चकलेट बिस्कुट आयातमै सक्कियो २८ अर्ब, नेपाली कम्पनीसँग क्षमता छ उत्पादन छैन्

Advertisement

काठमाडौं । चकलेट बिस्कुट किन्नमै नेपालले पछिल्लो पाँच वर्षमा २८ अर्ब रुपियाँ सकेको छ । वार्षिक करिब ६ अर्ब रुपयाँसम्म विदेशबाट चलकेट र विस्कुट किन्नमै खर्च गरिरहेको नेपालले स्वदेशी कम्पनीकै उत्पादन क्षमता भने बढाउन सकेको छैन् ।

नेपालमा विभिन्न देशबाट भित्रिने गरेको चिनी बाहेकका गुलिया बस्तु (चकलेट तथा विस्कुट)मा मात्रै बार्षिक छ अर्बभन्दा बढी रकम खर्च गर्ने गरेको सरकारी तथ्यांकमा उल्लेख छ । तथ्यांकअनुसार आर्थिक वर्ष २०७३–७४ देखिको पाँच वर्ष २०७७–७८ सम्ममा मात्रै सवा २७ अर्ब रुपियाँको यस्तो गुलिया बस्तु नेपाल भित्रिएको देखिन्छ । यस्तो गुलिया बस्तुको आयात पाँच वर्ष अगाडि बार्षिक दुई अर्ब मात्रै हुने गरेकोमा पछिल्ला वर्ष छ अर्बभन्दा बढी रकम खर्च हुन थालेको छ ।

Advertisement

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा मात्रै यस्तो गुलिया चकलेट तथा बिस्कुटको आयात एक अर्ब ४५ करोड रुपियाँको भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । जसअनुसार असोज महिनासम्ममा भित्रिएको यस्तो आयात तिहार लक्षित बढी हुने गरेको छ । यस्तो आयात गत वर्षको पहिलो त्रैमासमा एक अर्ब ४३ करोड रुपियाँको थियो ।

तिहारमा झिलिमिली बत्तीसँगै गुलिया मिठाईको पनि व्यापार बढ्ने गरेको छ । तिहारमा चकलेट र तथा मिठाईमा हुने खर्च अन्य समयको तुलनामा बढी हुने र तिहार लक्षित गरेर नै आयात बढी हुने गरेको पनि तथ्यांकले देखाएको छ ।

वर्षमै एक करोड ५० लाख केजी यस्ता गुलिया चकलेट तथा विस्कुट विभिन्न देशबाट नेपाल भित्रिने गरेका छन । नेपालमा भएकै कम्पनीले भने उत्पादन गर्ने र आयात कम गर्नमा योगदान गर्न भने सकेको देखिदैन् । आयातको तुलनामा नेपालमा भएका कम्पनीको बार्षिक चकलेट उत्पादन एक तिहाइ पनि छैन् ।

हाल नेपालमा चकलेट उत्पादका लागि १४ वटा कम्पनीले उद्योग विभागबाट अनुमति लिएका छन् । यी कम्पनीको चकलेट तथा बिस्कुट उत्पादन क्षमता भने वार्षिक ३६ हजार टनको लागि अनुमति छ । विभागका तथ्यांक अधिकारी सुशील खनालका अनुसार उत्पादन अनुमति लिएका कम्पनीले कति उत्पादन गरेका छन् र कुन कुन कम्पनी सञ्चालनमा छन भन्ने अद्यावधिक विवरण भने विभागमा आउने गरेको छैन् ।

नेपालमा चकलेट उत्पादन अनुमति लिएका कम्पनीमध्ये सबैभन्दा बढी क्षमता सूर्य नेपाल एउटैको बार्षिक नौ हजार टन छ । यो कम्पनी एउटैको चकलेट उत्पादन क्षमता बार्षिक नौ हजार टन रहेको भएपनि कोरोना महामारी सुरु भएसँगै कम्पनीले उत्पादन थालेको हुँदा अपेच्छा अनुसार उत्पादन हुन नसकेको सूर्य नेपाले जानकारी दिएको छ ।

यो कम्पनी हालसम्म सबैभन्दा धेरै चकलेट उत्पादनको अनुमति लिने नेपाली कम्पनी भएपनि बजारमा बलियो उपस्थिति भने अहिलेसम्म सुजल फुड्सकै छ । यसले चारवटा कम्पनीमार्फत चकलेट उत्पादन गरेर बजारमा पठाउँछ भने बजार हिस्सामा पनि यसकै बलियो उपस्थिति छ ।

वार्षिक १५ अर्बभन्दा बढीको कारोबार 
नेपालमा उत्पादन भएका र बाहिरबाट आएका चकलेट बिस्कुट गरी वार्षिक १५ अर्बको कारोबार हुने नेपाली चकलेट उत्पादकहरूको भनाइ छ । नेपालमा चक्लेट तथा बिस्कुटको वार्षिक औसत आयात पाँच पाँच अर्ब रुपियाँको हुँदा नेपालमै उत्पादन हुने कम्पनीबाट हुने औसत कारोबार बार्षिक पनि सोही हाराहारीमा हुने गरेको छ ।

आयात भएका सामानको बिक्रीबाट हुने औसत वार्षिक कारोबार अर्को पाँच अर्ब रुपियाँको हुँदा नेपालमा चकलेट तथा आयातित गुलिया बिस्कुटको कुल बजार करिब १५ अर्ब रुपियाँको भएको दाबी पनि सम्बन्धित व्यवसायीको छ ।

व्यवसायीका अनुसार नेपालमा एक रुपियाँदेखि १५ सय रुपियाँसम्मको चकलेट आयात हुने गरेको छ । आयात भएकाबाहेक नै नेपाली बजारमा ४० प्रतिशत हिस्सा सुजल फूडको मात्रै रहेको छ । नेपालमा आयात मात्रै नभएर चकलेट निर्यात पनि हुने गरको छ । यस्तो चकलेट निर्यात नेपालबाट बार्षिक करिब एक करोड ५० लाख रुपियाँको मात्रै हुने गरेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांकमा उल्लेख छ ।

Advertisement