नेप्से ८८ अंकले तल झर्दा पौन १४ अर्बमा समेटियो कारोबार, के होला आगामी साता ?

Advertisement

काठमाडौं । पुस १० गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार बनेसँगै बढ्न थालेको शेयर बजार फेरि निरन्तर घट्न थालेको छ । 

पुस ११ गते अर्थमन्त्रालयको कमाण्ड विष्णु पौडेलले सम्हालेपछि बजारले बिस्तारै उचाई लिन थालेको थियो । 

Advertisement

तर नयाँ सरकार बनेको महिना दिन नपुग्दै बजार ओरालो लाग्न थालेको छ । यो साताको अन्तिम दिन हिजोसम्म आइपुग्दा बजार २१ सय अंकबाट तल झरेको छ । 

पछिल्लो समय गृहमन्त्री रवि लामिछानेको नागरिकता प्रकरण, सांसद र मन्त्रीबाट बर्खास्त, सत्ता गठबन्धनभित्र उत्पन्न असहज परिस्थिति तथा मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको पर्खाइले बजार घटेको हुन सक्ने विश्लेषकहरुको आंकलन छ । 

यस्तो रह्यो यो साताको बजार
यो साता समग्रमा ८८.५४ अंकले बजार तल झरेको छ । साताको पाँच दिन मध्ये ४ दिन बजार घट्यो भने बुधबारमात्रै झिनो सुधार देखिएको थियो । साताको अन्तिम दिन बिहीबार नेप्से २०९४.५४ अंकमा अडिएको छ । 

साताको पहिलो दिन १४.६८, दोस्रो दिन ४१.०१, तेस्रो दिन १५.७० अंकले ओरालो झरेको बजार चौथो दिन बुधबार भने ४.९७ अंकले उकालो चढेको थियो । साताको अन्तिम दिन बिहीबार बजार पुनः २२.१२ अंकले ओरालो झरेको हो । 

१३ अर्ब ८१ लाखमा समेटियो कारोबार
बजार तल झरेसँगै कारोबार रकम पनि घट्न गयो । साताको पाँच दिनमा कूल १३ अर्ब ८१ लाख ७७ हजार २ सय ६६.८९ रुपियाँ बराबरको मात्रै कारोबार भएको हो ।

यसैक्रममा साताको पहिलो दिन आइतबार ३ अर्ब १ करोड ७९ लाख ६३ हजार ९ सय ५६.४७ रुपियाँ, सोमबार ३ अर्ब ३० करोड २२ लाख १ हजार ८ सय २५।९३  रुपियाँ, मंगलबार २ अर्ब ८२ करोड ४५ लाख ४० हजार ४ सय ६.६१ रुपियाँ, बुधबार १ अर्ब ७६ करोड ७० लाख ५१ हजार ९ सय १६ रुपियाँ र साताको अन्तिम दिन बिहीबार २ अर्ब ९ करोड ६४ लाख १९ हजार १ सय ६१.८८ रुपियाँ बराबरको कारोबार भएको थियो । 

राष्ट्र बैंकलाई लगानीकर्ताको चार बुँदे सुझाव
नेपाल इन्भेष्टमेन्ट फोरमका अध्यक्ष तुलसीराम ढकाल, शेयर लगानीकर्ता संघका कार्यवाहक अध्यक्ष ताराप्रसाद फुल्लेल र नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले राष्ट्र बैंक समक्ष चार बुँदे माग गरेका छन् । 
१. १२ करोडसम्मको शेयर कर्जाको सिमाले शेयरबजारलाई निरुत्साहित गरेकोले सो व्यवस्थालाई फिर्ता लिनका लागि अनुरोध गर्दछौं ।

२. आव २०७९/८० को आषाढ १ गते देखि शेयर कर्जामा लगाईएको १५० प्रतिशतको जोखिम भारित औसतलाई १०० प्रतिशत नै कायम गरिदिनुहुन अनुरोध गर्दछौं ।

३. विद्यमान व्याजदर उच्च हुन गई लगानी निरुत्साहित हुन गएकोले उक्त व्याजदरमा पुनरावलोकन गरी एकल अंकमा कायम गरिदिनु हुन अनुरोध गर्दछौं ।

४. तरलता समस्याले देशको अर्थतन्त्रमा नकारात्मक अवस्था श्रृजना हुन गएकोले उक्त समस्याको तत्काल समाधान गर्ने व्यवस्था गरिदिनु हुन अनुरोध गर्दछौं ।

 

Advertisement

Advertisement