लिलाम नहुँदा भन्सारमा करोडौंका गाडी खिया लागेर गए

Advertisement

बेदकोटः चोरी, तस्करी तथा विभिन्न घटनामा बरामद गरिएका सवारीसाधन चार वर्षयता कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा थन्किएका छन् । लिलाम गर्न ढिलाइ हुँदा गाडी भन्सार कार्यालयमै जीर्ण हुँदै गएका छन् ।     
     
विगतमा कोरोना महामारीका कारण लिलाम प्रक्रिया अगाडि बढ्न सकेको थिएन । कञ्चनपुर भन्सार कार्यालयमा करिब चार सयको सङ्ख्यामा दुईपाङ्ग्रे र २० वटा चारपाङ्ग्रे सवारी तथा ढुवानी साधन छन् ।         
जिल्लाका विभिन्न क्षेत्रबाट चोरी–पैठारी, भारतीय नम्बरको गाडीमा नेपाली नम्बर राखेकालगायतका सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाउने गरेको छ ।     
     
भन्सार कार्यालयमा रहेका गाडीमध्ये सबैभन्दा बढी भन्सार प्रक्रिया पूरा नगरेका भारतीय नम्बरका मोटरसाइकल रहेका छन् । यस्तै भन्सार शुल्क नतिरी विभिन्न सामान चोरी, पैठारी गरिरहेका अवस्थामा नियन्त्रणमा लिइएका नेपाली गाडी पनि भन्सार कार्यालयको गोदाममा थन्किएका छन् ।     
     
यसअघि २०७५ सालको वैशाख, जेठतिर गरिएकोे लिलामबाट भन्सार कार्यालयले झण्डै रु चार करोड राजस्व असुली भएको थियो । दसैँ, तिहारपछि गाडी लिलाम हुने कञ्चनपुर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धुव्रराज विश्वकर्मा बताउँछन् ।     
     
उनले भने, ‘यातायातको इञ्जिनीयरले सबै गाडी हेरिसक्नुभएको छ, त्यसको रिपोर्ट तयार भइरहेको छ । रिपोर्ट प्राप्त गरेपछि मूल्याङ्कन समितिले मूल्य निर्धारण गरेर लिलामको सूचना निकाल्ने तयारी छ ।’
     
विगतमा कोरोनालगायत विभिन्न कारणले गाडी लिलाम गर्नमा ढिलाइ भए पनि अब भने त्यस्तो नहुने विश्वकर्माको दाबी छ । उनले भने, ‘कर्मचारी अपुग भएकाले लिलामका लागि ०७८ साल माघमा विभागबाट कर्मचारी थप तथा काजमा मागेका थियौँ, त्यस पछि गाडीको चेसिज, इन्जिन हेरेका थियौँ । लिलाममा ढिलाइ हुदा गाडीको मूल्य घट्ने हुनाले त्यसो नहोस् भनेर आर्थिक वर्ष २०७८÷७९ मा सक्ने चाहना थियो, तर प्रावधिक कारणले गर्न सकेनौँ, अब यसमा एक–दुई महिनाभन्दा बढी लाग्दैन ।’

Advertisement

Advertisement

Advertisement