एनसेलद्वारा कपिलवस्तुको ठाकुरापुरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना

Advertisement

काठमाडौ । एनसेलले आफ्नो सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु अन्तर्गत कपिलवस्तुको बाणगंगा नगरपालिका, वडा. नं ४, ठाकुरापुरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । यस शिविरमा ३०० भन्दा बढी स्थानीयले निःशुल्क स्वास्थ्य परामर्श तथा सेवाहरुको लाभ लिएको कम्पनीले जानकारी दिएको छ । 

नेपाल हृदयरोग निवारण प्रतिष्ठानसँगको सहकार्यमा गत साता आयोजना गरिएको यस शिविरमा मानिसहरुले मुटु रोगसम्बन्धी विशेषज्ञ डाक्टरहरुबाट मुटु रोग लगायत अन्य विभिन्न रोगका विशेषज्ञसँग परामर्श लगायत ईसीजी, मधुमेह तथा रक्तचापको जाँच सेवा पाएका थिए । बिहान १० बजेबाट सुरु भएको शिविरमा आएका मानिसहरुले परामर्श अनुसारको आवश्यक निःशुल्क औषधिहरु पनि पाएको जनाइएको छ । 

Advertisement

यस्ता स्वास्थ्य शिविरले स्वास्थ्यसम्बन्धी केही समस्या भए पहिल्याउँदै समयमा नै निवारक स्वास्थ्य सेवाहरुका साथ समस्यासँग जुध्न मद्दत गर्दछ । एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत कपिलवस्तुमा संचालन गरेको यो दोस्रो निःशुल्क स्वास्थ्य शिविर हो । यसअघि कपिलवस्तुको मायादेवी गाउँपालिका, वडा नं. ३, फुलिका स्वास्थ्य चौकीमा यसै किसिमको निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो । यसका साथै एनसेलले कपिलवस्तुका अन्य ३ विकट क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्नेछ । 

एनसेलले सीएसआरअन्तर्गत देशभर विभिन्न सामाजिक विकासका आयोजनाहरु सञ्चालन गरिरहेको छ । कम्पनीले गत वर्ष आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा ‘एटीन फर एटीन’ अर्थात १८ औं वर्षको लागि १८ वटा सामाजिक पहलहरुका लागि आवेदन खुल्ला गरेको थियो । यसै पहल अन्तर्गत देशका विभिन्न स्थानमा विकास कार्यहरु कार्यन्वयन भइरहेका छन् । यस ‘एटीन फर एटीन’ कार्यक्रम अन्तर्गत परियोजना संचालन गर्नका लागि प्रति परियोजना १० लाख रुपियाँ आर्थिक सहायता प्रदान गरिएको कम्पनीले जानकारी दिएको छ । 

एनसेलले आफ्नो स्थापना पश्चात शिक्षा, वातावरण र स्वास्थ्य लगायतका विभिन्न क्षेत्रका सामाजिक परियोजनामा २ अर्ब भन्दा बढी योगदान गरिसकेको छ । साथै कम्पनीले देशको एक सबैभन्दा ठूला करदाताका रुपमा अन्तर्गत अर्थतन्त्रमा प्रभावकारी योगदान दिँदै स्थापनाकालदेखि गत आर्थिक वर्ष २०८०–८१ सम्ममा सरकारलाई कर तथा गैरकर गरी रु ३२० खर्ब भन्दा बढी राजस्व तिरिसकेको छ ।

Advertisement

Advertisement