चिसोको प्रवाह नगरी हिउँ खेल्न मुस्ताङमा पुगे आन्तरिक पर्यटक

Advertisement

पोखरा । मुस्ताङ र आसपासमा परेको हिमपातसँगै यतिखेर चिसोको प्रवाह नगरी आन्तरिक पर्यटक पुग्न थालेसँगै त्यस क्षेत्रमा चहलपहल बढेको छ । विगतमा चिसो छल्न पोखरा, काठमाडौंलगायतका स्थानमा जाने गरेका मुस्ताङका स्थानीयवासी पर्यटकको आगमन बढेपछि अहिले भने होटेल तथा व्यवसाय सञ्चालन गरी बसेका छन् । चिसो छल्न विगतमा बेँसीतिर झनुपर्ने बाध्यता रहेकोमा अहिले हिमपात हेर्न र हिउँ खेल्न आउने पर्यटकले उनीहरू पनि उतै रोकिएका हुन् ।

हिउँका कारण सेताम्य भएका भूभाग हेर्नुका साथै हिमपात भइरहेको रमणीय दृश्य अवलोकन गर्न चाहनेका कारण मुस्ताङका होटेलमा पर्यटक आउने र बस्ने क्रम नरोकिएको कालापानीस्थित होटल सियु लजका सञ्चालक अमित तुलाचनले जानकारी दिए । पछिल्ला समयमा मुस्ताङसम्मको सडक मार्ग सहज बन्नुका साथै ठाउँठाउँमा सुविधा सम्पन्न होटेल सञ्चालनमा आएकाले यो क्षेत्रमा बाह्रैमास पर्यटकको चहलपहल हुने गरेको उहाँले जानकारी दिए ।

पर्यटकीय नगरी पोखरा आएका पर्यटक हिमाली दृश्य अवलोकनकै लागि मुस्ताङसम्म पुग्ने गरेका छन् । यातायात सहज भएकोले बेमौसममा पनि पर्यटकको आगमन नरोकिएको स्थानीयवासी बताउँछन् । मुस्ताङ पुग्ने पर्यटक धार्मिक पर्यटकीय तीर्थस्थल मुक्तिनाथसम्म पुगेर फर्कन्छन् । कतिपय उपल्लो मुस्ताङको लोमन्थाङ हुँदै कोराला नाकासम्म पुग्छन् ।

यसपटक हिमपात भएसँगै हिउँ खेल्न पोखरालगायतका स्थानबाट पर्यटक आउने गरेको थकाली सामुदायिक ‘होमस्टे’ ठिनीका सचिव जुना थकालीले जानकारी दिए । ‘हिमपातका कारण हिउँ खेल्नकै लागि पर्यटक आएका छन्, हिमपातले यस क्षेत्रमा पर्यटकको बसाइ लम्ब्याउन सहयोग पुर्याएको छ’, उनले भने।

ठिनी पुग्नेहरु नजिकैको ढुम्बा ताल, हिउँले ढाकिएका डाँडा, गाउँ माथिको हिउँ चितुवा गुफा अवलोकन गर्न पुग्छन् । मुस्ताङ पुग्ने पर्यटकमध्ये कतिपय पोखराबाट सिधै हवाइजहाज मार्फत जोमसोम विमानस्थल झर्छन् । कतिपय पोखराबाट पर्वत, म्यादी हुँदै सवारीसाधन लिएर पुग्छन् ।

पर्यटक पुग्ने क्रम बढेसँगै अचेल मुस्ताङमा होटल व्यवसायमा लगानी बढिरहेको मुक्तिनाथको रानीपौवास्थित होटेल ग्रान्ड साम्बालाका सञ्चालक सुरज गुरुङले बताए । सुविधा सम्पन्न होटेल थपिनाले पर्यटकलाई सजिलो भएको छ । विगतमा जाडोमा पर्ने हिउँले यहाँको जनजीवन कष्टकर हुने गरेकोमा पछिल्ला वर्ष त्यो हिमपात आयआर्जनको माध्यम बन्न थालेको उनले बताए ।

‘हिमाली क्षेत्रमा हिमपात भएपछि उवालगायतका कृषिजन्य बाली फस्टाउने भएकाले स्थानीयमा खुसी छाउँथ्यो’, उनले भने, ‘अचेल हिमपातसँगै हिउँ खेल्न पर्यटक आउन थालेकाले आम्दानी बढाएको छ ।’ सरकारले नेपाल भ्रमण वर्ष २०२० मनाइरहेको यस वर्ष मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटक बढ्ने विश्वास लिइएको छ ।

Advertisement

Advertisement

Advertisement