काठमाडौं । २०८० भदौ १८ नेपाली क्रिकेट टोलीका लागि निकै ठूलो उत्सव थियो । एसिया कप जस्तो प्रतियोगिता खेल्न पाएको नेपाली टोलीले यस दिन क्रिकेटको ‘पावर हाउस’ मानिने भारतीय टोलीसँग प्रतिस्पर्धा गर्दै थियो ।
श्रीलंकाको क्यान्डीस्थित पालकेले रंगशालामा खेल भइरहँदा नेपाली क्रिकेट फ्यानहरु उत्सुक त थिए नै, त्यसै सन्दर्भमा अर्ना वियरले नयाँ ‘ट्विस्ट’ थपिदियो ।कम्पनीले अघिल्लो दिन (भदौ १७) साँझ सामाजिक सञ्जालमार्फत खेलमा विकेट लिने, छक्का र चौका प्रहार गर्ने, अर्धसतक र सतक पूरा गर्नेलाई आकर्षक नगद उपहार घोषणा गर्यो।
यती ब्रुअरी अन्तर्गतको अर्ना वियरले छक्का र विकेटको लागि १–१ लाख र चौकाको लागि २५ हजार रुपियाँ दिने घोषणा गरेको थियो । कम्पनीको यो घोषणासँगै अर्ना बियरको चर्चा रातारात बढेर गयो । अर्नाको यो चर्चा देखेपछि उसकै सिको गर्दै अरु व्यवसायिक संघ÷संस्था र व्यक्तिले समेत सोही प्रकृतिको उपहार घोषणा गर्ने क्रम चल्यो ।
यस प्रकारको घोषणा निजी क्षेत्रबाट मात्र नभई जनकनन्दिनी गाउँपालिका, शुक्लाफाँटा नगरपालिका लगायत स्थानीय निकायले पनि सार्वजनिक गरे ।त्यतीबेला अर्नाले सुरु गरेको त्यो शैली अहिले नेपाली टोली अमेरिकामा सुरु हुँदै गरेको विश्वकप टि ट्वान्टी कपमा पनि निरन्तरता पाएको छ ।
यस प्रतियोगितामा विभिन्न ब्राण्ड तथा नेपालमा रहेका बहुर्राष्ट्रिय कम्पनीले समेत नगद राशीको घोषणा गरेका छन् । नेपालको मार्केटिङ (बजारीकरण)को इतिहासमै एउटा उदाहरण बनेको यो रणनीति (स्ट्राटेटी)को रचनाकार को हुन ? यो कुरामा भने सबै अनविज्ञ नै होलान । यसमा एक व्यक्तिको ‘आइडिया’ले काम गरेको हो । उनी हुन यती ब्रुअरीका महाप्रबन्धक अरुण केसी ।
तीन दशकभन्दा लामो समय ‘मार्केटिङ’ क्षेत्रमा बिताएका केसी अर्ना बियरको जन्मदाता नै हुन् भन्दा फरक पर्दैन् । उनी २०७३ वैशाखमा जब यती ब्रुअरीमा जिम्मेवारी सम्हाल्न आइपुगे, त्यतिबेला उत्पादन त परै जाओस, अर्ना बियरको नामाकरण पनि भएको थिएन् ।
अरुण केसीलाई बियरमा नेपालीपन झल्काउनु थियो । त्यतीबेला यतीको टिमसँग दर्जन बढी नामको विकल्प थियो । अर्ना शब्दले नेपाली नाम झल्काउने र ग्राहकले अपनत्व महशुस गर्ने सोचेर अरुणले यही नाम सञ्चालक समिति बैठकमा सिफारिस गरे । सबैले उनको प्रस्तावलाई स्वीकार पनि गरे । नयाँ बियरको नाम अर्ना राख्ने निर्णय भयो । अरुणले बियर उत्पादन, बिक्री र बजारीकरणको टिम बनाए । २०७३ चैतदेखि सुरु भयो अर्नाको उत्पादन ।
सुरुवाती चरणमा यतीले अर्नाको ६.५ र अर्ना लाइट उत्पादन सुरु गर्यो । समयक्रमसँगै यसको बिक्री ठिकै थियो । तर अरुणलाई यसमा चित्त बुझेको थिएन् । उनले नेपालको मदिरासम्बन्धी नीति नियम अध्ययन गर्न थाले । नेपालमा आठ प्रतिशतसम्म अल्कोहल भएको बियर उत्पादन गर्न पाइने तथ्य पहिल्याए ।
अरुण केसी भन्छन्, ‘मैले आठ प्रतिशतको बियर उत्पादन गर्ने भन्दा धेरै साथीहरुले विश्वास गर्नु भएन । आठ प्रतिशत अल्कोहलमा टेष्ट निकाल्न नसकिने उहाँहरुको बुझाई थियो । तर मैले आँट गरे ।’
