आठ हजार उधारो तिर्नुपर्ने भएपछि जन्मिएको कम्प्युटर इन्जिनियरको चियापसल

Advertisement


जनकपुरधाम । सूचना प्रविधिको युग । त्यसैमा कम्प्युटर इन्जिनियरिङमा स्नातक अर्थात् ‘बिटेक’ गरिसकेको युवा । यस्तो युवाले के गरिरहेका होलान्, कल्पना गर्नुहोस् त ? सोही विषयमा स्नातकोत्तर अध्ययनको तयारीमा जुटेका, रोजेखोजेको कार्यालयमा सफ्टवेयर बनाइरहेका, बहुचर्चित विधा आर्टिफिसियल इन्टेलिजेन्स, साइबर सेक्युरिटीलगायत काममा नयाँ–नयाँ प्रयोग गर्न अभ्यस्त । त्यसै नभए पनि आफ्नो सीप र कला प्रयोग गरेर जीवनयापन गरिरहेका त पक्कै होलान् । हरेकको मानसपटलमा यस्तै चित्र बन्छन् ।  

तर धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१० देवीचोक निवासी कम्प्युटर इन्जिनियर राजेश कर्णको दिनचर्या भने हामीले कल्पना गरेभन्दा भिन्न छ । कम्प्युटरका पाटपुर्जा र थरिथरि सफ्टवेर बनाउन किबोर्ड चलाउनुपर्ने उनका हात यतिखेर स्वादिलो चियाका लागि चियापत्ती,पानी र चिनी अड्कल्दै छन् । 
जनकपुरधाम–२ स्थित किशोरी चोकमा एउटा सानो सटरमा चियापसल सञ्चालन गरिरहेका छन् राजेशले ।

Advertisement

घरी असरल्ल राखिएका चिया गिलास टिप्छन्, घरी चिया पकाउँछन् । सपना विश्वविद्यालयमा आर्जन गरेको कम्प्युटर शिक्षा प्रयोग गर्नेछ तर विपनामा भने यसैगरी चियाको मात्रा नापिरहेका छन् । ‘आफ्नै क्षेत्रमा काम गर्ने रहर त कसैलाई हुँदैन र ? त्यस्तै रहर मलाई पनि थियो । तर रहरले मात्रै कहाँ हुँदोरहेछ १ त्यसैको उदाहरण हुँ म,’ उनले भने, ‘रहरले हुँदैन । प्रविधिको ज्ञान त छ नि ! प्रयास गरेपछि कसो नहोला ? मसँग त रहर र सीप दुवै छ । प्रयास पनि कहाँ नगरेको हुँ र ?’

पछाडिबाट आवाज आयो, ‘दाई चिया !’ कुरा छाडेर काममा लागे उनी ।
 
‘मेरो त काम नै यस्तै छ । सुरुका केही दिन त नरमाइलो लाग्थ्यो, अहिले भने अभ्यस्त हुँदैछु,’ पाक्दै गरेको चिया चलाउँदै राजेशले भने, ‘पारिवारिक परिबन्द र खराब समय चलेपछि जति प्रयास गर्दा पनि हुँदैन रहेछ । विज्ञानमा विश्वास गर्ने म अचेल त भाग्यमा यस्तै गर्नुरहेछ भनेर चित्त बुझाइरहेको छु ।’
  
यसरी तुहियो सपना

जनकपुरधामस्थित एक निजी विद्यालयबाट विसं २०६६ मा पहिलो श्रेणीमा प्रवेशिका परीक्षा उत्तीर्ण राजेशले भारतबाट स्नातकसम्मको शिक्षा लिएका छन् । भारतको डाएनसी कलेज बेनीपट्टी, मधुबनीबाट प्लस टु साइन्स (प्रथम श्रेणी) र हिमाञ्चल प्रदेशस्थित बद्दी युनिभर्सिटी अफ इमर्जिङ साइन्स एण्ड टेक्नोलोजीबाट कम्प्युटर इन्जिनियरिङमा स्नातक ९बि–टेक०सम्मको अध्ययन पूरा गरेका छन् । 

सन् २०१८ मा स्नातकसम्मको पढाइ सकेपछि राजेशले विश्वविद्यालयकै सिफारिसमा मासिक ५२ हजार भारु पाउनेगरी चण्डिगढको एउटा कम्पनीमा काम सुरु गरिसक्नुभएको थियो । तर जनकपुरस्थित घरमा रहेकी आमा घाँटीको क्यान्सरबाट सिकिस्त भएपछि तीन महिनामै जागिर छाड्नुपरेको उनले सुनाए । 

‘स्नातक सकिएपछि काम सुरु गरिसकेको थिएँ, तर तीन महिनामै छाडेर नेपाल आउनुपर्यो । त्यसपछिको सम्पूर्ण समय आमाको उपचारमा खर्चिए । एक वर्ष त दिल्लीस्थित एम्स अस्पताल धाउँदै बित्यो । त्यसक्रममा करिब रु २५–३० लाख खर्च भयो । त्यसयता हामी सबैको योजना भताभुङ्ग भयो,’ उनी भक्कानिए । 
 
हुँदाखाँदाको जागिर छाडेर नेपाल आएका राजेशको जीवनमा एक समय यस्तो आयो कि कसैले लाखौँ तलब दिन्छुभन्दा पनि काम गर्ने अवस्था रहेन । किनकि घरको काम उनले नै गर्नुपर्ने भयो । यहीबीचमा साढे चार वर्षअघि बुवाको मृत्यु भयो । 

