अन्नपूर्ण आधार शिविर पदमार्गमा जाने पर्यटकलाई सुत्नकै समस्या

Advertisement

काठमाडौं । वसन्त ऋतृ लागेसँगै अन्नपूर्ण आधार शिविरको पदमार्गमा जाने पर्यटकको लर्को लाग्छ । पदयात्राका लागि यो पदमार्ग विश्व प्रख्यात पनि छ । यो मार्गमा पर्यटकका लागि खानपिनको खासै समस्या नभए पनि बास बस्न (सुत्न) भने समस्या हुने गरेको छ । 

सुत्ने समस्याका कारण जति पर्यटकहरुको अन्नपूर्ण पदमार्गमा आकर्षण छ, त्यति नै विकर्षण पनि छ । यस समस्याले उनीहरु दुखित छन् । पर्यटकहरुको चाहना खाना मिठो भन्दा पनि बस्न र सुत्नको लागि राम्रो प्रवन्ध होस् भन्ने रहेको छ । 

Advertisement

सर्वोच्च शिखर सगरमाथा २८ पटक चढेका विश्व कीर्तिमानी पर्वतारोही कामिरिता शेर्पा अन्नपूर्ण आधार शिविरबाट फर्किने क्रममा पर्यटकहरुले भोगेका समस्या सुनाउँदै भने, ‘यो रुट यात्राका लागि निकै राम्रो छ तर अन्नपूर्ण आधार शिविरसम्म पुग्ने क्रममा पर्यटकहरुले भोग्ने पीडा देखेर निकै नराम्रो लाग्छ । विदेशीहरुलाई बस्न, सुत्न साह्रै नै कठिनाई छ । रुमहरुको राम्रो प्रवन्ध छैन् ।’

यो पदमार्गमा हरेक ठाउँमा होटलको संख्या सीमित छ । हरेक ठाउँमा दुईदेखि चार वटा मात्र होटल छन् ।  शेर्पाका अनुसार छोरोङसम्म होटलले कोठाहरु भनेको जस्तो दिन्छ र पाउँछ । त्यहाँभन्दा माथि आधार शिविरसम्म भने सहज छैन् । एउटै कोठामा छ वटा बेड राखेको छ । त्यसमा साझेदारीमा बस्नुपर्ने हुन्छ । ठाउँ नपुगे एउटै बेड (खाँट)मा दुई पनि सुत्नुपर्ने हुन्छ । 

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले होटल थप्न अनुमति नदिँदा पनि यो समस्या आएको उनको भनाई छ । शेर्पाले भने, ‘यहाँँ पनि खुम्बु क्षेत्रको जस्तै एउटा रुममा दुई वटा बेड बनाएर त्यहीअनुसार पैसा लिए पर्यटकलाई यस्तो दुःख हुन्थेन ।’ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले हरेक विदेशी पर्यटकबाट तीन हजार रुपियाँ अशुल गर्दै आएको छ । पैसा संकलन भए पनि त्यसबाट कुनै विकास नगरेको कामिरिता शेर्पाले बताए । 

उनले बाटोको अवस्था पनि राम्रो नरहेको बताए । पर्यटकसँग अशुलेको करबाट बाटो राम्रो बनाइदिनुपर्ने शेर्पाको माग छ । बेम्बो भन्ने ठाउँभन्दा माथि अन्नपूर्ण संरक्षण क्षेत्रले बाटो बनाउनुपर्ने उनले जोड दिए । विदेशीहरुसँग पैसा मात्र अशुल्ने होइन, विदेशी हिंड्ने बाटोघाटो राम्रो बनाउन पनि सरकारको ध्यान जानुपर्ने उनले बताए । 

उनले ‘ट्रेकिङ गाइड, ट्रेकिङ कम्पनी र पर्यटन क्षेत्रले वर्षमा २०–३० हजार पर्यटक भित्राउँछ । अन्नपूर्ण पदमार्गमा ५० जना पर्यटक गर्यो भन्ने रुम पाउँदैन् भन्दै ’‘शेयरिङ गरेर सुत्ने कुरामा केटा–केटा वा केटी–केटी हुँदा खासै समस्या हुन्न । केटा–केटी मिक्स भएर शेयरिङ गर्नुपर्यो भने गाह्रो हुन्छ । गाइडलाई टर्चर हुन्छ ।’ 

अन्नपूर्ण पदमार्गका पदयात्रीहरुलाई आफूले २० वर्ष अगाडिदेखि पदयात्रा गराउँदै आएको स्मरण गर्दै उनले तर आजको दिनसम्ममा पनि केही परिवर्तन नभएको बताए । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले अन्नपूर्ण आधार पदयात्रामा प्रत्येक ठाउँमा चार–पाँच वटा होटलहरु थप्न दिनुपर्ने शेर्पाले बताए । 

उनले भने, विदेशीहरुले मसँग पनि गुनासो पोख्दै आएका छन् रुम शेयरिङ गर्नुपर्दाको कठिनाईबारे । यो पदमार्ग नजिक छ । तर बाटो होटलका रुमहरु हेर्दा आउन मन नलाग्ने बताउने गरेका छन् । धेरै गुनासो छ उनीहरुको । रुमहरु सरकारी स्कूलको कक्षा कोठा जस्तो छ भन्छन ।’ अन्नपूर्ण पदमार्गमा अर्को जोखिम भनेको हिमपहिरोको भएको शेर्पाको भनाई छ ।

Advertisement

Advertisement