समाजका उदाहरणीय जोडी

Advertisement

समाजमा अहिले पनि श्रीमान श्रीमतीभन्दा बढी पढेको हुनुपर्ने मान्यता व्याप्त छ । जागिरमा पनि ठूलो । उमेरमा ठूलो भए राम्रो मानिन्छ । तर केही अपवाद पनि छन् । समाजले त्यस्ता अपवादको पहिचान र जानकारी राख्नुपर्छ । यस्तै मध्येका एक हुन्, सुबास नेपाली, ३५ । नेपाली अहिले सोलुको इलाका प्रहरी कार्यालयमा जवान पदमा कार्यरत छन् । गएका १४ वर्षदेखि उनी जुन पदमा भर्ना भए, त्यो पदभन्दा माथि उक्लेका छैनन् । 

कुरोको चुरो बल्ल शुरु हुन्छ । करिव १० वर्षअघि सुवासले सुजनकुमारी बर्देवालाई भेटेका थिए, कुनै कामको शिलशिलामा । परिचय भयो । कुराकानी हुन थाल्यो । फोनले सकारात्मक भूमिका खेल्यो । सुजन लोकसेवाको तयारीमा थिइन् । ७० सालमा प्रशासनतर्फको अधिकृतमा नाम निकालिन् । खुशी हुनुपर्ने सबै भए । 

Advertisement

सुजनको पोष्टिड.एयरपोर्टमा भयो । करिअरको उडान भरिंदै थियो । दुवैले बिहे गर्ने निर्णय गरे । समाजको संरचनाअनुसार नै होला, सुवासको घरमा अधिकृत बुहारी आउने कुराले उमंग नै ल्यायो । तर सुजनको घरमा किचलो नै भयो । प्रहरी जवानसँग अधिकृत छोरीको बिहे कदापी हुन दिन्न भन्ने आमाको अडानले तनाव नै सिर्जना गर्यो । ऐन, केन सुजनले सम्झाइन् । ७२ साल बैशाख १२ गते गएको भूकम्पले सुजनको धमधडाका बिहे गर्ने सोचाइ कार्यान्वयन हुन दिएन ।  बैशाख १५ गते परिवारका सदस्यमात्रै भेला भएर बिहेको कर्म पुरा गरे । सुजन भन्छिन्, ‘बग्गीमा बसेर दुलही हुने रहर थियो, भूकम्पले त्यसो निं हुन दिएन ।’ बिहेपछि सुजनको गृहमन्त्रालयमा सरुवा भयो । सुवासको महाराजगंज प्रहरीबृत्तमा । 

व्यवसायिक काममा केन्द्रित
बिहे अघि सुजनले जनप्रशासन विषयमा स्नातकोत्तर गरेकी थिइन् । पढ्ने धित मरेकै थिएन । बिहे गरेकै सालको अन्तिममा छोरा जन्माइन् । छोरो २२ दिनको हुँदा कानुनको जाँच शुरु भयो । सुत्केरी अवस्थामा नै दिएको जाँचले निं सफलता दियो । त्यसपछि राजनीतिशास्त्र र ग्रामिण विकासमा पनि स्नातकोत्तर गरिन् । भन्छिन्, ‘आफूले त डिग्रीको चाड. पारें । बुढाको त स्नातक पास मात्रैको सर्टिफिकेट थियो । उहाँलाई पनि पढ्न हौस्याएँ । स्नातकोत्तर र एलएलवि गराएँ ।’ सुवासको बुझाइमा सुजनका परिवारका सदस्य सबैले स्नातक गरेका थिए । आफ्नो श्रीमान पदमा पनि कम र पढाइमा पनि भन्ने कुराले पिरोलिएर उनले पढ्न हौस्याइन् । सफल बनाइन् । सुवास भन्छन्, एकरात पढेको भरमा पनि परिक्षामा सामेल भएँ र पास गरें । 

सानो बच्चा हुर्काउँदै जागिर खाइरहँदा सुजनको सरुवा अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा भयो । अख्तियारमा काम गर्दागर्दै सुजनले दोश्रो सन्तान पनि छोरा नै जन्माइन् । अब दुबैको दैनिकी व्यस्त बन्यो । सुवासले १४ वर्ष जागिरे जीवनमा सँधै मुद्धा फाँटमा काम गरे । बिहानदेखि बेलुकीसम्म काममैं । सुजन पनि उस्तै । सहयोगि र ८६ वर्षिया हजुरआमाको रेखदेखमा छोराहरु हुकिंदै थिए । सानो छोरा ७ महिनाको हुँदा सुजन र सुवास दुबैको सोलु सरुवा भयो । भरिसक्य श्रीमान श्रीमतीले एकै ठाउँ जागिर खान पाउने चलन अनुरुप उनीहरु संगै सोलु जान पाए । 

