हेलम्बुका युवा पुनः ट्राउट माछा व्यवसायमा फर्किन थाले

Advertisement

काठमाडौँ- सिन्धुपाल्चोकको हेलम्बुमा सञ्चालित ट्राउट फार्मबाट वार्षिक ६० टनभन्दा बढी माछा उत्पादन हुने गरेको थियो। सोचे अनुसारको आम्दानी हुने भएकाले पछिल्लो समय युवाले सो व्यवसायमा लगानी बढाउँदै गएका थिए। उनीहरूले एउटा ‘ट्राउट फार्म’का लागि मात्रै कम्तीमा चार करोड रुपैयाँ लगानी गरेका थिए।  मेलम्ची करिडोर माछा पालन व्यवसायका लागि राम्रो मानिदै थियो। 

गत वर्षको अकल्पनीय बाढीले यहाँका सबै माछा फार्ममा क्षति पुर्‍याएपछि व्यवसायीको अर्बौं लगानी डुबेको थियो। उनीहरू व्यवसायबाट विस्थापित जस्तै भएका थिए। सरकारले बेवास्ता गरेपनि युवाहरू ऋण लिएरै भए पनि पुनः व्यवसायमा फर्किन थालेका छन्।

Advertisement

मेलम्ची बाढीका कारण पूर्णरूपमा विस्थापित भएका हेलम्बुका ट्राउट व्यवसायी जीविकोपार्जनकै लागि अहिले यही पेसामा फर्किन थालेका छन्। भौतिक संरचनासहित ट्राउट माछाको लागि प्रख्यात मेलम्ची करिडोरमा आठ फार्मका दुई अर्बभन्दा बढीको लगानी डुबेपछि व्यवसायी अहिले पनि ऋणमा छन् तर जीविकोपार्जनको लागि आफ्नो पुरानो सीप र ज्ञानको प्रयोग गर्दै ऋण गरेरै व्यवसायमा फर्किन थालेको व्यवसायी कुलबहादुर खड्काले जानकारी दिए। 

अहिले हेलम्बुको तिम्बुसहितका चार  स्थानमा ट्राउट माछा फार्म बनिरहेका छन्। अनुकूलताअनुसार जग्गा व्यवस्थापनसहित भौतिक संरचना निर्माण चलिरहेको छ। केही फार्ममा भर्खर भुरा माछा हालिएको छ। ऋण गरेर सञ्चालन गरेको व्यवसाय क्षणभरमै बगर बन्दा पुनः ठूलो हिम्मत जुटाएर जीविकोपार्जनकै लागि व्यवसायमा फर्किएकाले आफूहरूलाई सरकारले उचित सहयोग गर्नुपर्ने हेलम्बुका व्यवसायी युवराज खड्काले माग गरे।

मेलम्ची नदी तटीय क्षेत्रमा सञ्चालित ट्राउट फार्म तथा रिसोर्टबाट रोजगारी पाइरहेका ९० भन्दा बढी युवा बाढीकै कारण विदेश पलायन भएका छन्। करोडौँ ऋणमा डुबेका व्यवसायीलाई सरकारले उचित सहयोग गर्नुपर्ने र यसको लागि निरन्तर पहल भइरहेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्यालजेन शेर्पाले जानकारी दिए।

काठमाडौँ उपत्यकासहित नुवाकोटसम्म निर्यात हुने ट्राउट माछा खानकै लागि बाक्लो मात्रामा पर्यटक हेलम्बु आइपुग्ने गरेका थिए। मेलम्ची खोलाको पहिचान बनेको ट्राउट माछा फार्मले पुन हेलम्बुमा पर्यटन प्रवद्र्धन गराउनसमेत ठूलो मद्दत पुग्ने आशा गरिएको छ । यसको लागि सरकारले पनि व्यवसायीलाई उचित सहयोग गर्नुपर्ने यहाँको स्थानीयको बुझाइ छ।

Advertisement

Advertisement