हरित रोजगारी सिर्जनाका लागि कोरियाले ९८ लाख डलर दिने

Advertisement

काठमाडौं । कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका लागि ९८ लाख अमेरिकी डलर प्रदान गर्ने भएको छ । 

सहयोगसम्बन्धी समझदारीपत्रमा नेपालका लागि कोरियाका राजदूत तेयोङ पार्क र अर्थसचिव मधुकुमार मरासिनीले मंगलबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा हस्ताक्षर गरेका छन् ।  

Advertisement

कोरियाली अन्तर्राष्ट्रिय सहयोग निकाय (कोइका) मार्फत उक्त रकम पोखरा महानगरपालिकालाई प्रदान गरिनेछ । महानगरपालिकासँगको सहकार्यमा फोहरमैला व्यवस्थापनका माध्यमबाट हरित रोजगारी सिर्जना गरिनेछ । हरित रोजगारी परियोजना राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) मार्फत सञ्चालन हुनेछ ।

सो अवसरमा अर्थसचिव मरासिनीले नेपालको सामाजिक–आर्थिक विकासमा कोरियाबाट निरन्तर सहयोग प्राप्त भएकामा कृतज्ञता व्यक्त गरे ।  

राजदूत पार्कले परियोजनाका माध्यमबाट नेपालको आर्थिक विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।  उनले कोरिया र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पुगेको सन्दर्भमा आपसी सहयोग विस्तारमा जोड दिइएको उल्लेख गर्दै नेपाल कोरियाको प्राथमिकताप्राप्त देश भएको बताए । 

Advertisement

Advertisement