बाटोका कारण आयातित सबै बत्ति बिक्नेमा आशंका
बाटोका कारण आयातित सबै बत्ति बिक्नेमा आशंका
काठमाडौं । उमंग र उत्साहको पर्व ‘झिलिमिली तिहार’ का लागि आधुनिक विद्युतीय बत्तिको तीव्र माग छ । स्थानीय उत्पादन र परम्पराको रुपमा दिपावलीमा प्रयोग गरिँदैआएको बत्ति (कपास), पाला, मैनको प्रयोग घट्दै जाँदा विद्युतीय झिलिमिली बत्तिको माग र प्रयोगले प्राथमिकता पाउँदै गएको छ । योसँगै तिहारकै लागि भनेर वर्षेनी झण्डै आधा खर्ब रुपियाँ बराबरको विजुलीका झिलिमिली बत्ति नेपाल भित्रिने गरेका भन्सार विभागको तथ्यांकले देखाउछ ।
गत वर्षको तिहारमा ४५ करोड रुपियाँ बढीको झिलिमिली बत्ति आयात भएको थियो । तर, अपेक्षित बजारको माग नहुँदा कूल आयातको करिब ६० प्रतिशत मात्र खपत भएको थियो । गत वर्षको ४० प्रतिशत स्टक रहेकैले यो वर्ष व्यवसायीहरुले करिब ३५ करोड रुपियाँ बराबरको मात्र झिलिमिली बत्ति आयात गरेको नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष रेशमप्रसाद देवकोटाले कर्पोरेट नेपालसँग बताए ।
‘यो वर्ष तिहारका लागि करिब २५ करोडको बत्ति आयात भइसकेको छ । केहीँ बत्ति आउँदैछ । खासगरी गत असोजमा आएको अविरल वर्षासँगैको बाढी पहिरोले उत्तरतर्फका नाका र बाटोमा समस्या आउँदा आयातित मालवस्तु समयमा नै राजधानी आउन सकेनन् । तातोपानी नाकाको बाटो हिजो मात्र खुलेको छ । उताबाट सामान आउँदैगर्दा मगाइएका केहीँ करोडका विजुली बत्ति थपिँदैछन् । यो समेत गरी यो वर्ष करिब ३५ करोड रुपियाँ बराबरको झिलिमिली बत्ति आयात हुने अनुमान गरिएको छ’ देवकोटाले कर्पोरेट नेपालसँग भने ।
अपेक्षित व्यापार हुनेमा आशंका
तर, बाटोको अवरोधका कारण बत्ति आइपुग्न नै ढिला हुनाले अपेक्षित व्यापार हुनेमा भने अध्यक्ष देवकोटाले शंका व्यक्त गरे । ‘अहिलेसम्म सामान आइपुगेको छैन । हिजोदेखि मात्र बाटो खुलेको छ, एकदुई दिनमा सामान आएपनि सो सामान सम्बन्धित डिलर र पसलहरुमा पुर्याउन गाह्रो पर्ने देखिएको छ । यसले अपेक्षित व्यापार नहुँने देखियो’ उनले भने ।
तिहार सँघारमै आइपुगिसक्दा यतिबेलासम्म झिलिमिली बत्ति डिलर हुँदै रिटेलरसम्म पुगिसकेको हुनुपर्ने थियो ।धमाधम बत्ति बिक्री वितरण भइरहेको हुनुपर्ने थियो । तर यता होलसेलमा नै बत्ति आइनपुग्दा समस्या भएको उनको गुनासो छ । यसले यो वर्षपनि आयाति बत्तिको ठूलो परिमाण स्टकमा रहने डर भएको उनले बताए ।
उसो त यता बजारको माग पनि उति नहुँदा यस वर्षपनि झिलिमिली बत्तिको खासै व्यापार नहुँने देखिएको उनको भनाइ छ । ‘पोहोर साल राम्रै व्यापार होला भनेर व्यवसायीहरुले ठूलो परिमाणमा बत्ति आयात गरे । तर, व्यापार हुन सकेन । यो वर्षपनि खासै व्यापार हुँने देखिँदैन । खै, नयाँ विल्डिङ नयाँ नयाँ संरचना बनेको ? ठूला परियोजनाहरु बनेकै छैनन् । यस्तोमा थप बत्तिको माग हुने अपेक्षा छैन’ उनले भने ।
लामो समयदेखि झापाको विर्तामोडमा बत्ति तथा खाद्यान्नको रिटेल व्यापार गरिरहेका व्यवसायी हरि साहले पनि यो वर्ष उति उत्साहप्रद रुपमा व्यापार नभएको गुनासो गरे । ‘अघिल्लो वर्ष तिहारमा करिब एक लाख रुपियाँ बराबरको झिलिमिली बत्ति बेचेको थिए । तर, यो वर्ष ५०–६० हजार पनि कट्न मुस्किल हुने देखिन्छ । बजारको माग नै नभएपनि कसरी व्यापार होस् र !’ उनले भने ।
खासगरी तिहारमा प्रयोग हुने बिजुलीका झिलिमिली बत्ति दुई छिमेकी मुलुक भारत र चीनबाट आयात हुने गरेको छ । पछिलो समयम बढ्दो विद्युतीय उपकरणका साथै लत्ताकपडाको बढी भन्दा बढी आयात चिनियाँ बजारबाट हुँन थालेकोमा नेपाल आयात हुँने कूल बत्तिको ९० प्रतिशत चीनबाट नै आयात हुने महासंघका अध्यक्ष देवकोटाले बताए । बाँकी १० प्रतिशत भारतीय बजारबाट आयात हुन्छ ।
तिहारका बेला घर, अफिस, मठ मन्दिरसँगै सार्वजनिक स्थलहरु समेत विजुलीका झिलिमिली बत्तिले सजाउने गरिन्छ । यसअघि स्थानीय उपलब्धताका आधारमा काँदिएका कपासका बत्ति, पाला र मैन बत्तिहरुले घर अफिस सझाउने, झिलिमिली बनाउने गरिएपनि आजभोलि बिजुली बत्तिको बढी प्रयोग गर्ने गरिएको छ ।