‘रोड टेस्ट’ नगरी लाइसेन्स दिने प्रवृत्तिका कारण धेरै दुर्घटना हुने गरेको होः गृहमन्त्री

Advertisement

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले ‘रोड टेस्ट’ नगरी ड्राइभिङ लाइसेन्स दिने प्रक्रिया परिमार्जन गर्न आवश्यक रहेको बताएका छन् । 

आईतवार उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आयोजित ‘ट्राफिक सचेतना विशेष अभियान’ शुभारम्भका क्रममा उनले सवारी चालकलाई ‘रोड टेस्ट’ नगरी ड्राइभिङ लाइसेन्स दिने परिपाटी नै गलत भएको दाबी गरे । लामिछानेले ड्राइभिङ सेन्टरमा सिकाएको भरमा लाइसेन्स दिने प्रक्रियालाई कडाइका साथ निर्मम हुन आवश्यक रहेको बताए । 

Advertisement

उनले सवारी साधन राम्रोसँग चलाउन आएपछि ‘रोड टेस्ट’ गरेर मात्र लाइसेन्स दिनुपर्ने कुरामा आफू अडिग रहेको बताए । लामिछानेले सीप बिना नै रोड टेस्ट नगरी लाइसेन्स दिने प्रवृत्तिका कारण धेरै दुर्घटना हुने गरेको दाबी गरे । 

उनले सडक दुर्घटनामा बाइक चालकहरूको संख्या बढी रहेको भन्दै त्यसलाई सुधार्न लाइसेन्स दिने प्रक्रियामै सुधार गर्नुपर्ने बताए । मन्त्री लामिछानेले ड्राइभरलाई सवारी लाइसेन्स दिने निकाय एउटा तर त्यो लाइसेन्स प्राप्त गरेको मानिसले सही ढङ्गले सवारी चलाएको छ कि छैन ? भन्नेकुरा नियमन गर्ने निकाय अर्को भएकाले पनि समस्या भएको बताए । 

उनले भने, ‘दुर्घटना न्यूनीकरण राज्यको दायित्व हो । गृहमन्त्रालयको दायित्व हो । नागरिकको ज्यान बचाउने सबै भन्दा ठूलो दायित्व हो । सुरक्षित ढङ्गले सवारी सञ्चालन हाम्रो लागि प्राथमिकता हुनुहुपर्छ । जस्तो सरकारको ड्राभिङ लाइसेन्स दिने निकाय एउटा छ । त्यो लाइसेन्स प्राप्त गरेको मान्छेले सही ढङ्गले सवारी चलाएको छ वा छैन ? भनेर हेर्ने निकाय अर्को छ । म त भन्छु ‘रोड टेष्ट’ नगरी कन ड्राइभिङ दिने परिपाटी छ । त्यो परिपार्टी ठिक छैन । त्यसलाई परिमार्जन गर्न सक्नुपर्छ ।’ 

लामिछानेले थपे, ‘कुनै ठाउँभित्र एट (८) बनाएर, अलिअलि रोकेर साइड लगाएको भरमा जुन ढङ्गले लाइसेन्स दिइएको छ, यसलाई एकदमै कडाइ गरेर मात्र लाइसेन्स दिनुपर्छ भन्दिन । तर सडकमा सवारी बोकेर जाने मानिसलाई ट्राफिक नियम थाहा हुनुपर्छ र राम्रोसँग सवारी बोक्नसक्ने भएपछि मात्र लाइसेन्स दिनुपर्छ भन्ने कुरामा म अडिग छु । बाबुआमाले माया गरेर परीक्षामा यति प्रतिशत अङ्क ल्यायौ भने बाइक किन्दिन्छु भन्नु एउटा कुरा हो । तर त्यो बाइक गाडी चलाउने हैसियत बनाउनु अर्को कुरा हो । तर लाइसेन्स चाहिँ त्यसरी पाउनुहुँदैन ।’ 

उनले दुर्घटना न्यूनीकरण राज्यको दायित्व भएको भन्दै नागरिकको ज्यान बचाउनु सबैभन्दा ठूलो दायित्व भएको बताए । लामिछानेले सुरक्षित सवारीसाधनको सञ्चालन राज्यको प्राथमिकता हुनुपर्ने बताए । 

Advertisement

Advertisement