कुमार दाहाल
हिन्दूस्थानभित्र नेपाल भूखण्डको छुट्टै परिचय छ । हिमवत खण्डको एउटा भाग कसरी देश बन्यो ? भन्ने प्राचीन प्रमाणहरु यथेष्ट छैनन् । यो प्राचीनता नै नेपालको चिनारी हो । हिन्दूकुश पर्वतमालाको काख नेपालको संसारमा आफ्नै चिनारी छ । यो चिनारी भूगोलको मात्र होइन, यसको विशेषता दक्षिणको हिन्दूस्थान र उत्तरको चीनभन्दा फरक छ । यो फरक नै नेपालीपन हो । यो नेपालीपनमा स्व–धर्म ,आर्य संस्कृति र प्रकृति पुजकको मात्र होइन , उत्तर र दक्षिण दुवैतर्फका धार्मिक, भाषिक, जातीय, सांस्कृतिक र जैविक गुणहरूको समिश्रण पाइन्छ । कालान्तरमा यही विशेषता नेपाली मौलिकपनले चिनिन थाल्यो । यो चिनारी नै नेपालको प्राग ऐतिहासिक परिचय पनि हो । विदेशीहरूले नेपाललाई हेर्ने गहिरो दृष्टिकोण र दृश्य पनि यही हो । यसैभित्र नेपालीपनको बौद्धिकता खोजिन्छ । यो बौद्धिकताले नेपालको अर्थतन्त्रलाई विगतमा धानेको थियो । प्राचीन मध्यकाल र आधुनिक कालको पूर्वाधसम्म नेपाली उन, वास्तुकला, मूर्तिकला, ललितकला, गहना, कृषि, जडीबुटी आदिमा नेपाली बौद्धिकता छिमेकी र समुद्रपारसम्म परिचित थियो । पछि पाल्पाको करुवा ,भोजपुरको खुकुरी, इलामको चिया, धनकुटाको सुन्तला आदिले नेपाली बौद्धिकता चिनायो र यी अर्थतन्त्रका मेरुदण्ड पनि थिए । यसलाई महेन्द्रको राष्ट्रवाद भनेर राजनीतिकरण गरियो । गुन्द्रुक ,हसिया, खुकुरी, कोदालो, हलो, जुवामा नेपाली बौद्धिकता मिसिएको कुरा नीति निर्माताले पत्तै पाएनन् वा उदारीकरणको प्रभावमा अन्धा भए । जब यी विषय गाउँबाट विस्थापित भए र आधुनिकीकरण भएनन्, बिस्तारै नेपाली अर्थतन्त्र निश्चित व्यक्ति वा वर्गको हातमा ध्रुवीकृत हुँदै गयो । अब त यी नेपाली उत्पादन र सीपमा विदेशी उत्पादकको ट्याग लाग्न थालेको छ । यिनै विषयमा हामी राजस्व सङ्कलन गरेर बसेका छौं । किनकि हामीलाई उत्पादन होइन, अर्थतन्त्र धान्न राजस्व चाहिएको छ।
पृथ्वीनारायण शाह, जङ्गबहादुरदेखि राजा महेन्द्र हुँदै पछिका केही शासकले नेपालीपनभित्र नेपालको विकास खोजे । तर त्यो अटुट रहेन । जसरी हिन्दूस्तानले भारतीय संस्कृति र इन्डियन विचारलाई भाषा, सिनेमा र ‘माँ’को आदर्शले राष्ट्रवादमा बौद्धिकता जन्माउँदै लग्यो । किनकि नेहरु डक्ट्रिनभित्र प्रबल राष्ट्रवादको हतियार भाषा र संस्कृति नै थियो । यही राष्ट्रवादको सिको राजा महेन्द्रले पनि गरे । त्यसपछि नेपाली चिनारी गुन्द्रुक, गुनु चोलो, तीज, दशैँ, तिहार जस्ता सामाजिक सांस्कृतिक प्रतीकमा राष्ट्रवाद फैलँदै गयो जुन आज पनि त्यत्तिकै अटुट छ । तर अहिले यी नेपाली चिनारी र जनजनको बौद्धिकता गाउँबाट विस्थापित हुँदै छ र आधुनिक पिँढी यो नेपालीपनभित्र रोजगारी र जीवन खोज्न तयार छैन । यो नेपालीपनले अब अर्थतन्त्रमा टेको दिन छोडेको छ । नेपाली मौलिक उत्पादन, ट्रेडमार्क र मौलिक सम्पत्तिको रुपमा रहेनन् र यो देशभित्र रोजगारीको क्षेत्र पनि रहेन। अहिले यस्तो सीप र क्षमता भएकाहरु विदेश जाँदैछन् । यही सीप र क्षमतामा विदेशमा आकर्षक पेशा उनीहरू पाउँदैछन् । यो नेपालीपन र बौद्धिकता विश्वका निर्वासित ठाउँमा त्यही देशको संस्कृति र संस्कारमा बिलाउँदै छ । देशभित्र नेपालीपनको बौद्धिकता सिद्धिँदैछ । यो बौद्धिकताको रक्षा विदेशको नक्कलबाट हराउँदै छ । यो बौद्धिकता विश्वविद्यालयका प्रमाणपत्रले जोगाउन सकिँदैन । यसलाई जनजनमा घुलमिल भएको सीप ,अनुभूति र कालीगढीले चिनाउँछ ।