नेपालमै गाडी बन्ने युगको सुरुवात, तर डर नीतिगत अस्थिरताको नै

Advertisement

काठमाडौं । एक दशक अघिसम्म नेपालमै सवारी साधन उत्पादन गर्ने कुरा गर्दा अपत्यारिलो जस्तो लाग्थ्यो । देशको विषम राजनीति, अस्थिर र अस्पष्ट नीतिका कारण स्वयम अटोमावाइल व्यवसायी नै यो कुरा चुनौतिपूर्ण ठान्थे । 

तर जब २०७४ पुसदेखि त्यही विषयमतामा नै गोल्छा अर्गनाइजेसनको हंसराज हुलासचन्द एन्ड कम्पनीले नेपालमै बजाज ब्राण्डका मोटरसाइकलको एसेम्बल गर्न प्लान्ट खडा गरी उत्पादन सुरु गर्र्यो, त्यसपछि भने नेपालको समग्र अटोमोवाइल क्षेत्रमा नयाँ तरंग र बहस सुरु भयो । संभावनाको खोजी र नीतिगत सुधारका लागि लबिङ गर्ने कुराहरु हुन थाले । 
 
सुरुवाती चरणमा डिस्कभर मोडलका दुई पांग्रे उत्पादन सुरु गरेको गोल्छा अर्गनाइजेसनले अहिले अधिकांश मोडेल नेपालमै एसेम्बल गर्छ । हुन त त्यसअघि पनि नेपालमा सवारी साधनको एसेम्बल नभएको होइन । मुस्ताङ गाडी, अन्नालिफान मोटरसाइनल पनि नेपालमा एसेम्बल भए । तर, ती कम्पनी बजारमा टिक्नै नसक्ने अवस्था बन्यो । सरकारी नीतिको चेपुवामा उनीहरु परे । 

Advertisement

जब, बजाज जस्तो लोकप्रिय ब्राण्ड नेपालमै बन्न थाल्यो त्यसपछि अरु दुई पांग्रे ब्राण्डलाई नेपालमै प्लान्ट बनाउन दबाब पर्यो । त्यही समयमा सरकारले पनि नेपालमै सवारी साधन एसेम्बल गर्नेलाई सहुलियत दिने नीति लियो । सरकारले आवश्यक अन–एसेम्बल अवस्थाका सवारी साधन ल्याउँदा ५० प्रतिशत अन्तःशूल्क कर छुट उपलब्ध गराउने व्यवस्था गर्यो । 

बजाजको ‘ब्रेक थ्रु’बाट दबाबमा परेका अन्य दुईपांग्रे आयातकर्ताहरु सरकारको यो निणर्यपछि नेपालमै एसेम्बल प्लान्ट बनाउन लालयीत भए । त्यसपछि क्रमशः टिभिएस, रोयल इन्फिल्ड, यामाहा, सुजुकी, होण्डा र भर्खरै मात्र हिरोले पनि नेपालमै एसेम्बल प्लान्ट स्थापना गरेको छ । 

जसरी, बजाजले गर्दा अन्य दुई पांग्रे ब्राण्डलाई पनि प्लान्ट बनाउन बाध्य बनायो, त्यही लहर चार पांग्रे सवारी साधनमा पनि देखिने अवस्था सिर्जना भएको छ । केही दिनअघि मात्रै लक्ष्मी मोटर कर्पोरेशनले नेपालमै हुण्डाई गाडी एसेम्बल सुरु गरेको छ । कम्पनीले सन् २०२२ मै प्लान्ट तयार गर्ने लक्ष्य राखे पनि कोरोना महामारीको कारण २०२४ मध्येमा मात्र गाडी उत्पादन सुरु गरेको हो । 

एउटा ब्राण्डले एसेम्बल सुरु गरेपछि अरुलाई पनि स्वतः दबाब पर्ने फोर्डका लागि नेपालको आधिकारिक वितरक जिओ फोर्डका प्रवन्ध निर्देशक आकाश गोल्छा बताउँछन् । 

नाडा अटोमोवाइल एशोसिएशन अफ नेपालका वरिष्ठ उपाध्यक्षसमेत रहेका उनी भन्छन्, ‘नेपालमै गाडी एसेम्बल हुनु निकै राम्रो कुरा हो । यसले थोरै भए पनि रोजगारी सिर्जना गर्छ र त्यस क्षेत्रका सर्वसाधारणलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा फाइदा पुग्छ ।’

एसेम्बल प्लान्ट लगायतका परियोजनाका लागि ठूलो लगानी लाग्ने भएकाले सरकारको नीति दिर्घकालिन हुनु पर्ने गोल्छाको तर्क छ । 
त्यस्तै, यस्ता प्लान्टबाट एउटा मात्र ब्राण्डको गाडी भन्दा पनि धेरै ब्राण्डका गाडी एसेम्बल गर्ने व्यवस्था गरियो भने अधिकांश ब्राण्ड नेपालमै एसेम्बल हुने उनी बताउँछन् । 
 
गोल्छा थप्छन्, ‘एसेम्बल प्लान्ट बनाउन सानो लगानीले पुग्दैन । त्यसमाथि नेपालमा गाडी चढ्नेको संङ्ख्या निकै न्यून छ । त्यसकारण हामी सवारी साधन आयातकर्ताहरु मिलेर एउटै प्लान्टबाट धेरै ब्राण्डका गाडी उत्पादन गर्न सकियो भने अधिकांश आयातकर्ताहरुले नेपालमै गाडी एसेम्बल गर्छन् ।’

नेपालमै गाडी एसेम्बल हुनु राम्रो भए पनि सरकारले यो बाहेक अन्य कुरामा पनि व्यवसायीलाई प्रोत्साहन गर्नुपर्ने बिवाईडीका लागि नेपालको आधिकारिक वितरक साइमेक्स इंककी निर्देशक यमुना श्रेष्ठ बताउछिन् । 

उनी भन्छिन्, ‘नेपालमै गाडी एसेम्बल हुनु अटोमोवाइल क्षेत्र एक कदम माथि उक्लनु हो । यसले धेरै÷थोरै फाईदा नै हुन्छ । तर सबै पाट्स बनाउन नसकिए पनि केही पाट्सहरु नेपालमै उत्पादन गर्न सके अझै राम्रो हुन्छ ।’

हुण्डाईको यो कदमले सबै अटोमोवाइल व्यवसायीहरूलाई उर्जा दिएको नाडा अटोमोवाइल एशोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरी बताउछन् ।  

‘यो कुनै एउटा ब्राण्डको मात्र कुरा होइन, सम्पूर्ण अटोमोवाईल क्षेत्रकै नयाँ फड्को हो । यसले अरु ब्राण्डहरुलाई पनि प्लान्ट स्थापना गर्न उर्जा मिलेको छ,’ उनले भने । कुनै पनि नयाँ काम सुरु गर्दा जोखिम हुने भएकाले यस्ता विषयमा सरकारले गम्भीर रुपमा सोचेर मात्र नयाँ निर्णय गनुपर्ने चौधरीले बताए । 

उनले भने, ‘अहिले एउटा ब्राण्डले प्लान्ट स्थापना गर्यो अनी नयाँ आउने बजेटले सहुलियत हटाइदियो भने एउटा व्यवसायी मात्र धरासायी बन्दैन, सम्पूर्ण क्षेत्र नै त्रसित हुन्छ । त्यसकारण पनि सरकारको नीति स्थाई हुनुपर्छ ।’ हालका लागि भने हुण्डाईको यो सुरुवातले नेपाललाई चारपांग्रे निर्माताको यूगमा लगेको उनले बताए । 

Advertisement

Advertisement