गुराँस लाइफको वित्तीय विवरणमा २८ करोड गडबडी, हतार गर्दा स्वीकृत हुनपुगेछः समिति

Advertisement

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले बीमा समितिलाई पेश गरेको वित्तीय विवरण नै नक्कली रहेको खुलासा भएको छ । कम्पनीले आफ्नो खातामा २८ करोड रुपियाँको हिसाब गडबड हुँदा पनि सोही विवरण प्रकाशन गर्ने तयारी गरेको भेटिएको हो । 

समितिले उक्त वित्तीय विवरणलाई बिना चेकजाँच स्वीकृती दिएको पनि खुलासा भएको छ । हतारमा काम गर्दा स्वीकृत हुन पुगेको समितिको स्वीकारोक्ती छ । 

Advertisement

बीमा कम्पनीहरुले आफ्नो वित्तीय विवरण प्रकाशन गर्नुअघि समितिले स्वीकृत गर्नुपर्ने नियम छ । सोहीअनुसार गुराँसले यसै साता वित्तीय विवरण बुझाएको थियो । 

तर २८ करोडको हिसाव नमिलेको विवरण बीमा समितिबाट स्वीकृत भइसकेपछि रहस्योदघाटन भएको हो । हिसाव नमिलेको वित्तीय विवरण पठाइएपछि त्यसप्रति असन्तुष्टि जनाउँदै गुराँस लाइफका एकाउन्टेन्ट बीके अग्रवालले राजीनामा समेत दिइसकेका छन् । 

उनले हिसाबकिताब सहीरुपमा मिलाएर मात्रै विवरण प्रकाशन गर्नुपर्ने अडान राखे पनि संचालक समितिले आनाकानी गर्दै पठाएपछि राजीनामा दिएका हुन् । 

गुराँस लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बिपीनकुमार लालले भने,‘अहिले म बहिर छु । त्यसैले यस विषयमा मलाईभन्दा पनि अरु कर्मचारीलाई सोध्नु होला ।’ त्यसलगत्तै कम्पनीका सूचना अधिकारी बोधलाल पूरीलाई सम्पर्क गर्दा उनी फोन सम्पर्कमा आउन चाहेनन् । 

नियमनकारी निकायमा लामो समय काम गरेका एक कर्मचारीले भने, ‘कुनै पनि हातलमा बीमा कम्पनीले पठाएको वित्तीय विवरण एक दिनमा स्वीकृत गर्न सम्भव हुँदैन । तर गुराँस लाइफले पठाएको वित्तीय विवरण बीमा समितिले एकै दिनमा स्वीकृत गरेको छ । यसले त बीमा बजारमा ठूलो असर पार्छ । यो रहस्यपूर्ण पनि छ ।’ 

उनले एक पटक वित्तीय विवरणमा चढाईसकेको हिसाब किताब जीवन बीमा कोष (लाइफ फण्ड)मा गएको पैसा कुनै पनि हालतमा बाहिर निकाल्न नहुने भए पनि गुराँस लाइफले गडबडी गरेको खुलासा गरे । ती कर्मचारीले वित्तीय विवरणमा गहिरो छानविन गर्न आग्रह पनि गरे । 

यता बीमा समिति स्रोतले भने मर्जरको कारण हतारमा स्वीकृत भएको हुनसक्ने बताएको छ । उक्र स्रोतले यस विषयलाई आफूहरुले गम्भीर रुपमा हेर्ने बताए । 

सबै जीवन बीमा कम्पनीले आफ्नो वित्तीय विवरण प्रकाशन गरिसक्दा पनि गुराँस लाइफ भने ढिलो गरेको अवस्था थियो । यसअघि बीमा क्षेत्रमा युनियन लाइफ इन्स्योरेन्सले पनि आफ्नो वित्तीय विवरणमा गडबडी गरेर चर्चामा आएको थियो । दुई पटकसम्म वित्तीय विवरण प्रकाशन गरेको भन्दै युनियन लाइफलाई विभिन्न आरोपसमेत लागेको थियो । 

Advertisement

Advertisement