ज्यो. गुरु दिवाकर पन्त
बडादशैँ २०८१ हजुर हाम्रो आँगनमा आइपुगिसकेको छ । यसपटक हामीले १२ राशिका लागि यस बडादशैँ के कस्तो रहला ? भनि ज्योतिषीय हिसावले विश्लेषण र विवेचना गरेका छौँ । यो हाम्रो नयाँ प्रयोग पनि हो । एकै राशिका धेरै व्यक्तिहरु हुने हुँदा सबैको हकमा ठ्याक्कै मिल्यो वा मिलने यसै भन्न त नसकिएला । तर पनि एकै राशिका व्यक्तिहरुमा समान अवस्थाको नजिक राशिफलको फलादेश पुगे झै यो पनि रहने विश्वास हामीले लिएका छौँ ।
हजुर र हजुरको सम्पूर्ण परिवारसहित सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी एवं सम्पूर्ण सनातनी तथा ओमकार परिवारमा बडादशैँ २०८१ को हार्दिक मंगलमय शुभकामना हामी प्रकट गर्न चाहन्छौँ ।
मेष
स्वास्थ्य समस्यासँग जुध्नु पर्ने छ । स्वास्थ्य सम्बन्धी विषयमा संयमित रहनु होला । यात्रामा पनि सहजता भन्दा केही कठिनाईका साथ मात्र हुने छ । परिवारसँगको मिलन हुने भए पनि मधुरताको अभावले गर्दा उक्त मिलन खल्लो बन्न पुग्ने छ । जीवनसाथिको साथले ठुलो अर्थ राख्ने छ । चाडवाडको क्षणमा पनि एक प्रकारको अदृश्य तनावले सताउने भएकाले सारै रम्न नसक्ने व्यक्तित्व बन्ने छ ।
वृष
रमाईलोमा रम्ने स्वाभाव देखिने छ । यसले गर्दा यस दशैँ चाडवाडमा मज्जाले रम्ने र रमाईलो गर्ने अवसर पनि मिल्ने छ । परिवारको साथमा रहने र विशेषगरी खानपानमा बढि मन जाने छ । सवारीसाधनको यात्रामा भने सजग नै रहनु होला । घुम्न जाने अवसर मिल्ने छ । नयाँ नयाँ मानिससँगको भेटले पछिसम्म मद्दत मिल्ने अवसर जुटाउने छ ।
मिथुन
बादबिबादको विषयमा अनावश्यक रुपमा सहभागि हुने हुँदा मित्रहरु तथा नातेदारकै बीचमा पनि कटुता आउने छ । बोलीमा नरमपना भन्दा कठोरता आउने छ । परिवारमा पनि तिक्तताको क्रम रहीरहने छ । यात्रामा भने सोचे भन्दा सहजता आउने छ । आवश्यक स्थानमा पनि खर्च गर्न आनाकानी गर्दा सामाजिक छवी बिग्रने छ, विचार गर्नु होला ।
कर्कट
खर्चिलो स्वाभावका कारण धेरै खर्च हुने छ । आवश्यकता भन्दा धेरै फुर्मास गर्न मन लाग्दा आर्थिक दबाब पर्ने छ । सबैसँग रमाईलो गरी हाँसिमजाक गर्ने हुँदा धेरैले मन पराउने छन् । स्वास्थ्य समस्या प्रति भने सजग रहनु पर्ने देखिन्छ । अरुले छिट्टो विश्वास गर्दा धोका हुने चुनौति रहने छ । भ्रमणमा जाने सोचले मूर्त रुप पाउने छ ।
सिंह
रवाफिलोपनामा अनावश्यक बृद्धि हुने हुँदा अरुले धेरै घमण्डि व्यक्तिका रुपमा चित्रण गर्ने छन् । अरुलाई पेलेर अभिव्यक्ति दिने कुरामा विचार पु¥याउनु नै बुद्धिमानी हुने छ । अरुले हेप्न भने सक्नै छैनन् । रमाईलो क्षणमा पनि सैद्धान्तिक स्वाभावले गर्दा लचकताको अभाव हुने छ । परिवारसँगको भेटघाट अपेक्षा गरे अनुरुप सहज बन्ने छैन् ।
