बीआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

Advertisement

काठमाडौं । छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ (बीआरआई)  कार्यान्वयन योजनासम्बन्धी लेखन अन्तिम चरणमा पुगेको छ । नेपालले यसमा दुई देशलाई उपयुक्त हुने समयमा हस्ताक्षर गर्ने भएको छ । 

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले यहाँस्थित चिनियाँ राजदूतावासले आज यहाँ  ‘नेपाल चीन सम्बन्धको समीक्षा र उन्नत भविष्य’ विषयमा आयोजना गरेको विचारगोष्ठीमा सो जानकारी दिँदै योजनाको कार्यान्वयनपछि यथार्थमा देख्न सकिने परिणाम आउने विश्वास व्यक्त गरे । दुवै देशले सन् १९१७ मे १२ मा बीआरआई ढाँचाभित्र द्विपक्षीय सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । 

Advertisement

सो अवसरमा परराष्ट्रमन्त्री श्रेष्ठले जलवायु परिवर्तनको गलत असरविरुद्ध लड्नेलगायत साझा विकास  प्रयासमा सँगै संलग्न हुनका लागि चिनियाँ राष्ट्रपति सी चीनफिङले अघि सारेको र संयुक्त राष्ट्र सङ्घमा गठित ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ (जीडीआई) का मित्रहरूको समूहमा नेपाल पनि सहभागी हुने निर्णय  गरिसकिएको जानकारी दिनुभयो । 

अर्को एक प्रसङ्गमा उनले भने, ‘नेपाल चीनसँग कनेक्टिभिटी, पूर्वाधार विकास, कृषि, व्यापार, पर्यटन, लगानी, सूचना र सञ्चार प्रविधि तथा जनता जनताबिचको सम्बन्धलगायत महत्त्वपूर्ण क्षेत्रमा फराकिलो र गहिरो सहयोगका लागि प्रतिबद्ध छ ।’

नेपाली व्यापारीहरू चीनमा आफ्नो बजार खोज्न उत्सुक रहेकाले चीनबाट यसमा उच्चस्तरको सहयोग गरिने विश्वास व्यक्त गर्दै उनले नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सबभन्दा ठूलो स्रोत देश चीनको नेपालमा हुने लगानीमा पनि नेपालले आवश्यक सहजीकरण र सुरक्षा प्रदान गर्ने दृढता व्यक्त गरे । उनले नेपाल भ्रमण वर्ष २०२५ सफल पार्न दुवै देशमा परिणामुखी संयुक्त गतिविधि गर्न पनि आग्रह गरे । 
 

Advertisement

Advertisement