काठमाडौं । चालु आर्थिक बर्ष २०८१–८२ को पहिलो त्रैमासमा २८ हजार ५७ वटा जीवन बीमा पोलिसि सरेन्डर (समर्पण) गरिएको छ ।
उक्त संख्यामा पोलिसि सरेन्डर गरेर बीमितहरुले रु. तीन अर्ब ८२ करोड ४६ लाख ६० हजार (सरेन्डर भ्यालु) लगेका छन् । नेपाल बीमा प्राधिकरणबाट प्राप्त गएको साउन, भदौ र असोजको तथ्यांकले सरेण्डर तीब्र भएको देखाएको हो ।
साउनमा एक अर्ब ५४ करोड ११ लाख रुपियाँ बराबरको १० हजार २९२ वटा पोलिसि सरेन्डर भएको थियो भने भदौमा भने एक अर्ब २१ करोड २२ लाख रुपियाँ बराबरको नौ हजार ४४९ वटा पोलिसि सरेन्डर भएको छ । त्यस्तै, असोजमा एक अर्ब सात करोड १३ लाख रुपियाँ बराबरको आठ हजार ३१६ वटा पोलिसि सरेन्डर भएको तथ्यांकमा देखिन्छ ।
हाल नेपालमा १४ ठूला जीवन बीमा कम्पनी सञ्चालनमा छन् । ती कम्पनीहरुमा पोलिसि सरेन्डर बढ्दै गएको देखिन्छ । लघुबीमा कम्पनीहरुमा भने पोलिसि सरेन्डर छैन । तीन बर्षसम्म पोलिसि सरेन्डर गर्न नपाउने कारण पनि अहिले लघुबीमा कम्पनीमा सरेन्डर हुने बेला भएको छैन ।
समीक्षा अवधीमा एलआईसी नेपालमा सबैभन्दा धेरै रकमको पोलिसि सरेण्डर भएको छ । उक्त कम्पनीमा एक अर्ब २२ करोड ९६ लाख रुपियाँ बराबरको सात हजार ७३१ वटा पोलिसि सरेन्डर भएको तथ्यांकमा उल्लेख छ ।
दोस्रो नम्बरमा भने नेपाल लाइफ इन्स्योरेन्स कम्पनी छ । यो सबैभन्दा ठूलो जीवन बीमा कम्पनी पनि हो । उक्त कम्पनीमा एक अर्ब आठ करोड ५४ लाख रुपियाँ बराबरको छ हजार ५४६ वटा पोलिसि सरेण्डर भएको छ । तेस्रोमा राष्ट्रिय जीवन बीमा कम्पनी रहेको छ । उक्त कम्पनीमा २७ करोड ४३ लाख रुपियाँ बराबरको दुई हजार ७४२ वटा पोलिसि सरेण्डर भएको छ ।
यस्तै, एशियन लाइफमा २४ करोड ८४ लाख रुपियाँ बराबरको दुई हजार २७२ वटा, नेशनल लाइफमा २३ करोड ६२ लाख रुपियाँ बराबरको एक हजार ५५४ वटा, सूर्यज्योति लाइफमा १९ करोड ३३ लाख रुपियाँ बराबरको एक हजार ५७४ वटा र हिमालयन लाइफमा १८ करोड २३ लाख रुपियाँ बराबरको दुई हजार १४ वटा पोलिसि सरेण्डर भएको छ ।
मेट लाइफमा १० करोड ६३ लाख रुपियाँको ९९५ वटा, सानिमा लाइफमा सात करोड ७८ लाख रुपियाँको ५३७ वटा, आईएमई लाइफमा पाँच करोड ११ लाख रुपियाँको ४७० वटा, प्रभु महालक्ष्मी लाइफमा चार करोड ६९ लाख रुपियाँको ३५४ वटा, सिटिजन लाइफमा चार करोड ४९ लाख रुपियाँको ५८८ वटा, रिलायवल नेपाल लाइफमा दुई करोड ९८ लाख रुपियाँको ४८७ वटा र सन नेपाल लाइफमा एक करोड १७ लाख रुपियाँको १९३ वटा पोलिसि सरेण्डर भएको देखिन्छ ।
कम्पनीमा जति धेरै संख्या र रकममा बीमा हुन्छ, त्यति नै धेरै संख्या र रकममा पोलिसि सरेण्डर हुने जोखिम बढी हुन्छ । तर, अनुपातमा भने धेरै अन्तर नहुन पनि सक्छ ।
समीक्षा अवधीमा ठूला जीवन बीमा कम्पनीहरुले ४१ अर्ब आठ करोड एक लाख रुपियाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । त्यसको ९.३१ प्रतिशतको अनुपातमा पोलिसि सरेण्डर भएको देखिन्छ ।
बीमितले पाँच बर्ष, १० बर्ष, १५ बर्ष जस्ता निश्चित अवधी तोकेर बीमा गरेका हुन्छन् । त्यसको लागि बार्षिक रुपमा किस्ता तिर्नुपर्छ । यदि, सम्झौता अवधीभर बीमालाई निरन्तरता दिन नचाएमा बीमितले आवश्यक प्रक्रिया पुरा गरेर पोलिसि बन्द गर्न सक्नेछन् ।
बीमितले त्यही अवधीसम्म तिरेको बीमाशुल्क र आर्जित बोनस फिर्ता पनि पाउने छन् । यद्यपि, त्यसमा केही शुल्कहरु भने काटिनेछ । साथै, बीमा गरेको न्यूनतम् तीन बर्ष पूरा भएको हुनुपर्ने शर्त पनि रहेको छ ।
पोलिसि सरेण्डर नियमित प्रक्रिया पनि हो । तर, पछिल्लो समय देखिएको आर्थिक संकटका कारण अहिले बीमालेख सरेण्डन्डर बढ्दै गएको बीमा कम्पनीहरु बताउँछन् । पछिल्लो समय आर्थिक संकटका कारण आम मानिसहरुको क्रयशक्तिमा गिरावट आएको छ । कतिपय मानिसहरुले सहकारीमा भएको बचत फिर्ता नपाउँदा पनि बीमालेख नवीरकण गर्न सकेका छैनन् ।