पारा ओलम्पिक पदक विजेता पलेशालाई विमानस्थलमा भव्य स्वागत र नगर परिक्रमा
पारा ओलम्पिक पदक विजेता पलेशालाई विमानस्थलमा भव्य स्वागत र नगर परिक्रमा
काठमाडौं । काठमाडौँ महानगरपालिकाले पेरिस पारा ओलम्पिक, २०२४ मा कास्य पदक प्राप्त गर्ने पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई रु पाँच लाख नगदसहित सम्मान गरेको छ ।
महानगरपालिका कार्यालय काठमाडौँ प्लाजामा आज आयोजना गरिएको कार्यक्रममा महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले सम्मानपत्र तथा उपप्रमुख सुनिता डङ्गोलले पलेशालाई रु पाँच लाखको चेक हस्तान्तरण गरेका हुन् ।
सम्मान कार्यक्रममा महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर, सामाजिक समितिका संयोजक रामकुमार केसी, तेक्वान्दो एशोसिएशनका अध्यक्ष प्रकाश शमशेर राणा, ओलम्पियन सङ्गीना वैद्य, पलेशाका मातापिता पनिता र प्रदीप गोवर्धनसहित खेल क्षेत्रका पदाधिकारी तथा खेलाडी सहभागी थिए ।
पलेशाले गत शुक्रबार फ्रान्सको पेरिसमा भएको पारा ओलम्पिकमा ‘के–४४’ विधा अन्तर्गत महिला ५७ किलो मुनिको तौल समूहमा कास्य पदक प्राप्त गरेकी थिइन् । उनले उक्त प्रतिस्पर्धामा सर्वियाकी मरिजा मिकेभलाई १५–८ अङ्कले पराजित गरेकी थिइन् । ओलम्पिकमा नेपाली खेलाडीले प्राप्त गरेको यो नै पहिलो पदक हो ।
राष्ट्रपति पौडेलद्वारा पलेशालाई सम्मान
यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस पारा ओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनसहितको टोलीलाई सम्मान गरेका छन् ।
शीतल निवासमा आयोजित एक कार्यक्रमकाबीच पदक विजेता पलेशालाई राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले माला र दोसल्ला ओढाएर सम्मान गरेका हुन् । साथै उनका प्रशिक्षक कविराज नेगी लामालाई पनि बधाई तथा शुभकामना दिए ।
सम्मानपछि राष्ट्रपति पौडेलले पलेशालाई शुभकामना दिँदै यसबाट देशको शीर उँचो पार्ने काम भएको र अर्को पटक राष्ट्रले स्वर्ण पदकको अपेक्षा गरेको बताए । सम्मान कार्यक्रममा नेपाली सेनाको एक टुकडीले मङ्गलधुन बजाएर स्वागत गरेको थियो ।
कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, पदक विजेता पलेशाका बाबु आमा र खेल संघका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
विमानस्थलमा भव्य स्वागत र नगर परिक्रमा
यसैबीच, फ्रान्सको पेरिस प्यारालिम्पिक्स अन्तर्गत पारा तेक्वान्दोमा कांस्य पदक विजेता पलेशा गोवर्धनसहित नेपाली पारा तेक्वान्दो टोली बुधबार स्वदेश फर्किँदै गर्दा त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ । उक्त अवसरमा गोवर्धनलाई स्वागत गर्न युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टकंलाल घिसिङ, खेलाडीलगायतको बाक्लो उपस्थिती रहेको थियो ।
पारा तेक्वान्दोमा कांस्य पदक विजेता पलेशा गोवर्धनसहित नेपाली पारा तेक्वान्दो टोली बुधबार स्वदेश फर्किँदै गर्दा त्रिभुवन विमानस्थलमा स्वागतपछि नगर परिक्रमा गराइएको थियो ।