छोरी–बुहारीलाई निःशुल्क स्नातक पढाएर रोजगारी दिँदै सूर्योदय

Advertisement

इलाम । सूर्योदय नगरपालिका–१ धजेकी सुजता बजगाई्रंलाई २०७४ सालमा कक्षा १२ उत्तीर्ण गरेपछि कसरी स्नातक अध्ययन गर्ने भन्ने चिन्ता थियो । तर, उनलाई नगरपालिकाले निःशुल्क पढायो । गाउँकै हिमालय माध्यमिक विद्यालयबाट १२ कक्षा उत्तीर्ण गरेकी उनी ‘नगरको इच्छा छोरी–बुहारीलाई शिक्षा’ कार्यक्रमअन्तर्गत पालिकाको शतप्रतिशत छात्रवृत्तिमा स्नातक उत्तीर्ण भइन् । हाल उनी स्नात्तकोत्तर अध्ययन गरिरहेकी छन् ।  

‘परिवारको सामान्य आर्थिक अवस्थाका कारण उच्च शिक्षा अध्ययनमा धेरैलाई समस्या छ,’ सुजताका बुबा प्रेमले भने, ‘हाम्रो नगरपालिकाले छोरीबुहारीलाई स्नातक पढाइरहेको छ, पैसाको अभावमा पढाइ छोड्नुपर्ने, पढाइ छोडेकै कारण कम उमेरमा विवाह हुने जस्ता समस्या बाट मुक्त बनाउन पालिकाको यो काम उदाहरणीय लाग्छ ।’ 

Advertisement

सूर्योदयले सो कार्यक्रम अन्तर्गत कर्फोक क्याम्पसमा शतप्रतिशत छात्रवृत्ति दिएर छोरी–बुहारीलाई पढाउन थालेको चार वर्ष बित्यो । नगरको छात्रवृत्ति कार्यक्रममा अहिलेसम्म १५३ छोरी–बुहारीले स्नातक अध्ययन गरिसकेका छन् । तीमध्ये २३ जनाले उत्तीर्ण गरेको करफोक क्याम्पस प्रमुख गोपाल कट्टेलले जानकारी दिए ।  यस वर्ष यहाँ छात्रवृत्तिमा अध्ययन गर्ने छोरी–बुहारीको संख्या २०० पुग्दै छ ।  

नगरपालिकाभित्रका छोरी र यहाँ विवाह भएर आएका बुहारीलाई पालिकाले छात्रवृत्तिमा स्नातक अध्ययन गराइरहेको नगरप्रमुख रणबहादुर राईले बताए । ‘हामीले स्नातक गरिसकेका विद्यार्थीलाई रोजगारी पनि दिँदै छौँ,’ उनले भने, “विद्यार्थीले पढेको संकाय, विषय र उनीहरूको योग्यताअनुसार विभिन्न काममा एक सय दिनको रोजगारी दिँदै छौँ ।’

नगरपालिकाले नगरबाट छात्रवृत्तिमा अध्ययन गरेका ‘छोरी–बुहारी’लाई सय दिनको रोजगारी दिने तयारी गरेको हो । छोटो समयका लागि भए पनि छात्रवृत्तिमा उत्तीर्ण भएका महिलालाई प्रोत्साहनस्वरुप रोजगारी दिन लागिएको नगर प्रमुख राईले बताए ।

Advertisement