मन्त्रीले नै कागज गराइदिएको एक वर्षसम्म पैसा नपाएका उखु किसान फेरि काठमाडौं आए

Advertisement

काठमाडौं । उद्योगीबाट उखुको भुक्तानी पाउन गत वर्ष काठमाडौं र सर्लाहीमा आन्दोलन गरेपछि सरकारबाट भुक्तानीको प्रतिबद्धता पाएका किसानले एक वर्षसम्म पनि रकम पाउन सकेका छैनन् । गत वर्ष बिक्री गरेको मात्रै होइन, त्यसअघिको समेत उखुको पैसा समयमै भुक्तानी नपाएका किसान बक्यौता उठाइदिन सरकारको सहयोग माग्दै पुनः काठमाडौं आएका छन् । 

उनीहरूले आइतबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई भेटेर तत्काल बक्यौता भुक्तानी नपाए छठपछि काठमाडौंकेन्द्रित आन्दोलन थाल्ने चेतावनी दिएका छन् ।

Advertisement

सर्लाहीको उखु किसान संघर्ष समितिका सचिव हरिश्याम रायका अनुसार दुईवटा मिलबाट किसानको करिब ३० करोड रुपियाँ बक्यौता उठ्न बाँकी छ । सर्लाहीको धनकौल गाउँपालिकामा रहेको अन्नपूर्ण सुगर मिलको २४ करोड र गोडैता नगरपालिका, बगदहमा रहेको महालक्ष्मी सुगर मिलको ६ करोड रुपैयाँ बक्यौता रहेको रायले बताए । यसमध्ये अन्नपूर्ण सुगर मिलको बक्यौता विगत तीन वर्षअगाडिदेखिको हो । यो मिल गत वर्षदेखि बन्द छ । 

वर्षौंदेखि उखुको भुक्तानी नपाएपछि गत वर्ष पुसमा किसानहरूले काठमाडौंमा आएर आन्दोलन गरेका थिए । उद्योगमन्त्री लेखराज भट्टले किसान र उद्योगीलाई राखेर एक महिनाभित्र भुक्तानी दिने गरी ८ पुसमा कागज गराएका थिए । तर, त्यो म्यादभित्र भुक्तानी नपाएपछि किसानले सर्लाहीमै आन्दोलन गरेका थिए । 

आन्दोलनको प्रभावस्वरूप केही रकम भुक्तानी भए पनि दुई चिनी मिलले ३० करोड रुपियाँ अझै भुक्तानी दिएका छैनन् । गत वर्ष सर्लाहीका किसानले दुई वर्षअगाडि मात्र सञ्चालनमा आएको महालक्ष्मी सुगर मिललाई ६ लाख क्विन्टल उखु बिक्री गरेका थिए । सञ्चालनमा आएको पहिलो वर्ष मिलले ७ लाख क्विन्टल उखु क्रसिङ गरेको थियो । यसअघि सो मिल कपिलवस्तुमा सञ्चालित थियो ।

नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement