दश महिनामा वीरगन्ज महानगरपालिकाले उठायो ४० करोड राजस्व

Advertisement

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले चालू आर्थिक वर्षको १० महिनामा ३९ करोड ८० लाख ३४ हजार १ सय १९ रुपियाँ राजस्व संकलन गरेको छ ।

महानगरले गत आर्थिक वर्षको १० महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा ३ करोड १८ लाख ९८ हजार २९ रुपियाँ बढी संकलन गरेको हो । महानगरले गत आर्थिक वर्षको १० महिनामा ३६ करोड ६१ लाख ३६ हजार ९० रुपियाँ राजस्व संकलन गरेको थियो ।

Advertisement

वीरगन्ज महानगरपालिका राजस्व महाशाखा प्रमुख मनोज कर्णले चालू आर्थिक वर्षको बजेट पुसमा संशोधन गर्दै ७० करोड राजस्व संकलन गर्ने लक्ष्य भए ता पनि हालसम्म ४० करोड रुपैयाँको हाराहारीमा मात्रै राजस्व संकलन भएको जानकारी दिए ।

‘आर्थिक मन्दीका कारण वीरगन्जमा व्यापार घटेको छ, यसको राजस्व संकलन प्रत्यक्ष असर परेको छ,’ उनले भने ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले चालू आर्थिक वर्षमा मालपोत कर ५० करोड रुपियाँ संकलन गर्ने लक्ष्य रहेकामा त्यो प्राप्त गर्न कठिन हुने बताए ।

‘यो वर्ष घरजग्गा कारोबारमा ठूलो मन्दी आएकाले १३ करोड ९३ लाख ६२ हजार रुपियाँ मात्रै सम्पत्ति कर (मालपोत) कर उठेको छ,’ उनले भने, ‘आन्तरिक राजस्व अपेक्षाकृत रूपमा संकलन नहुँदा स्रोत जुटाउन दबाब बढेको छ ।’

महानगरले २४ शीर्षकमा आन्तरिक राजस्वबापत आम्दानी गर्दै आइरहेको छ । महानगरले यस वर्ष घरबहाल करबापत ४ करोड ९६ लाख ७५ हजार रुपैयाँ आम्दानी गरेको छभने पूर्वाधार सेवाको उपयोगमा लाग्ने कर बापत भने २ करोड ७ लाख ९२ हजार रुपियाँ संकलन गरेको छ ।

महानगरले बहाल करतर्फ ३ करोड २६ लाख ४४ हजार तथा अन्य सेवाशुल्कबापत २ करोड ४१ लख ४३ हजार, नक्सापास दस्तुर २ करोड ९२ लाख ४ हजार रुपियाँ उठाएको छ । गत आर्थिक वर्षमा ५७ करोड १ लाख ७३ हजार २ सय १ रुपैयाँ राजस्व संकलन भएको थियो ।

Advertisement