‘बुवा बितेपछि आमाको सम्पूर्ण सहारा गुम्यो, हाम्रो भरोसा । त्यसपछि आमालाई एक्लै छाड्ने अवस्था रहेन । जागिरको अवसर पाएका बेला घरायसी समस्याले घेर्यो । आमालाई ठिक भएपछि सँगै बसेर केही गर्न पाए हुन्थ्यो भनेर जनकपुरमै धेरै प्रयास गरेँ, धेरैलाई गुहारे तर जागिर पाइएन,’ उनले भने । 

नेपाल टेलिकमको जागिरबाट अवकाशप्राप्त बुवाको पेन्सनबाट घरव्यवहार चलाइरहेको बताउने राजेशले आफ्नो शिक्षा र ज्ञान प्रयोग गर्नुपर्छ भन्ने योजना नबनाएका पनि होइनन् तर आर्थिक अभावले पूरा गर्न सकेनन् । ‘जागिर पाइएन । खर्च बढ्दै गयो तर आम्दानी  छैन,’ एकछिन निःशब्द हुँदै उनले भने, ‘श्रमको मूल्य पाउने जागिर नै पाइँएन । दश–बाह्र हजारमा काम गर्न सकिएन ।’

नेपालमा विकल्प नभएपछि उनले विदेशिने निधो गरे । त्यसबेला स्वास्थ्य बाधक बन्यो । राजेशले दुबईमा साइबर सेक्युरिटीका क्षेत्रमा काम गर्न एउटा कम्पनीमा विभिन्न चरण पार गरे । तर मेडिकल परीक्षण गर्दा रगतमा सङ्क्रमण देखिएपछि त्यहाँ पनि जान पाएनन् । अहिले औषधि सेवन गरिरहेको उनी बताउँछन् । 

सामान्य मध्यमवर्गीय परिवारका उनले ‘प्लस टु साइन्स’ आफ्नै लगानीमा पढे पनि बि–टेकचाहिँ छात्रवृत्तिमा पढेका हुन् । उनका दाजुले पनि बायोटेक्नोलोजीमा स्नातकोत्तर (एमटेक) सम्मको अध्ययन भारतबाट र चीनबाट विद्यावारिधि गरेका छन् ।  लकडाउनको समयमा अध्ययन सकेर नेपाल फर्किएका उनी पनि पारिवारिक समस्याकै कारण घरमै अल्झिरहनुपरेको छ । 
  
आठ हजार तिर्नुपर्ने भएपछि...

आमालाई क्यान्सर भयो । त्यहीबीचमा बुवा बित्नुभयो । परिवारको लय बिथोलियो, राजेश दाजुभाइको सपना र योजना । जागिरका लागि गरिएका प्रयास सफल भएनन् । भएको सीप प्रयोग गरेर केही गरौँ भन्ने सोचमा पुँजी बाधक बन्यो । ‘सबै प्रयास असफल भएपछि अहिले चिया पसल चलाइरहेको छु । रु एक लाख ऋण काढेर यो व्यवसाय सुरु गरेको पनि तीन महिना भयो । ठूलो चोट, सिकाइ र विवशतापछिको प्रतिफल हो,’ उनी भावुक भए । 
 
यो व्यापार पनि एउटा पसलमा रु आठ हजार उधारो तिर्नुपर्दाको सकसपछि जन्मिएको हो । चियाका अम्मली राजेशले गएको दसैँ तिहारकै समयमा उधारो खाने गरेको चियापसलेलाई रु आठ हजार तीन सय तिर्नुपर्ने भयो । अनुमानभन्दा बढी पैसा तिर्नुपरेपछि त्यसै दिन चिया छोड्ने वा आफैँ चियापसल खोल्ने सङ्कल्प लिएको राजेशको कथन छ ।
  
‘त्यही घटनापछि चियापसल खोल्ने निर्णयमा पुगेँ,’ उनी सुनाउँछन्, ‘एकातिर अरुलाई तिर्नुपर्ने चियाको पैसा जोगिने अर्कोतिर समयको सदुपयोग र दुई पैसा आम्दानी पनि हुने । त्यसपछि चियापसल सुरु गरेको हुँ ।’ 

राजेशले पसलको नाम ‘इन्जिनियर क्याफे’ राख्ने निधो गरेर बोर्ड बनाउन दिएका छन् । उनी विभिन्न प्रकारका चिया, कफी बनाउने सोचका साथ बजार अध्ययन गरिरहेको र अब यहीँ व्यवसायलाई व्यवस्थित बनाउने योजनामा छन् । 
 
‘सुरुमा पढियो एउटा गरियो अर्कै भनेर निराश हुन्थे तर अहिलेचाहिँ कुनै पछुतो छैन । देशको अवस्था, विदेशिएका युवाको पीडाका साथै पसलमा आउनेहरूले दिने प्रतिक्रियाबाट पनि उत्साहित भइरहेको छु । आगामी दिनमा के–के हुन्छ हेर्दै जाऔँ,’ उनले भने ।

जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्रकुमार महासेठ पनि एउटा शिक्षित र प्राविधिक शिक्षा पढेको युवाले रोजगारी नपाउनु चिन्ताको विषय भए पनि राजेशले रोजेको बाटोबाट आम युवाका लागि प्रेरणाको ठूलो सन्देश प्रवाह भएकामा खुसी व्यक्त गरे । ‘देशमा कुनै पनि क्षेत्र र मान्छे उत्साहित छैनन् । युवाहरू विदेश धाइरहेका छन् । यो भीडमा एउटा शिक्षित युवाले चियापसल खोल्ने आँट गर्नु राम्रो कुरा हो । यसबाट अरुले पनि पाठ सिक्न जरुरी छ,’ उनले भने । 

Advertisement