वैदेशिक रोजगारीमा जानेमध्ये चितवनबाट उच्च, विदेश नजाने घर भेट्नै मुस्किल
प्रतीकात्मक तस्बिर ।

Advertisement

भरतपुर । वाग्मती प्रदेशबाट श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जाने जिल्लामध्ये चितवन पहिलो रहेको छ । वाग्मती प्रदेशका १३ जिल्लामध्ये चितवनमा यसवर्ष १५ हजार ८२३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृत लिएका छन् । 

श्रम स्वीकृत नलिई विदेश जानेको संख्या पनि उच्च रहेको वैदेशिक रोजगार एवं आप्रवासन र समी कार्यक्रमका कार्यक्रम संयोजक सूर्यप्रसाद पौडेलले बताए ।  

Advertisement

‘चितवनबाट उच्च शिक्षाका लागि अष्ट्रेलिया, अमेरिया, बेलायतलगायत युरोपका देशमा जानेको संख्या बढी छ,’ उनले भने, ‘विदेश नजाने घर भेट्नै मुस्किल हुन लागिसक्यो,’ उनले भने, ‘भरतपुर महानगरपालिकामा मात्रै ३४ हजार पाँच सय घरधुरीका कुनै न कुनै व्यक्ति वैदेशिक रोजगारीमा गएका छन् ।’

आर्थिक वर्ष २०७९/०८० मा नेपालबाट सात लाख ७१ हजार ३२७ जनाले श्रम स्वीकृत लिएको श्रम तथा रोजगार विभागको तथ्यांक छ । यसमध्ये वाग्मती प्रदेशबाट मात्रै एक लाख १६ हजार ९३२ जनाले श्रम स्वीकृति लिएका छन् । श्रम स्वीकृति लिनेमा चितवन जिल्लाबाट सबैभन्दा धेरै १५ हजार ८२३ जना छन् । 

धनुषापछि सबैभन्दा धेरै वैदेशिक रोजगारीमा जाने जिल्लामा चितवन रहेको संयोजक पौडेलले जानकारी दिए । यहाँबाट अघिल्लो आवमा एक हजार १६१ जनाले राहदानी बनाएका थिए । 

चितवनमा सबैभन्दा बढी भरतपुर महानगरपालिकाका ६ हजार ५६१ जनाले श्रम स्वीकृत लिएका छन् । त्यस्तै माडी नगरपालिकाबाट दुई हजार १२७, इच्छाकामना गाउँपालिकाबाट एक हजार आठ, रत्ननगर नगरपालिकाबाट एक हजार ४७१, कालिका नगरपालिकाबाट एक हजार ६७९, खैरहनी नगरपालिकाबाट एक हजार ६०८ र राप्ती नगरपालिकाबाट एक हजार २९१ जनाले श्रम स्वीकृत लिएका छन् । 

वैदेशिक रोजगारीका क्रममा चितवनमा ठगिनेसमस्या रहेको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा चालु आवमा १३६ निवेदन परेका थिए । त्यसमध्ये ६० प्रतिशत मानिसको विचौलियाले पैसा उठाएर भागेको निवेदन परेको थियो । स्वदेशमै रोजगारी सिर्जना गर्नका भरतपुर महानगरपालिका लागिपरेको उपप्रमुख चित्रसेन अधिकारीले बताए । 

‘अवैध रुपमा विदेश जानेको संख्या पनि कम छैन । भारतमा जानेको संख्या उत्तिकै छ,’ उनले भने, ‘हामी जनप्रतिनिधि यहाँ भएको साधन स्रोत, जल, जमिन, जंगललाई उपयोग गर्दै यहाँ भएको सीपलाई उत्पादनसँग जोड्नुपर्छ । यसका लागि हामी प्रयासरत छौँ ।’

Advertisement