काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को बद्री केसी पक्षले आज (आइतबार)देखि आयोजना गरेको ‘ग्लोबल’ सम्मेलनमा प्रधानमन्त्री केपी ओली सहभागी भएका छन् । एनआरएनको समानान्तर समूहले उक्त कार्यक्रममा सहभागी नहुन आग्रह गर्दागर्दै ओली केसी समूहको कार्यक्रममा सहभागी भएका हुन् ।
विवाद बढ्दै गएपछि परराष्ट्रमन्त्री आरजु राणाले एकता महाधिवेशन गर्न पूर्वअध्यक्ष शेष घलेलाई पत्र पठाएका थिएन् । परराष्ट्र मन्त्रालयको सहमति र सहभागितामा आयोजना हुनुपर्ने सम्मेलन परराष्ट्रलाई बेवास्ता गरेर प्रधानमन्त्री ओलीको संरक्षणमा भएको हो । माओवादी केन्द्रको समर्थन पाएका अर्को समूहका नेता आरके शर्माले संघको विवाद प्रधानमन्त्रीलाई पनि थाहा भएकाले नजान आग्रह गरेका थिए । यद्यपि ओली केसी समूहको कार्यक्रममा सहभागी भएर सम्बोधन गरेका छन् ।
बार्षिक साधारणसभासमेत भनिएको सम्मेलनमा गृहमन्त्री रमेश लेखक, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, पर्यटनमन्त्री बद्री पाण्डे, उपसभामुख इन्दिरा रानालगायत भने पुगेका थिए छ । अदालत र परराष्ट्रले एकता महाधिवेशन गर्न भने पनि केसी समूहले भने आफूहरु नै आधिकारिक भएको भन्दै संघको कार्यालय नियन्त्रण र खाता सञ्चालन गर्दै आएको छ ।
प्रधानमन्त्री ओलीको उपस्थितिलाई लिएर आरके शर्मा पक्षले विरोध जनाएको छ । शर्मा पक्षका उपाध्यक्ष एवम उपाध्यक्ष गंगाधर गौतमले साधारण सभा बहिस्कार गर्न सार्वजनिक अपिल गरेका छन् । उनले एनआरएनएको केन्द्रीय कार्यालय कब्जा गरी संघको कोष दुरुपयोग गरेको भन्दै कार्यक्रमलाई बहिष्कार गर्न अपिल गरेका हुन् ।
सर्वोच्च अदालतको आदेशको गलत व्याख्या गर्दै समूहले काठमाडौँमा अनधिकृत साधारण सभा आयोजना गर्न लागेको दाबी गर्दै गौतमले यस कार्यक्रमप्रति असहमति व्यक्त गरे । उनका अनुसार, एनआरएनएको १० औँ महाधिवेशनपछि उत्पन्न असहज परिस्थितीलाई एकीकृत गर्न ११ औँ महाधिवेशन गर्ने दायित्व संघमा थियो, जसका लागि मिहिन अध्ययनपछि एकीकृत र निष्पक्ष निर्वाचनको पक्षमा उभिएको बताइएको छ ।
तर तत्कालीन समयमा सहमति कार्यान्वयन नगरेर बद्री केसी समूहले अनलाइन भोटिङ प्रणालीमा कब्जा गर्दै संघलाई तीन खेमामा विभाजन गरेको उनले आरोप लगाए । गौतमले पाँच वर्षदेखि विवादग्रस्त रहेको एनआरएनएको एकता कायम गर्ने अवसरलाई नेपालको प्रमुख राजनीतिक दलहरूले समर्थन गर्नुपर्ने आवश्यकता रहेको समेत जोड दिएका छन् ।