बजार अनुगमनमा तीब्रता, आज को को परे कारवाहीमा ? हेर्नुहोस्

Advertisement

काठमाडौं । सरकारी अनुगमन टोलीले मंगलबार पनि विभिन्न माछामाशु बिक्री केन्द्र, किराना पसल, औषधि पसल, ग्यास बिक्री केन्द्रमा छापा मारी कैफियत भेटिएकाहरुलाई कारवाही गरेको छ । 

आपूर्ति मन्त्रालयअन्तर्गतको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागबाट भएको अनुगमनमा १० वटा व्यवसायिक फर्मलाई कारवाही गरिएको हो । 

Advertisement

माशु पसलहरु
कारवाहीमा परेकामध्ये नयाँ बजारको माँ भगवती मिट स्टोरमा मूल्यसूची नभएको, साइन बोर्ड नराखिएको र खान अयोग्य माशु राखिएको फेला परेको थियो । अनुगमन टोलीले खान अयोग्य ८३ किलो माशु नष्ट गरेको छ । 

त्यस्तै, चिकेन हट मिट शपले प्यान नम्बर नभएको नक्कली बिल प्रयोग गरेको पाइएपछि १३ प्याड नक्कली बिल जफत गरी कारवाही अगाडि बढाइएको छ भने नयाँ बजारकै न्यू गोर्खाली मिट शपमा खान अयोग्य माशु फेला पर्नुका साथै लेबल नभएको प्याकिङ माशु फेला परेको छ । 

औषधि पसल
ग्वार्कोस्थित वी एण्ड वी अस्पतालमा रहेको वीर फार्मेसी भ्याक्सिन राख्ने रेफ्रिजेरेटर घरायसी काममा प्रयोग गरेको, सरकारले तोकेको ९६ प्रकारको औषधिको मूल्य नराखेकोले मूल्यसूची राख्न निर्देशनसहित कारवाही अगाडि बढाइएको छ । 

किराना तथा खाद्य स्टोर
अनुगमन टोलीले मखनटोलका १२ वटा किराना पसलमा छापा मारी लवल नभएका काजु, किसमिस, पेस्ता जफत गरेर कारवाही अघि बढाएको जनाएको छ । तीनथानाको सिद्धिविनायक खाद्य स्टोरमा छापा मार्दा म्याद समाप्त भएका, लेबल नभएका, उत्पादन मिति र उपभोग मिति नखुलेका खाद्य वस्तु भेटिएपछि त्यसलाई सिलबन्दी गरी कारवाही थालिएको छ । 

ग्यास बिक्री केन्द्र
अनुगमन टोलीले तीन वटा ग्यास पसलमा छापा मारेको छ । कोटेश्वरस्थित त्रिवेणी ग्यास कलेक्शन सेन्टरमा अनुगमन गर्दा रित्ता आठवटा सिलिण्डरहरु तोकिएको तौलभन्दा परिणामको तौल भेटिएपछि सिलबन्दी गरी कारवाही थालिएको छ । 

त्यस्तै, ललितपुरको इनर्जेटिक र्टेडिङ हाउसमा पनि त्यत्ति नै संख्याका सिलिण्डरहरु बढी तौलमा भेटिएको छ भने बालकुमारीको सिद्धार्थ ग्यास कलेक्शन सेन्टरमा तीन वटा सिलिण्डर बढी तौलको भेटिएका छन् । सबै ग्यास पसलहरु सिलबन्दी गरी कारवाही अगाडि बढाएको आपूर्ति मन्त्रालयले जनाएको छ । 

Advertisement

Advertisement