उनले आफ्नो अनुसन्धान टिमलाई आठ प्रतिशत अल्कोहलको वियरमा अनुसन्धान गर्न लगाए । टिमले करिव दुई वर्षको परीक्षण र चार पटकको असफलतापछि आठ प्रतिशत अल्कोहलमा टेष्ट निकाल्न सफल भयो । बियरमा स्वाद त निस्कियो तर अरुणले फेरि अर्को नयाँ योजना बनाए । उनले ३३० मिलिलिटरको सानो बोतलमा बियर निकाल्ने सोच बनाए ।
‘हामीले त्यो बेलामा नेपाली बियर पारखीलाई नयाँ अनुभव दिने सोच बनाएका थियौं । त्यो एक बोतलको मूल्य १४० रुपियाँ मात्र राख्यौं’ उनले भने । अरुणको यो रणनीतिले काम गर्यो । अर्ना ८ ले बजारमा रफ्तार लियो । हाल नेपाली बियर बजारमा ३३० मिलिलिटरको बोतलको बजार हिस्सा ३५ देखि ४० प्रतिशत छ ।
अहिले बजारमा अर्नाको पाँच वटा उत्पादन बजारमा छन् । यती ब्रुअरीले अर्नाको पाचौं उत्पादन अर्ना ६.४ क्रिकेटलाई सर्मपित गरेर बजारमा ल्याएको हो ।
‘खासमा यसमा ६.४ प्रतिशत अल्कोहल हुन्छ । तर ग्राहकहरुले यसलाई माया गरेर अर्ना छक्का÷चौका भन्नुहुन्छ’ अरुणले भने ।
यती मात्र होइन, कम्पनीले सर्जकहरुलाई प्रोत्साहन गर्न भनेर तीन वर्षअघि गीतको प्रतिस्पर्धा गरेको थियो । त्यो प्रतिस्पर्धा जित्नेलाई १० लाख रुपियाँ पुरस्कारको व्यवस्था थियो । प्रतिस्पर्धामा आएको ‘चिसो–चिसो पानी जस्तै भmरनाको, चढ्छ मज्जाले स्वाद अर्नाको’ बोलको र्याप गीत प्रथम भयो । त्यो गीत युट्युवमा सार्वजनिक भएपछि निकै चर्चा पनि कमायो । हालसम्म उक्त गीतको भ्यु युट्यूवमा एक करोड ७० लाख पुगिसकेको छ ।
अरुणको यो बजारीकरण शैली हाल अरु कम्पनीहरुले पनि अपनाएका छन् । त्यस्तै जारी विश्वकप क्रिकेटलाई भनेर अर्नाले क्रिकेट एन्थमको पनि प्रतिस्पर्धा गराएको थियो । अर्नाले सुरु गरेपछि अन्य धेरैले क्रिकेट एन्थम बनाएर सार्वजनिक गरेका छन् ।
कम्पनीले जारी विश्वकपका लागि पनि नगद उपहारको घोषणा गरेको छ । अर्नाले हरेक रनमा एक हजार, हरेक चौकामा १० हजार, हरेक छक्कामा २० हजार, हरेक डट बलमा १५ सय, हरेक मेडेन ओभरमा २० हजार र हरेक विकेटमा २० हजार दिने घोषणा गरेको छ ।
यसको अतिरिक्त यसै पाली अर्नाले यी सबैबाट खेलाडीले जती पैसा पाउछन्, थप त्यति नै क्रिकेटको भौतिक पूर्वाधारमा खर्च गर्ने घोषणा पनि गरेको छ ।अर्नाको यो व्यवसायिक यात्रा हेर्दा अरुण नयाँ–नयाँ बजार रणनीतिमा सफल हुन्दै गएको प्रष्ट देखिन्छ ।
तर उनी यसलाई बजार रणनीति मान्दैनन् । अरुण भन्छन्, ‘मैले त कम्पनीको तर्फबाट गीत÷संगीत, खेल, समाजसेवा लगायतमा राम्रो काम गर्न खोजेको मात्र हुँ । तर कतिपय राम्रा कामले मार्केटिङमा पनि सहयोग पुग्छ भने त्यो पनि राम्रै कुरा हो ।’
आफूले कम्पनीको तर्फबाट गरेका क्रियाकलापहरु अरु ब्राण्ड र कम्पनीहरुले नक्कल गर्दा उनलाई फिटिक्कै नराम्रो लाग्दैन । ‘मेरो एउटा सिद्धान्त छ । कम्पनीले नाफा कमाउने मात्र होइन, समाजका लागि राम्रो काम पनि गर्नुपर्छ भन्ने हो । मेरो कम्पनीले गरेको राम्रो काम अरुले पनि कपि गर्छन भने त्यो त देशकै लागि राम्रो हो’ अरुणको धारणा छ ।