कालापत्थरमा अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस, १० बुँदे घोषणापत्र पनि जारी

Advertisement

सोलुखुम्वु । लुक्लाबाट लगातार नौ दिनको हिँडाइपछि सगरमाथाको काखमा पर्ने कालापथ्थरमा पुगेको महिला टोलिले ११२ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ । जलबायु परिवर्तनको असरबारेको सन्देश लिएर आएको महिला टोलिले ‘सामाजिक न्याय र लैंगिक समानताः दिगो बिकासको सुनिश्चितता’ भन्ने मुल नाराका यो दिवस मनाएको हो । 

कार्यक्रमका प्रमुख अतिथि तथा पदयात्रामा सहभागी सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले जलबायु परिवर्तनका कारण नेपालको हिमाली क्षेत्रले भोगेको प्रत्यक्ष असरबारे अन्तर्राष्ट्रिय जगतले समेत छलफलको विषय नबनाएकोमा असन्तुष्टि व्यक्त गरिन् । 

Advertisement

पदयात्राका क्रममा देखिएका जलवायु परिवर्तनका असरबारे बताउँदै उनले भनिन्, ‘महिलाहरुलाई आर्थिकरुपमा सबल बनाउन, पर्यटन प्रवद्र्धन गर्न एवं जल, जमिन र जगंलको स्वामित्व लिन र उपभोग गर्नमा समेत जलबायु परिवर्तनले नकारात्मक असर पारेको छ ।’

चर्चित अभिनेत्री मनिषा कोइरालाले जलवायु अनुकूलन र न्यूनीकरणका कार्यमा गाउँ गाउँमा रहेका महिलाहरुले विशिष्ट योगदान पुर्याएको बताउँदै तिनको अभिलेखीकरण र अनुभव आदानप्रदान गर्ने कार्यक्रमको खाँचो रहेको बताइन् । उनले हिमाली क्षेत्रमा बसोबास गर्ने महिलालाई अझ सक्षम बनाउन अन्तर्राष्ट्रिय समुदायबाट सहयोग जुटाउनेतर्फ पहल गर्नुपर्ने बताइन् । 

महिला अधिकारकर्मी तथा युएन सिड कमिटी सदस्य बन्दना राणाले हिमाल, पहाड र तराईमा बसोबास गर्ने महिलालाई जलवायु परिवर्तनको असर र त्यसको न्यूनीकरणबारे जानकारी दिने खालका कार्यक्रम तय गर्न सरकार अग्रसर हुनुपर्ने बताइन् । उनले जलवायु परिवर्तनले भोगेको विपद्लाई कम गर्न विश्वव्यापी रुपमा एकजुट हुन आह्वान पनि गरिन् । 

बन तथा वातावरण मन्त्रालयका सहसचिव एवं जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख डा. राधा वाग्लेले जलवायु परवर्तनका असर नियन्त्रण गर्न सरकारले विविध किसिमका कार्यक्रम तर्जुमा गरिरहेको जानकारी दिँदै सम्वन्धित विषयका सरोकारवालासँग पनि सरकारले सहकार्य गर्ने बताइन् । 

घोषणापत्र जारी
कालापथ्थरबाट जलवायु परिवर्तनबारे राष्ट्र र विश्वलाई ध्यानाकर्षण गराउन १० बुँदे घोषणापत्र जारी गरिएको छ । विभिन्न क्षेत्रमा कार्यरत ४० जना महिलाहरु पदयात्रा गर्दै कालापथ्थरमा पुगेको र सोही अवसरमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइएको हो । ‘साथसाथै’ नामक संस्थाको आयोजनामा भएको कार्यक्रममा जलवायु न्याय मुद्दाको वकालत गर्ने, जलवायु परिवर्तनको न्यूनीकरण र अनुकूलनमा महिलाको भूमिका परिभाषित गर्न प्रयास गर्ने, मानव स्वास्थ प्रणालीको दिगो व्यवस्थापनका लागि प्रवद्र्धन गर्न अपिल गर्ने प्रतिबद्धता पनि घोषणापत्रमा उल्लेख छ । 

यसैगरी, विश्वव्यापी जलवायु न्याय आन्दोलनसँग हात मिलाउन आफ्नो प्रतिबद्धता व्यक्त गर्ने, हिमालयलाई प्रकृतिमा आधारित पर्यटन गन्तव्यको रुपमा प्रवद्र्धन गर्ने, परिवर्तनशील जलवायुको सामना गर्न र सक्षम बनाउन सरोकारवालासँग साझदारी गरिनेछ । वुमन युनाइटेड फर क्लाइमेट जस्टिस मूल नाराका साथ शुरु भएको अभियानले महिलाको जीवनमा पारेका प्रभाव र त्यसमा न्याय खोज्न हुनुपर्ने पहलका बारेमा पनि घोषणापत्रमा उल्लेख गरिएको छ । 

साथसाथैकी अध्यक्ष प्रजिता कार्कीका अनुसार जलवायु परिवर्तनका कारण महिलाहरुले भोग्नुपरेका कठिनाइसँग जुध्न अपनाइने मापदण्डका विषयमा कुरा गर्न कालापथ्थरको पदयात्रा गरिएको हो । घोषणापत्रका १० बुँदा पाठ गर्दै उनले कालापथ्थरबाट विश्व समुदायको ध्यानाकर्षण गराउनका लागि यो स्थान चुनेको बताइन् । 

कालापथ्थरमा जलवायु परिवर्तन र महिला न्यायका विषयमा सरोकारवाला निकाय, वातावरणविद्, अनुसन्धानकर्तालगायतसँग छलफल भएको कार्कीले जानकारी दिइन् । विशेषत महिला र जलवायु परिवर्तनको असर प्रत्यक्षरुपमा जोडिएका कारण आफ्नो संस्थाको ध्यान त्यसैमा केन्द्रित रहेको पनि उनले बताइन् । 

पदयात्रामा भाग लिएका विभिन्न पेशा व्यवसायका अग्रणी महिलाले पनि आआफ्ना अनुभव साटेका थिए । र, भविष्यमा जलवायु परिवर्तनले ल्याएका असर कम गर्न आफूले सक्दो प्रयास गर्ने प्रतिवद्धता जनाएका थिए । 

Advertisement