शुक्लाफाँटा–कञ्चनपुर टी–२० क्रिकेट प्रतियोगिताको उपाधि शुक्लाफाँटालाई

Advertisement

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न तेस्रो शुक्लाफाँटा–कञ्चनपुर टी–२० क्रिकेट प्रतियोगिताको उपाधि शुक्लाफाँटा नगरपालिकाले जितेको छ । शनिबार फाइनल खेलमा दोधारा चाँदनी नगरपालिकाको टिमलाई सुपरओभरमा पराजित गर्दै शुक्लाफाँटा नगरपालिकाले उपाधि जितेको हो ।

उपाधि विजेता टिमलाई समापन समारोहमा शुक्लाफाँटा नगरपालिकाका प्रमुख रणबहादुर महराले नगद रु एक लाख एक हजार, ट्रफी र प्रमाणपत्रसहित पुरस्कृत गरे । त्यसैगरी उपविजेता दोधारा चादँनीको टिम रु ५१ हजार, ट्रफी र प्रमाणपत्रसहित पुरस्कत भएको आयोजक कञ्चनपुर जिल्ला क्रिकेट सङ्घका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले जानकारी दिए ।

Advertisement

प्रतियोगिताको फाइनल खेलमा १९.५ ओभरको समाप्तिमा शुक्लाफाँटाले सबै विकेट गुमाउँदै एक सय २४ रनको लक्ष्य दोधारा चाँदनीसामु प्रस्तुत गरेको थियो । शुक्लाफाँटाका लागि विशाल ऐरले २४ बलमा २९ रन र कैलाश ऐरले २८ बलमा २८ रन बनाएका थिए भने टिमका लागि प्रकाश थापाले तीन विकट लिएका थिए । एक सय २४ रनको विजयी लक्ष्य पछ्याएको दोधारा चाँदनीले १९.४ ओभरमा एक सय २४ रन बनाएपछि खेल ड्र भएको थियो । त्यसपछिको सुपरओभरमा शुक्लाफाँटाले जित निकालेको आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीमा भीमदत्त नगरपालिकाका मिलन बोहरा घोषित भएका छन् । नौ पालिकामध्ये लालझाँडी र बेलौरी नगरपालिका भने प्रतियोगितामा सहभागी थिएनन् । प्रतियोगिताको समापन समारोहमा क्रिकेटका योगदान पुर्याएका व्यक्तित्वहरूलाई सम्मानसमेत गरिएको छ ।
 

Advertisement

Advertisement