लकडाउन प्रभावित वैदेशिक व्यापार लयमा फर्किन थाल्यो

Advertisement

वीरगञ्ज । कोराना महामारी नियन्त्रणका लागि लगाइएको बन्दाबन्दी र निषेधाज्ञाका कारण प्रभावित वैदेशिक व्यापार लयमा फर्किन थालेको छ । मुख्य नाका वीरगञ्जबाट हुने आयातनिर्यातले पुरानै गति समात्न थालेको भन्सार कार्यालयहरूले बताएका छन् ।

गत चैत ११ गतेदेखि लगाइएको बन्दाबन्दीबाट प्रभावित व्यापार बन्दाबन्दी हटेसँगै साउन १० यता करीब २ महीनाको निषेधाज्ञाले थप शिथिल बनेको थियो । सरकारले आयातनिर्यात र ढुवानीलाई अत्यावश्यक सेवामा राखेर अवरोध नहुने बताए पनि आवागमनमा रोकका कारण प्रभावित भएको थियो । बजार, माग र उत्पादन खुम्चिँदा वैदेशिक व्यापार निकै घटेको थियो ।

Advertisement

असोज १ देखि निषेधाज्ञा हटेपछि बजारले गति लिन थालेको हो । त्यसयता व्यापार क्रमशः बढेको वीरगञ्ज भन्सारका अधिकारीहरू बताउँछन् । चालू आर्थिक वर्ष २०७७र७८ को पहिलो त्रैमाससम्म व्यापारमा कमी देखिए पनि कात्तिक लागेपछि सुधार आएको वीरगञ्ज र सुक्खा बन्दरगाह भन्सारबाट भित्रिएको मालसामानको परिमाणले देखाउँछ ।

अहिले एकीकृत जाँच चौकी (आईसीपी) भन्सारबाट दैनिक ५०० देखि ७०० गाडी मालसामान भित्रिइरहेको जानकारी आईसीपी सञ्चालक नेपाल इन्टर मोडल यातायात विकास समिति (एनआईटीडीबी) वीरगञ्जका प्रमुख कमल ज्ञवालीले दिए । गाडीको यो संख्या सामान्य अवस्थामा भित्रिने परिमाणबराबर हो । बन्दाबन्दी र निषेधाज्ञाका बेला यो भन्सारबाट दैनिक १ सयदेखि १५० गाडी मालसामान भित्रिएको थियो ।

आईसीपीबाट भित्रिने गाडीको संख्या बढेपछि पार्किङको अभाव भएको छ । आईसीपीमा अहिले २५० देखि ३०० गाडी अटाउने पार्किङ स्थल छ । अन्य गाडीलाई सडकमै राख्ने गरिएको ज्ञवालीले बताए । ‘पार्किङ अभाव भएपनि ३५० ओटा गाडी अटाउने नयाँ पार्किङ निर्माण भइरहेको छ,’ उनले भने ।

आर्थिक अभियान दैनिकबाट ।

Advertisement

Advertisement