भैरहवा 'सेज'मा विद्युत नहुँदा उद्योग चल्न समस्या, थपिन खोजेका पनि थपिएनन्

Advertisement

भैरहवा । भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज)मा मागअनुसार विद्युत् आपूर्ति नहुँदा उद्योगी समस्यामा छन् । दर्ता भएका उद्योगीले समेत विद्युत् अभावकै कारण उद्योग स्थापनामा चासो देखाएका छैनन् । विद्युत् प्रसारण लाइन नबन्दा मागअनुसारको बिजुली नपाएपछि उद्योगी समस्यामा परेका हुन् । सेजमा ११ केभीएको लाइनबाट पाँच मेगावट विद्युत् आपूर्ति भइरहेको छ । पर्याप्त विद्युत् पाउन नसक्दा उत्पादनमा समस्या भएको सेजमा उद्योग सञ्चालन गरेका पञ्चकन्या उद्योगका प्रतिनिधि खडानन्द चौधरीले बताए ।

सेजमा अहिले ३३ केभीएको विद्युत् प्रसारण लाइन आवश्यक पर्ने भएकाले हाल आपूर्ति भइरहेको विद्युत् पर्याप्त नभएको चौधरीले बताए । भैरहवा सेजमा शक्ति मिनरल्स प्रालि, विस्तार ग्लोबल प्रालि, एलईडी लाइट उत्पादन उद्योग प्रालिले उत्पादन सुरु गरेका छन् ।

भैरहवामा जयबुद्व मेटल क्राफ्ट, पञ्चकन्या ग्रुप, यती प्लास्टिक प्रालि निर्माणाधीन छन् । सेजमा स्थापना भएका उद्योगले उत्पादनको ६० प्रतिशत निर्यात गर्नुपर्ने व्यवस्था छ ।
त्यसैअनुरूप भैरहवा सेजमा स्थापना भएका तीन उद्योगले डेढ करोड रुपियाँभन्दा बढीको निर्यात गरेका छन् । तर विद्युत् अभावका कारण लक्ष्यअनुसार उत्पादन हुन नसकेको उद्योगीको भनाइ छ ।

उद्योगका लागि पूर्वाधार तयार गरे पनि विद्युत् पाएका छैनौँ, एस प्लास्टिक उद्योगका सञ्चालक सरोज कँडेलले भने । नेपाल विद्युत् प्राधिकरणका प्रदेश ५ कार्यालय प्रमुख नवराज सुवेदीले प्रसारण लाइन निर्माणका क्रममा वन र सडक विभागबाट समस्या हुँदा समयमा काम हुन नसकेको बताए । अहिले फेरि नहरपुर क्षेत्रमा स्थानीय बासिन्दालाई उचालेर अवरोध गर्न खोजिएको छ, हामीले राजनीतिक दलका प्रतिनिधि राखेर सहमतिको प्रयास गरिरहेका छौँ, उनले भने ।

गोरखापत्र दैनिकबाट ।

Advertisement

Advertisement