पाँच लाख घरधुरीमा ग्यास चुलो विस्थापित गरी विद्युतीय चुलो पुर्याउने परिसंघको योजना

Advertisement

काठमाडौं । मुलुकका पाँच लाख घरधुरीमा एलपी ग्यासचुलोे विस्थापन गरिने भएको छ । स्वदेशमा उत्पादित विद्युत्को खपत बढाउन विद्युतीय (इन्डक्सन) चुलोले ग्यासचुलो विस्थापन गर्न लागिएको हो । नेपाल उद्योग परिसंघ (सिएनआई)ले मुलुकमा ग्यासको आयात प्रतिस्थापन गर्न घर–घरमा विद्युतीय चुलो अभियान सुरु गर्न लागेको हो । 

पाँच लाख घरधुरीमा विद्युतीय चुलो प्रयोगमा ल्याउँदा कम्तीमा पाँच सय मेगावाट विद्युत् खपत बढ्ने परिसंघको इनर्जी डेभलपमेन्ट काउन्सिलका सभापति ज्ञानेन्द्रलाल प्रधानले जानकारी दिए । ‘परिसंघले सरकारसँग सहकार्य गरेर आगामी आर्थिक वर्षको बजेटमै ‘एक घर, एक विद्युतीय चुलो’ कार्यक्रम समावेश गरेर अगाडि बढ्न खोजेको छ,’ काउन्सिलका सभापति प्रधानले भने । 

Advertisement

पर्यटकीय नगरी पोखराबाट पर्यावरणमैत्री विद्युतीय चुलो प्रयोगको अभियान थालनी गर्ने सोचमा परिसंघ छ । पहिलो चरणमा पोखरालाई विद्युतीय चुलो प्रयोग गर्ने ‘मोडल भिलेज’ बनाएर अगाडि बढ्न लागेको प्रधानले बताए । पोखरा, काठमाडौं हुँदै विभिन्न सहर र बिजुली पुगेका गाउँ–गाउँमा विद्युतीय चुलोको प्रयोग बढाउँदै लैजाने योजना रहेको उनले सुनाए । 

विद्युतीय चुलोको थालनी गर्न अर्थ मन्त्रालय, ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, स्वतन्त्र ऊर्जा उत्पादक संघ नेपाल (इप्पान)लगायतसँग प्रारम्भिक छलफल भइरहेको प्रधानले जानकारी दिए । 

नयाँपत्रिका दैनिकबाट ।

Advertisement