होलीमा जथाभावी रङ दल्ने दुई सय ७७ जना पक्राउ
प्रतीकात्मक तस्बिर ।

Advertisement

काठमाडौं । प्रहरीले  होली पर्व मनाउने क्रममा आइतबार जथाभावी रङ दल्ने तथा होहल्ला गरेको आरोपमा दुई सय ७७ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पुरुष दुई सय ६२ जना तथा १५ जना महिला रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिए । 

Advertisement

‘कानुनविपरीत काम गर्ने दुई सय ७७ जनालाई हामीले नियन्त्रणमा लिएका छौँ,’ उनले भने, ‘पक्राउ परेकाहरुको अवस्था हेरेर केहीलाई परिवारको जिम्मा लगाइने र केहीको हकमा मुद्दासमेत दायर हुनेछ ।’

यसैगरी, जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले आइतबार छ सय ६४ वटा सवारीसाधनलाई नियन्त्रणमा लिइएको जनाएको छ । यसमा चारपांग्रे छ सय ४९ तथा दुईपांग्रे १५ वटा रहेका जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

लापसे, मापसे गरी सवारीसाधन चलाउने तथा सवारी साधनका कागजपत्र नबोक्ने, हेल्मेट नलगाई सवारी चलाउनेका सवारी साधन नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

फागु पूर्णिमा अर्थात् होली पर्वलाई सुरक्षित बनाउने भन्दै प्रहरीले उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाएको थियो । ट्राफिक चेकिङदेखि सादा पोसाकसहित गरी कुल तीन हजार प्रहरी खटाइएको थियो भने ड्रोनबाट निगरानी गरिएको थियो ।

Advertisement

Advertisement