जसको रक्षा गर्ने सोच आज पूरानो मानिन्छ ।
कुनै दिन नारायणगोपाल र तारादेवीको गीत सुन्दा साँझ पूलकित हुन्थ्यो । वनैभरि, मनैभरि पाण्डव सुनुवार र मिरा राणाका गीतहरू गुञ्जिन्थे । पाखा पखेरामा भूपी शेरचनको रातो र सूर्य चन्द्र सुन्दा जीउ सिरिङ्ग हुन्थ्यो । यो नेपालीपन आज सोसल मिडियामा सीमित भएको छ । सायद आधुनिकताले होला यसभित्रका नेपालीपनहरु विदेशमा पनि कमै गुन्जिन्छन् । अब त हाम्रा लय, संगीत, राग र लापहरू विदेशी स्टेज र कन्सर्टहरूमा छुट्टै नेपाली आधुनिकता लिएर बर्सँदै छन् । यिनले हाम्रो नेपालीपनको बौद्धिकतालाई कहाँनेर समेट्छन ? कतै हामी आफ्नो भूखण्डलाई बिर्सिँदै त छैनौं ? लोकतन्त्रको प्रसाद यही होला त ? साझा प्रकाशन, प्रज्ञा एकेडेमीमा पनि प्रजातन्त्र पुग्यो । कला, संस्कृति, भाषाको गहिरो अध्ययन केन्द्रसमेत आज नेपालमा छैन । के यसभित्र पनि हामीले राजनीति गर्न जरुरी थियो ?
नेपालको आध्यात्मिक बौद्धिकता फरक छ । धार्मिक द्वन्द, युद्ध नेपालमा कहिल्यै भएन ।दक्षिणको प्रभाव धेरै रह्यो तर आन्तरिक सद्भाव कहिल्यै टुटेन । यहाँका मठ ,मन्दिर ,स्तुपामा प्रकृतिपुजक र शैव दर्शन दुवैको समिश्रण छ । तन्त्र, मन्त्र र शास्त्रमा नेपालको सनातन हिन्दूको परिचय पाइन्छ । शिवपुरी बाबा लगायतले चिनेको आध्यात्मिक नेपाल यही हो । तर यो धरातलमा हाम्रो आध्यात्मिक दर्शन संस्थागत हुन सकेन र अहिले आध्यात्मिक धर्म गुरुहरुले हिन्दूत्व र धर्मको नाममा हाम्रोमा नाफा कमाउन थालेका छन् । यसलाई हामीले सामाजिक विकृतिका रूपमा लिन सकेनौँ । शिक्षाबिनाको संस्कृति यस्तै हुन्छ । अहिले सरल आध्यात्मिक नक्कलमा हाम्रा धर्म सम्प्रदाय आधुनिक हुँदै गए । यथार्थ नेपाली मौलिकपन भित्रको आध्यात्मिकता खोजिएन । आज अमेरिका, क्यानडा, अस्ट्रेलिया र युरोपका देशमा नेपाली पुराण लाग्दैछ । कृष्णको लीला त्यहाँ सुनिँदैछ जुन कृष्णको लीला गर्ने भूमि नै होइन, यो आध्यात्मिक नक्कली बौद्धिकता विस्थापित भएर केही फरक पर्दैन । तर हाम्रो प्रकृति पूजन, तन्त्र र मन्त्रको मौलिकता गुम्नु भएन । यसैभित्र नेपाली बौद्धिकता छिपेको छ ।
