी वस्तु छुटाइरहेको छ, त्यो पनि बिनागुणस्तरीय । यसरी आयात हुने लुब्रिकेन्टको गुणस्तर परीक्षण गर्ने प्रणाली नै भन्सार नाकामा छैन । अर्को कुरा यसरी जथाभावी आयात हुने लुब्रिकेन्टको मूल्य निर्धारण छैन । जति मूल्यमा ल्याए र जुन ग्रेडको ल्याए पनि सहजै भन्सार छुटाइन्छ । तर एसएल ग्रेडको लुब्रिकेन्ट बनाउन ल्याइने बेस आयलको मूल्य प्रतिलिटर दुई सय रूपियाँ पर्छ । यसको निगरानी कसैले गर्दैन ।
अर्कोतर्फ खुल्ला सीमाको फाइदा उठाउँदै हुने चोरीपैठारी छँदै छ । यो सबै विकृति नियन्त्रण गर्न स्थिर सरकार आएर बनावटमा परिवर्तन गर्नुपर्छ । त्यो भन्दैमा सुधार नभएको भन्ने होइन । साढे दुई दशकअघि उद्योग खोल्दा र अहिलेको अवस्थामा धेरै सुधार भए पनि सबै समस्या भने समाधान भइसकेको छैन । लुब्रिकेन्टको ठूलो आयातलाई कम गर्न सरकारले डम्पिङ प्रोडक्टका रुपमा भन्सार दर बढाउनुपर्ने खाँचो पनि छ । त्यसो भएको खण्डमा नेपाली लुब्रिकेन्ट उद्योगमा थप लगानी र रोजगारी पनि बढ्छ । साथै, सरकारलाई राजश्व पनि वृद्धि हुन्छ । नेपाली उद्योगले स्वदेशी बट्टा र कार्टुन प्रयोग गरी प्याकेजिङ गर्छन् । स्वदेशी ढुवानी गराउँछन् । ग्रिजको बजार पनि लुब्रिकेन्टको जस्तै हो । यसको एउटा फरक विशेषता भनेको विद्युतीय सवारीसाधनमा पनि प्रयोग हुन्छ । यस्ता सवारीसाधन ब्याट्रीबाट चल्ने भए पनि गियर आयल भने प्रयोग गर्नुपर्ने हुन्छ ।
पीएलओ एक ‘पायोनियर’
नेपालको पुरानो लुब्रिकेन्ट उद्योग पूर्वाञ्चल ल्युब आयल एक पायोनियर उद्योग हो । यसको स्थापना २०५८ भदौ २३ मोरङको सुन्दरहरैंचा–९ मा भएको हो । यस उद्योगले पीएलओलगायतका ब्राण्डमा लुब्रिकेन्ट र ग्रिज उत्पादन गर्दै आएको छ । कुल १८५ जनालाई रोजगारी दिइरहेको पीएलओको बजार मेचीदेखि महाकालीसम्म सबै भू–भागमा पुगेको छ । ९० भन्दा बढी अधिकृत बिक्रेता र १२ हजारभन्दा बढी खुद्रा बिक्रेताको सञ्जालमार्फत उद्योगका उत्पादन बिक्री हुँदै आएके छन् । गुणस्तर मापदण्डमा पीएलओका उत्पादनमा कुनै समस्या छैन ।
पीएलओलाई अहिले पब्लिक लिमिटेड कम्पनी बनाएर सर्वसाधारण जनतालाई समेत शेयर बिक्री गर्ने र उनीहरुसँग सहकार्य गर्दै व्यवसाय गर्ने योजना बनाएका छौं । छ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गर्ने तयारी भएको छ, जसको प्रिमियम मूल्य प्रतिकित्ता एक हजारभन्दा बढी नै हुन्छ । किनकि, यो ३० करोड मात्रै चुक्ता पुँजी भएको कम्पनी हो र राम्रो नाफा गर्दै आएको कम्पनी पनि हो । रेटिङ र डीडीए गर्दा पनि यो कम्पनी अब्बल देखिएको छ । कुनै पनि कर विवादमा नपरी उत्कृष्ट करदाताका रुपमा स्वस्थ व्यवसाय गर्दै आएको व्यावसायिक प्रतिष्ठान हो पीएलओ ।
कर्पोरेट नेपाल बिजनेस म्यागाजिनमा प्रकाशित कुराकानीमा आधारित लेख ।