काठमाडौं । गृहमन्त्री रवि लामिछानेले नेपालमा लगानीमैत्री वातारण रहेको दावी गर्दै ढुक्क भएर लगानी गर्न विदेशी लगानीकर्ताहरुसँग आग्रह गरेका छन् ।
सोमवार लगानी सम्मेलनमा उनले लगानीकर्ताहरुको समस्यालाई सरकारले बुझेको र सोहीअनुसारका समस्या समाधानका नीति निर्माणमा सरकार लागिपरेको जिकिर गरे ।
नेपालमा लगानी गर्नका लागि धेरै क्षेत्रहरु रहेको उल्लेख गर्दै लामिछानेले सरकार लगानीकर्ताहरुको सुरक्षाका लागि सबै किसिमबाट प्रतिवद्ध रहेको बताए ।
जग्गा मूल्याङ्कन गर्ने, जग्गा किन्ने र भाडामा दिने विषयमा धेरै जटिल समस्यालाई समाधान गरेको पनि उनको दावी छ । लामिछानेले वन लगायतका विभिन्न समस्याहरुमा पनि सरकारले समाधानका लागि विधेयकमार्फत ऐन बनाइ सहज बनाएको बताए ।
उनले नेपालका पर्यटन, विद्युत, आइटी, कृषि लगायतका क्षेत्रमा लगानी गर्न विदेशी लगानीकर्ताहरुसँग आग्रह गरे ।