‘हुलाक सेवालाई प्रविधिमैत्री बनाउनुपर्छ'

Advertisement

कर्णाली । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले हुलाक सेवालाई प्रविधिमैत्री बनाउनुपर्ने बताएका छन् । हुलाक सेवा विभाग काठमाडौँद्वारा मङ्गलबार वीरेन्द्रनग सुर्खेतमा आयोजित ‘एक स्थानीय तह एक हुलाक’सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले हुलाकलाई आजको युग सुहाउँदो संरचनामा लैजानुपर्नेमा जोड दिए । ‘सूचना र प्रविधिको उच्चतम विकास भइरहेका बेला हुलाक ग्राहक सेवा कार्यालयभन्दा माथि उठ्न सकेको छैन,’ उनले भने, ‘खारेज गर्ने होइन, हुलाक सेवामा गुणस्तर र छरितोपन ल्याउनुपर्छ ।’

विभागका महानिर्देशक प्रदीपराज अधिकारीले हुलाक सेवामा बिग्रेको ठाउँमा सच्याउन नसक्दा, काम र विश्वसनीयताका विषय बाहिर नआउँदा यसको आकर्षण घटेको बताए । ‘अन्तर्राष्ट्रिय अभ्यासलाई हेरेर हुलाकलाई उद्योग र व्यवसायका रूपमा लिनुपर्छ,’ उनले भने, ‘कानुन तथा व्यवस्था सञ्चालनका लागि हुलाक अतिआवश्यकीय महत्त्वपूर्ण सेवा हो ।’

Advertisement

अदालत, मालपोतलगायतका आधिकारिक र महत्त्वपूर्ण काजगाजतबाहक निकाय हुलाक कुरियर्सजस्तो नभई नागरिकका निम्ति सस्तो र भरपर्दो सेवा भएको महानिर्देशक अधिकारीको जिकिर थियो । महत्व भएर पनि यसको इतिहास, विरासत र आजको कामका बारेमा दर्शाउन नसक्दा हेपाहा दृष्टिले हेरिए पनि हुलाक सेवालाई सरकारी मञ्चका रूपमा ठान्न सरोकारवालालाई उनले आग्रह गरे । 

कर्णाली प्रदेश सरकारका निमित्त प्रमुख सचिव आनन्द सारुले विश्वमा हुलाक सेवाको दायरा फराकिलो हुँदा पनि राज्यले यसलाई सन्तुलनमा राख्न नसक्दा नेपालमा कामयावी नभएको जस्तो देखिएको भन्दै राजस्व लिएर हुलाकले गुणस्तर सेवा दिनुपर्ने बताए । हुलाक पालिकास्तरमा पुग्दा तीनै तहका सरकारबीचको अन्तरसम्बन्ध बढ्ने उनको भनाइ थियो ।

जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गङ्गाराम सुनारले हुलाकले आफूलाई प्रविधिमैत्री बनाएर लैजानुपर्नेमा जोड दिए । गाउँपालिका राष्ट्रिय महासङ्घ कर्णाली प्रदेश समिति अध्यक्ष निमबहादुर केसीले सूचना र प्रविधिको युग भनिए पनि नेपालीका लागि घोप्टे युग आएको व्यङ्ग्य गरे । प्रविधियुक्त सामग्रीमै घोप्टो परेर समय बर्बाद गर्नेको सङ्ख्या वृद्धि भएको जनाउँदै पालिकास्तरमा हुलाक कार्यालय स्थापनाका लागि आवश्यक सहयोग दिने बताए । 

हुलाक विभागका पूर्वसहसचिव बालाराम शर्मा देवकोटाले आजको प्रविधिसँगै हुलाक सेवालाई जोडिएर लिनु अपरिहार्य भइसकेको बताए । त्यस्तै, विभागका निर्देशक ध्रुवराज आचार्यले हुलाकको इतिहास, वर्तमान अभ्यास, भइरहेका गतिविधि, यसले सामना गर्नुपरेका चुनौती र भावी रणनीतिसहित सङ्गठन संरचनाबारे आफ्नो प्रस्तुति राखे । 

Advertisement