कन्या
सामाजिक सोच आउने छ । अरुलाई सहयोग गर्नमा अघि बढ्ने हुँदा सामाजिक रुपमा मानसम्मान पनि मिल्ने छ । अरुको दुःखमा साथ दिन मन लाग्ने छ । घर परिवारमा धेरै समय नदिँदा परिवारका सदस्य र नातेदार रिसाउने छन् । सामाजिक छवीले गर्दा अरुको विश्वास छिट्टो प्राप्त हुने छ । चलाख व्यक्तित्व हुने छ ।
तुला
अवस्था अनुसार व्यवहार गर्न जान्दा निकै ठुलो लाभ मिल्ने छ । कार्यालयको कामले गर्दा चाडवाडको मज्जा भने लिन नसकिने छ । तर पनि मन बुझाउन सक्ने तागत मिल्ने छ । साथिभाइको साथले चाडवाडलाई रसिक बनाउने छ । परिवारमा मिलन सहज बन्ने छैन् । खानपानका परिकारको उपभोग मिल्ने छैन् भने नियमित दैनिकीले छोड्ने छैन् ।
वृश्चिक
चाडवाडको माहोल शुभ बन्ने छ । परिवारमा मिलन हुने हुँदा यात्रामा उत्पन्न कठिनाई बिर्सन पुगिने छ । खानपानमा बडो मन जाने छ भने धेरै परिकार उपभोग गर्न पनि मिल्ने छ । मित्रहरुसँग मिलन हुने छ । यात्रामा सवारीसाधनले दुःख दिने भएकाले सजग रहनु होला । धार्मिक आध्यात्मिक र सांस्कृतिक सोच हुने छ ।
धनु
धार्मिक स्वाभावमा थोरै अरुचि आउने छ तर पनि अरुको करबल र अरुलाई देखाउनका लागि भए पनि यस्ता कार्यमा सहभागी हुने मनमा लाग्ने छ । परिवारका सदस्य र आफ्नो सोचमा बेमेल हुँदा कटुता देखिने छ । अवस्था अनुसार रम्ने भन्दा पनि आफ्नै तालको व्यक्तित्व बन्दा भेटघाट र जमघट खल्लो बन्ने छ । यसबारेमा सचेत रहनु नै बेस होला ।
मकर
सात्विक रुपमा चाडवाड मनाउन प्रेरणा मिल्ने छ । अरुलाई सहयोग गरौँ भन्ने लाग्ने छ र सहयोग पनि गर्दा सकारात्मक छवी बन्ने छ । परिवारमा ज्यादा घुलमिल भन्दा औपचारिकतामा भेटघाट सीमित बन्ने छ । कम बोल्दा र धेरै सुन्दा ठीक होला । सामाजिक छवीमा भने राम्रो बढोत्तरी हुने छ । मानसम्मान मिल्ने छ । मित्र मिलन हुने छ ।
कुम्भ
जसरी पनि जित्नै पर्ने स्वाभावले गर्दा पारीवारिक भेटघाट बिबादमा बदलिने भएकाले संयमित रहनु होला । भित्रि स्वाभाव सहयोगी हुँदाहुँदै पनि बाहिरी व्यवहारबाट अरुले जिद्दि खालको अनुभूत गर्ने छन् । प्राकृतिक प्रकोपका बारेमा संयमित रहनु पर्ने देखिन्छ । धेरै जोखिमले भरिएका कुरामा अघि नबढ्दा राम्रो ।
मीन
चाडवाड रमाईलो गरि बित्ने छ । तर मनमा भने बौद्धिक कार्य गर्न पाइएन भन्ने लागि रहने छ । ज्यादा आदर्शवादी सोचले गर्दा घुलनशिलताको अभाव यस चाडवाडमा यस राशिका व्यक्तिहरुमा देखा पर्ने छ । स्वास्थ्य समस्या निको हुने तर्फ जाने छ । खानपानमा भन्दा भ्रमणमा ज्यादा मन जाने छ । धार्मिक आध्यात्मिक रुचि पनि बढ्न जाने छ ।
(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९७६८४४२०३४)