बेलायत र नेपालबीच व्यापार वृद्धि हुन्छ: प्रधानमन्त्री सुनक

Advertisement

बेलायत । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले बेलायत र नेपालबीच व्यापार वृद्धि हुने र निजी लगानी पनि बढ्ने बताएका छन् । 

नेपाल र बेलायतबीच सन् १९२३ मा सम्पन्न मैत्री सम्धी हस्ताक्षर भएको एक सय वर्ष पूरा भएको अवसरमा लन्डनस्थित बेलायतको प्रधानमन्त्री कार्यालय टेन डाउनिङ स्ट्रिटमा नेपाली समुदायलाई सम्बोधनका क्रममा प्रधानमन्त्री सुनकले बेलायत र नेपालबीच विगतदेखि नै सहकार्य रहँदै आएको चर्चा गर्दै व्यापार, लगानीजस्ता आर्थिक सम्बन्ध तथा जलवायु परिवर्तनका क्षेत्रमा सहकार्य हुने पनि जानकारी दिए । 

Advertisement

त्यस्तै उनले नेपालले विकास र प्रगतिका लागि गरिरहेको प्रयासमा सघाउन बेलायत सरकारले हालै ४० करोड पाउन्ड सहयोग गरेको जनाउँदै आगामी दिनमा पनि सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गरे । 

प्रधानमन्त्री सुनाकले नेपाल र बेलायतबिचको ऐतिहासिक सम्बन्धका विभिन्न आयामहरूको बारेमा चर्चा गर्दै द्विपक्षीय सम्बन्धमा ब्रिटिस गोर्खाहरूको योगदानको प्रशंसा गरे । त्यस्तै? बेलायती राजा चाल्र्सको नेपाल भ्रमणको स्मरण गर्दै उहाँले बेलायतमा रहेका विभिन्न क्षेत्रका ख्यातिप्रात नेपाली डायस्पोराको काम र उपलब्धिबाट आफू प्रेरित भएको बताए । 

बेलायतकी परराष्ट्र राज्यमन्त्री आन मारी ट्रेवल्यानले बेलायतले नेपालको विकासका मुद्दामा विगत झैँ निरन्तर सहयोग जारी राख्ने बताइन् । उनले नेपालको मध्यम आय भएको मुलुक बन्ने लक्ष्यमा बेलायतले सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गरिन् । 

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले मैत्री सन्धिपश्चात् अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको उपस्थिति र अन्तर्राष्ट्रिय सम्बन्ध प्रवर्द्धन गर्न महत्त्वपूर्ण योगदान पुगेको उल्लेख गरे । नेपालमा हालसम्म भएका सामाजिक एवं राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धिका बारेमा चर्चा गर्दै उनले बेलायतले नेपालको विकासमा पुर्‍याएको सहयोगका लागि धन्यवाद दिए । 

मैत्रीसन्धि हस्ताक्षर भएको सय वर्ष पुगेको अवसरमा विभिन्न कार्यक्रमहरू मनाउने सिलसिलामा नेपाली राजदूतावास र बेलायती परराष्ट्र मन्त्रालयबिच छलफल भएअनुसार र नेपाली समुदायको सहयोगमा कार्यक्रम भएको हो ।

यसअघि बेलायती प्रधानमन्त्रीले नेपालीलाई व्यक्तिगत वा समूहमा भेटघाट गरे पनि नेपाली समुदायलाई मात्र केन्द्रित गरेर प्रधानमन्त्री कार्यालयमा गरिएको यो पहिलो कार्यक्रम भएकाले नेपाली समुदायले स्वागत गरेका छन् । 

कार्यक्रममा सहभागी लिड्स विश्वविद्यालयका प्राध्यापक सूर्यप्रसाद सुवेदीले पहिलो पटक नेपाली समुदायलाई नै केन्द्रित गरेर बेलायतका प्रधानमन्त्रीले आयोजना गरेको कार्यक्रम स्वागतयोग्य रहेको बताए । उनले सन १९२३ मा नेपाल र बेलायतबिच भएको सन्धि महत्त्वपूर्ण रहेको बताउँदै भने, ‘त्यसअघि विभिन्न समयमा सन्धि सम्झौताहरू भएता पनि नेपाललाई स्वतन्त्र र सार्वभौम मुलुकको रूपमा राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा थप सुदृढीकरण गर्न यो सन्धि सहयोगी भयो ।’ 

कार्यक्रममा बेलायतमा विभिन्न पेसा तथा व्यवसायमा रहेको नेपाली समुदाय, भूतपूर्व गोर्खाहरू,बेलायती सांसद तथा उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो । 

Advertisement

Advertisement