विदेशमा १० वर्ष ,२० वर्ष, ५० वर्ष, १०० वर्षसम्म उत्पादन दिने उद्योगका योजना बन्छन् । लगानी हुन्छ । मानव स्रोत विकासमा अधिकतम् लगानी हुन्छ । उनीहरु निजी क्षेत्रलाई पूर्णरूपमा प्रोत्साहन गर्छन् । उद्योग व्यापारलाई स्वतस्फुर्त बनाउन यसको राजनीतिकरणबाट जोगिन खोज्छन् । भ्रष्टाचार गर्दिन र नतिजा दिन्छु भनेर त्यहाँ कर्मचारीतन्त्रले काम गर्न पाउँछ । योग्यताको कदर हुन्छ । नेपालमा यो किन हुँदैन ? किनकि नेपालको मौलिकपन, बौद्धिकता र आफ्नै विरासतमा उद्योग, उद्यमी र व्यापारको पहिचान नै भएन । कुनै समय नेपालकै परिचय दिएर निर्यात हुने गलैंचा, पश्मिना, मूर्ति ,भाडाकुँडा ,गहना र उत्पादन गर्ने मानव श्रोत अहिले तिनै देशमा प्रवासनमा गयो र अहिले हाम्रो नेपालीपनको उत्पादन तिनै देशको परिचयबाट हुन्छ र हामी त्यहीबाट जनै, टपरा, सिन्का, गुन्द्रुक मगाउँछौ र उपभोग गर्छौं । यो उपयोगितावादमा हामी नजानेर फसिसक्यो । जे होस् उनीहरुले हाम्रो नेपालीपन जोगाइदिएका छन् । जोगाइदिनेहरूलाई नेपालमा भ्रष्टाचार होस् वा बौद्धिक सम्पत्ति पलायन होस् त्यति ख्याल हुँदैन् किनकि अहिले संसार व्यापारमा छ । नाफामा छ । यो नचिन्नु मूर्खपनबाहेक अरु केही होइन ।
विक्रम सम्वत् २०५० भन्दा अगाडि घरघरका राडीपाखी ,डोको ,नाम्लो, कोदालो, हसिया जस्ता मौलिक औजारहरूको उत्पादनमा उदारीकरण लाग्यो । औजार कारखानाहरु पनि बिक्री भए । यसको सट्टा विदेशमा उत्पादित मेसिनरी औजार आए । मलखाद आयो । बिउ बिजन आयो । अहिले आफ्नै माटोमा उत्पादन भएको फलको बीउ लाग्दैन । एसडीजीज सूचकमा जिन बैंकको स्थापना गर्ने लक्ष्य थियो । जिन बैंक स्थापना भएको भए मात्र पनि हामी माटो अनुकूल आफ्ना मौलिक बीउ बिजन संरक्षण गर्न सक्थ्यौं । सायद अरु लक्ष्यहरू पूरा गर्न सजिला थिए । तर यो बौद्धिकता संरक्षण गर्ने सूचक कहाँ छ ? राष्ट्रिय योजना आयोगको प्रगति सूचकमा कुनै तथ्याङ्क त होला ।
बीउ बिजन र मल नपाएर सानातिना उत्पादक र श्रमिक शहर पसे । शहरमा गल्ली सौन्दर्यकरणको नाममा यिनीहरू लखेटिएर अहिले कि विदेशमा कि गाउँमा अलमलिएर बसेका छन् । अहिलेका नीति निर्माताले यो कुरोको भेउ पाउँदैनन् । सत्ता, शक्ति र स्रोतको उन्मादमा प्रशंसकहरूको वरिपरि उनीहरु नेपालीपनमा खासै चासो राख्दैनन् र उद्योग, व्यापारमा संसारमा नेपाली मौलिक उत्पादन र सेवा खोज्नेहरू प्रायः भेटिन छोडेका छन् । हामीले अहिले गुमाएको बजार यही हो ।
कृषि क्षेत्रको ज्ञान, विज्ञता, सीप अब गाउँमा रहेन । पहाडका माथिल्ला शहरसम्म बेमौसमका छिमेकी मुलुकका तरकारी, फलफूल र खाद्यहरूमा स्वयम् कृषकहरु रमाउन थालिसके । हाम्रा गाउँघरमा उत्पादनभन्दा छिटो रेमिटान्स पुग्छ र कृषि क्षेत्रको मौलिकता गुम्दैछ । सोरठी, गाथा, भजन र योसँग जोडिएको संस्कृति लोप हुँदैछ । यसको कार्बन कपीले अझ यो विकृत बन्दैछ । हामीले खोज्ने नेपाली बौद्धिकता यसैभित्र हो । अब त विश्वविद्यालय, विद्यालयमा नेपाली, संस्कृति, पुरातत्व ,इतिहास पढ्ने विद्यार्थी पाउन छाडिसक्यो । के यो विश्वव्यापीकरणको प्रभाव हो वा मानव सभ्यताको निरन्तर इभिलुसन ? बौद्धिकता गन्थन र विश्वविद्यालयका प्रमाणपत्रमा मात्र हुँदैन । यो अनुभूति र व्यवहारमा बढी तिखो हुन्छ । गलत राजनीति प्रयोग सबैतिर हुन्छ तब मौलिक बौद्धिकता या गुमसुम हुन्छ या विस्थापित । अहिले नेपाली बौद्धिकताको अवस्था यही छ ।
लेखकको फेसबुकबाट साभार ।