जग्गा प्राप्तिका लागि काभ्रेका तीन हजार भूमिहीनको आवेदन

Advertisement

काभ्रेपलाञ्चोक । राष्ट्रिय भूमि आयोग जिल्ला समिति काभ्रेपलान्चोकमा तीन हजारभन्दा बढी भूमिहीनले जग्गा प्राप्तिका लागि निवेदन पेस गरेका छन् । सरकारले भूमिहीनलाई जग्गा प्रदान गर्न सार्वजनिक अपिल गरेअनुसार हालसम्म काभ्रेपलाञ्चोकका तीन हजार १७३ भूमिहीन–सुकुम्बासी, भूमिहीन–दलित, अव्यवस्थित बसोबासीले जिल्लास्थित कार्यालयमा आवेदन गरेका हुन् ।

भूमिहीनद्वारा जग्गा प्राप्तिका लागि निवेदन गरेअनुसार समितिले काभ्रेपलाञ्चोकका भूमिहीन नागरिकलाई जग्गा प्रदान गर्ने तयारी गरिरहेको छ । पहिलो चरणमा जिल्लाको अति दुर्गममा सूचीकृत खानीखोला गाउँपालिकाको भूमिहीन–सुकुम्बासी, भूमिहीन–दलित, अव्यवस्थित बसोबास गरेका नागरिकलाई निस्सा वितरण भइरहेको छ । 

Advertisement

समितिद्वारा गत माघ २५ गतेदेखि उक्त गाउँपालिकाका भूमिहीनलाई निस्सा वितरण गरिरहेको र वडा नं १ र २ मा वितरण गर्न बाँकी रहेको समितिका सदस्य राम लामाले जानकारी दिए । उनका अनुसार समितिले जिल्लास्थित १३ स्थानीय तहमध्ये महाभारत गाउँपालिकाबाहेकमा भूमिहीनको लगत प्रविष्टीकरणको काम भइरहेको छ ।
 
'जिल्लाका अन्य १२ तहमध्ये खानीखोला गाउँपालिकाले सबै प्रक्रिया पूरा गरेकाले निस्सा वितरण थालिएको हो,' लामाले भने ।

उनले उक्त गाउँपालिकामा निस्सा वितरण सकिएपछि आयोगको मापदण्डअनुसार जग्गा वितरण प्रक्रिया थालिने बताए ।

Advertisement

Advertisement