नेपालको उड्डयन सुरक्षाको जाँच गर्न ईयूको टोली आउने, प्राधिकरणको बजेट झण्डै ४२ अर्ब

Advertisement

काठमाडौं । नेपालको उड्डयन सुरक्षाको जाँच गर्न युरोपेली युनियन (ईयू)को टोली नेपाल आउने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले आइतबार पत्रकारहरुमाझ नेपालको उड्डयन क्षेत्रको ‘सेफ्टी अडिट’का लागि  ईयूको टोली नेपाल आउन लागेको जानकारी दिएका हुन् । 

नेपालमा उड्डन सुरक्षा भरपर्दो नरहेको र दुर्घटना धेरै हुने गरेको भन्दै ईयूले नेपाललाई सन् २०१३ देखि हवाई प्रतिबन्ध सूची (ब्ल्याक लिष्ट)मा राखेको थियो । उक्त सुचीबाट हटाउन नेपालले आग्रह गर्दै आए पनि यसले अटेर गर्दै आएको छ । हवाई प्रतिबन्ध सूचीमा राख्दा नेपाली वायुसेवाहरुले युरोप उडान गर्न पाएका छैनन् ।  

Advertisement

अधिकारीले सेफ्टी अडिट गर्न आउने आफूहरुले ईयूलाई पत्राचार गरेअनुसार उनीहरुले त्यसको प्रतिक्रिया शुक्रबार दिएको बताउँदै ईयूको टोली विना शर्त अडिट गर्न आउन तयार भएको बताए । यसलाई ठूलो उपलब्धीको रुपमा प्रस्तुत गर्दै उनले आफूहरु तयारीका साथ प्रस्तुत हुने बताए । 

आजै प्राधिकरणले चालु वर्षका लागि ४१ अर्ब ८५ करोड ९२ लाख रुपियाँको बजेट सार्वजनिक गरेको छ । अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिदेखि उपत्यका बाहिर नयाँ विमानस्थल निर्माण प्रक्रिया अगाडि बढाउने योजनासमेत बनाएको प्राधिकरणले ठूलो आकारको बजेट सार्वजनिक गरेको हो । 

महानिर्देशक अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम करिब सम्पन्न भएको दर्जन नयाँ विमानस्थलमा लगानी गर्ने तयारी भइरहेको बताए । आन्तरिकतर्फ डडेलधुरा, भेरीगंगा, रुकुम चौरजहारी लगायत क्षेत्रमा संभाव्यता अध्ययन गर्ने योजना रहेको उनले बताए । उदयपुर विमानस्थलको निर्माण यही वर्षबाट सुरु गर्ने योजना रहेको र सिन्धुली, बागलुङमा विमानस्थल निर्माणका लागि प्राधिकरणले वातावरणिय प्रभाव मूल्यांकन अध्ययन सुरु गर्ने समेत अधिकारीले जानकारी दिए । 

प्राधिकरणले बजेटमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि लगानी ढाँचा तयार गर्ने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय स्तरको नयाँ टर्मिनल भवन र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवन निर्माण सुरु गर्ने योजना पनि छ । 

प्राधिकरणले त्रिभुवन विमानस्थलको ह्याङगर एरिया डेभलपमेन्ट, प्यारालल ट्याक्सी–वे, एप्रोन एरिया, अराइभल  हल, पार्किङ–वे विस्तार लगायतको काम अगाडि बढाउने समेत जनाएको छ । कार्यक्रममा पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ पनि सहभागी थिए । 

Advertisement

Advertisement