सपना पुरा हुँदै 
तेह्रथुमको छातेढुड्गामा जन्मिएकी सुजनकुमारी एसएलसी पास गरेपछि नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय, तेह्रथुम पुगिन् । नागरिकतामा प्रमुख जिल्ला अधिकारीले हस्ताक्षर गरेपछि मात्रै नागरिकता पाइने कुराले चकित भइन् । र, सोच बनाइन्, म पनि एकदिन यस्तै हस्ताक्षर गर्ने मानिस बन्छु । पढाइमा सँधै राम्रो गर्ने शिक्षक पिताकी छोरी सुजन सपना साकार पार्न बिपनामा त्यहि बाटो हिंड्न थालिन् । सरकारी सेवामा नाम मात्रै निकालिनन् । शुरुको पोष्टिंग नै गृहमन्त्रालयमा भयो । उज्यालो अनुहार पार्दै थपिन् , तँ सोच, म पुर्याउँछु भने झैं भयो । जागिर शुरु गरेको छ वर्ष पुग्दै थियो । सुजनको सरुवा सोलु सिमा प्रशासन कार्यालयको प्रमुखका रुपमा भयो जहाँ विकट पाँच गाविसका नागरिकको नागरिकता बन्छ । सुजनले हस्ताक्षर गर्छिन् । 

नागरिकता लिन आउनेलाई कुनै झिंजो बेगर काम फत्ते गरिदिन्छिन् । आफू एकदिन हिंडेर नागरिकता लिएको विर्षेकी छैनन् । र, नागरिकता जन्म, मृत्यु र बिबाह यी तिनै कर्मकालागि महत्वपूर्ण दस्तावेज हो भन्ने पनि उनलाई ज्ञान छ । भन्छिन्, भरिसक्य छिटो छरितो होस भन्नेमा ध्यान दिन्छु । 

ढुंगाको भर माटो 
भनिन्छ, सफल पुरुषका पछाडी महिलाको हात हुन्छ । तर सफल महिलाका पछाडी पुरुषको पनि उत्तिकै हात हुन्छ भन्ने बुझ्न सुवास र सुजनको जोडीलाई हेरे पुग्छ । श्रीमती सोलु गएपछि उतै गएका सुवासले सुजनलाई कार्यसम्पादनमा पनि मद्धत पुर्याएका छन् । कर्मचारी दरवन्दि कहिल्यै पुरा नहुने ठाउँमा काम सजिलो छैन । आफ्नो ड्युटी सकेर सुवासले टाइपिडदेखि परामर्शको काम पनि सघाउँछन् । सघाउने मामलामा जतापनि सुवास नै अब्बल छन् । यो सुजनको अनुभव हो । 

प्रहरी जवान सुवासलाई असुहाउँदो प्रश्न तेस्र्याइयो । श्रीमतीलाई स्यालुट पनि त हानिन्छ होला ? बडो सरल रुपमा प्रस्तुत हुँदै तिनले प्रतिप्रश्न गरे, घरमा ? कार्यालयमा त उहाँ , सुजनलाई देखाउँदै...मेरो हाकिम हो । हाकिमलाई जे व्यावहार गर्ने हो त्यहि गरिन्छ । कामका मामलामा सुवास कुनै कमजोर मानिस होइनन् । उनले गरेका कामको फल स्वरुप सातवटा पदक, विभूषण र पुरस्कार पाएका छन् । नभएको त खालि बढुवा मात्रै हो । 

सुवास कंम्पयुटरमा पनि पोख्त छन् । यसबारेको रोचक अनुभव छ उनीसँग । केही वर्ष अघि संचयकोषले सहायक कंम्प्युटर पदमा आवश्यकता प्रकाशित गर्यो । साधरणदेखि पेजमेकिड. लगायत सबै प्रोग्राम उनलाई आउँथ्यो । टाइपिड.को स्पिड पनि उनकै हाइ थियो । नेपाली र अंगे्रजी दुवै भाषामा टाइपिड. गर्नेमध्ये उनी अब्बल थिए । नाम निस्कन्छ भनेर उनलाई नै सबैले औंल्याएका थिए । तर नाम निस्केन । भन्छन्, मेरो प्रस्तुती कमजोर भयो होला । 

अबको इच्छा 
सुवासलाई सुजन नेपाल सरकारको सचिव होस भन्ने बाहेक ठूलो इच्छा छैन । भन्छन्, अब मेरो ध्यान त्यसैमा केन्द्र्रित हुन्छ । यता सुजनको सोच पनि सचिव हुने नै छ । अबका केही वर्षपछि उनले सिधै उपसचिव या सहसचिवमा खुल्ला प्रतिस्पर्धा गर्नेछिन् । सुवासले एलएलवी पास गरेकै छन् । ल फर्म खोल्ने विचारमा छन् । यसमा सुजनको सहमती छ । ठट्टाको भावमा भन्छिन्, उहाँ १४ वर्षे प्रहरी जवान हो । 

Advertisement