बाढीले क्षति पुगेको सुपर माई ए र सुपर माई क्यासकेडको दावी भुक्तानी गर्न नेकोको आनाकानी

Advertisement

काठमाडौँ । नेको इस्योरेन्स कम्पनीले एक जलविद्युत बीमा कम्पनीलाई दाबी भुक्तानी गर्न अटेर गरेको पाइएको छ । नेकोले सगरमाथा जलविद्युत् कम्पनीलाई क्षति भएर दावी भुक्तानी गरेको झन्डै एक वर्ष भइसक्दा पनि रकम भुक्तानी गर्न आनाकानी गर्दै आएको हो । 

जलविद्युत कम्पनीले सबै कागजी प्रक्रिया पूरा गर्दा पनि झन्डै एक वर्षसम्म बीमा दाबी भुक्तान दिन आलटाल 
 गरिएको गुनासो गरेको छ । गत वर्ष २०७८ कात्तिक २ गते आएको बेमौसमी बाढीले इलाममा रहेको ९.६ मेगावाट क्षमताको सगरमाथा जलविद्युत कम्पनीको सुपर माई ए जलविद्युत् आयोजना तथा तीन मेगावाट क्षमताको सुपर माई क्यासकेड जलविद्युत् आयोजनालाई क्षति पुर्याएको थियो । 

Advertisement

बाढीले आयोजनामा क्षति भएपछि कम्पनीले बीमा गरेको कम्पनी नेको इन्स्योरेन्सलाई क्षतिको जानकारीसहित दाबी भुक्तानीको लागि चाहिने प्रक्रिया पूरा गरेर ‘डकुमेन्ट पठाएको ११ महिना भएको कम्पनीका व्यवस्थापक सन्दीप अधिकारीको भनाई छ । 

तर  अहिलेसम्म रकम भुक्तानीका लागि नेकोले कुनै चासो नदिएको उनले बताए । प्रत्येक वर्ष महँगो प्रिमियम तिर्नुपर्ने तर दुर्घटना तथा क्षति हुँदा बीमा गराउने कम्पनीले समयमै भुक्तानी नदिंदा करोडौं क्षति हुने गरेको अधिकारीको गुनासो छ । 

बीमा दाबीबापत दुई कम्पनीको गरी झन्डै रु सात करोड ५७ लाख (लस अफ प्रोफिट– एलओपी) बाहेक बीमा दावी भुक्तानीको लागि पटक–पटक कम्पनीमा धाउँदा पनि नेकोको कर्मचारीले सर्भेयरबाट प्रतिवेदन नआएको भन्दै जवाफ दिने गरेको सगरमाथाको गुनासो छ ।

यता बीमा बापतको भुक्तानी दिनुपर्ने नेको इन्स्योरेन्सले आफूले खटाएको सर्भेयरलाई पटक–पटक ताकेता गरे तापनि प्रतिवेदन नदिएको दावी गरेको छ । नेकोका दाबी भुक्तानी शाखाका प्रमुख जनक शर्मा पराजुलीले प्रक्रियाअनुसार काम हुने र सर्भेयरबाट प्रतिवेदन नआएको कारण भुक्तानी रोकिएको बताएका छन् । प्रतिवेदन आएको सात दिनमै भुक्तानी गर्ने पराजुलीको भनाई छ । 

यस्तै, सर्भेयर ओमप्रकाश राठीले प्रतिवेदन बनाउन अझै केही महिला लाग्ने बताएका छन् । उनले आफू प्रतिवेदन बनाउनेतर्फ लागेको पनि बताएका छन् । 

बीमा समितिका प्रवक्ता राजुरमण पौडेलले जलविद्युत क्षेत्रमा भएको क्षतिमा सर्भेयरले प्रारम्भिक प्रतिवेदन दिएपछि पूर्ण अध्ययन गरेर अन्तिम प्रतिवेदन दिएको ३५ दिनभित्र दाबी फच्र्योट गर्नुपर्ने व्यवस्था रहेको जानकारी दिए । उनले कतिपय बीमा कम्पनीले बीमाको भुक्तानी समयमा नगर्ने गरेको गुनासो समितिमा आउने गरेको र समितिले यसलाई गम्भीरतापूर्वक लिएको बताए ।

बीमा समितिका अध्यक्ष सूर्य सिलवालले बीमा कम्पनीहरुले आफ्ना ग्राहक वा बीमितलाई बीमा गराउनका लागि जुन प्रकारले पहल गरेका हुन्छन्, तर दाबी भुक्तानीमा भने अनेक झन्झट दिने गरेको बताए छन् । कम्पनीले दाबी परेपछि वर्षौंसम्म बीमितलाई अल्झाएर राख्ने र दाबी भुक्तानी समयमा नै नगर्ने भएका कारण बीमा कम्पनीप्रति जनविश्वास कम हुँदै गएको सरोकारवाला बताउँछन् ।

बीमा कम्पनी र सर्भेयरको मिलोमतोका कारण जलविद्युत् कम्पनी समस्यामा पर्न थालेका छन् । बीमा कम्पनीले क्षति पुगेका जलविद्युतमा खटाएका सर्भेयरले कम्पनीको निर्देशनमा ढिलो गरी विवरण दिने र कतिपय अवस्थामा प्रतिवेदन नै नदिने गरेको देखिन्छ । 

Advertisement

Advertisement