पश्चिम सेती र सेती नदी–६ को ‘एमओयू’  लगानी बोर्डले सार्वजनिक गर्यो

Advertisement

काठमाडौं । लगानी बोर्डले पश्चिम सेती र सेती नदी–६ जलविद्युत आयोजनाहरुको विकासको निम्ति भारत सरकारको स्वामित्वको एनएचपीसी लिमिटेडसँग भएको समझदारीपत्र (एमओयू) सार्वजनिक गरेको छ । पत्रमा नेपालले उक्त आयोजनाहरुबाट विद्युत उत्पादन सुरु भएको मितिदेखि प्रतिमहिना २१.९ प्रतशित अर्थात् कूल २६२.८ मेगावाट विद्युत नेपाललाई निःशुल्क दिने कुरा उल्ल्ेख छ । 

लगानी बोर्डको ५२औँ बैठकको निर्णयानुसार ७५० मेगावाटको पश्चिम सेती र ४५० मेगावाटको सेती नदी–६ गरी कूल १२ सय मेगावाट क्षमताको जलविद्युत परियोजना भारतीय कम्पनीलाई निर्माण गर्न दिनको निम्ति गत भाद्र २ गते प्रधानमन्त्री शेरबहादुर देउवाको रोहबरमा समझदारीपत्रमा हस्ताक्षर भएको थियो । 

Advertisement

एनएचपीसीले नेपाल सरकारलाई ती दुई परियोजनाको विकासको निम्ति कूल एक अर्ब ३४ करोड परफर्मेन्स सेक्युरिटी बुझाउनु पर्नेछ र, उत्पादन सुरु भएपछि छुट्टै रोयल्टीवापतको रकम पनि नेपाललाई बुझाउनुपर्नेछ । 

एमओयू अनुसार भारतीय निर्माताले सो विद्युत विद्यमान वा प्रस्तावित प्रसारण लाइनमार्फत प्रसारण तथा बिक्रीवितरण गर्ने जिम्मेवारी प्राप्त गर्नेछ । साथै नेपालले विद्युत खरिद गर्न चाहेमा एनएचपीसीले निर्यात बजारमा पठाउनु अघि घरेलु माग आपूर्तिको निम्ति चाहिए जति खरिद गर्न सक्नेछ ।

पश्चिम सेतीको कूल अनुमानित लागत १ खर्ब ६८ अर्ब रुपियाँ छ भने सेती नदी ६ को कूल अनुमानित लागत एक खर्ब १ अर्ब ९३ करोड छ ।

Advertisement

Advertisement