तीन पालिका जोड्ने कृषि पर्यटन मार्ग कालोपत्रे

Advertisement

तनहुँ । तीन पालिका जोड्ने लोचाडाँडा कृषि पर्यटन मार्गमा कालोपत्रे गरिएको छ । व्यास नगरपालिका–५ मानुङकोट, म्याग्दे गाउँपालिका–१ धारादी र भीमाद नगरपालिका जोड्ने उक्त मार्गमा कालोपत्रे गरिएको हो ।  

व्यास र म्याग्देको मुख्य मार्ग रहेको यस मार्गलाई भीमादमा जोडिएको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत कृषि पर्यटन मार्गको निर्माण अघि बढाइएको हो । 

Advertisement

उक्त मार्गको करिब २२ किलोमिटरअन्तर्गत एक हजार तीन सय मिटर कालोपत्र र दुई सय मिटर सडक ढलान गरिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । ठेक्का सम्झौतालगत्तै पर्याप्त मजदुर, उपकरण परिचालन र निर्माण सामग्री व्यवस्थापन गरी लक्ष्यअगावै कालोपत्र कार्य सम्पन्न गरिएको निर्माण कम्पनीका सञ्चालक सुवासचन्द्र कार्कीले जानकारी दिए । 

मङ्गलादेवी सुवास कन्स्ट्रक्सन कम्पनीले विसं २०७९ फागुन १४ गते सो सडक निर्माणका लागि रु चार करोड ४३ लाख ४० हजार पाँच सय २८ मा ठेक्का सम्झौता गरेको थियो । उक्त मार्गले तीन पालिकाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् । सडक कालोपत्र भएसँगै धुलो र हिलोबाट मुक्ति पाउँदा स्थानीय बासिन्दा खुसी भएका छन् । 

निर्माण कार्य पूरा भएको उक्त योजनाको अनुगमन गरेर निर्माण कम्पनीलाई काम सम्पन्न भएको प्रमाणपत्र र अन्तिम भुक्तानी प्रदान गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख कृष्ण आचार्यले बताए ।
    
त्यसैगरी, व्यास–११ मा सञ्चालित बाराही–रानीमार्ग आठ महिनाअगावै सम्पन्न गरिएको छ । एक हजार सात सय मिटर ‘प्रिमिक्स’ किसिमको कालोपत्र सम्झौता अगावै सम्पन्न गरिएको हो । निर्माण कम्पनी मङ्गलादेवी सुवास कन्स्ट्रक्सनले निर्माण थालेको उक्त दुवै योजनाको निर्माण कार्य लक्ष्यअगावै सम्पन्न भएको हो । 
 

Advertisement

Advertisement