पदमुक्त भइसकेपछि पनि सापकोटा राष्ट्रिय समारोहमा, प्रधानन्यायाधीश जबरालाई भने बोलाइएन

Advertisement

काठमाडौं । प्रतिनिधिसभाको अन्त्य गएको शनिबार राति १२ बजेबाट अन्त्य भइसकेको छ । सोही समयदेखि प्रतिनिधिसभाका सबै साँसददेखि सभामुखसम्मको पद पनि अन्त्य भएर शनिबार अन्तिम बैठक समेत बसेको थियो । 

तर पदमै नरहेको सभामुख अग्नि सापकोटा भने सोमबार संविधान दिवसको अवसरमा टुंडिखेलमा आयोजित राष्ट्रिय समारोहमा दौरा सुरवाल र कालोटोली लगाएर सभामुखकै हैसियतमा देखिए । 

Advertisement

शनिबार रातिबाट संसद अन्त्य भएसँगै महाभियोग प्रस्तावका कारण निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा निलम्बनमुक्त भए । उनलाई टुँडिखेलको समारोहमा बोलाउनुपर्ने भए पनि सरकारले उल्टै निवासमा नजरबन्द गरेर राखेको अवस्था छ । प्रधानन्यायाधीशको सिट प्रधानमन्त्री शेरबहादुर देउवा नजिकै खाली देखिन्छ । 

पछिल्ला दिनमा राजनीतिक संकटसँगै संवैधानिक संकट पनि गहिरिँदै गएको छ । राजनीतिक स्वार्थ र सत्ताका लागि संविधान र कानुनविपरित काम गर्ने प्रवृत्ति बढ्दै जाँदा दल र नेताहरुप्रति जनताको विकर्षण बबढ्दै गएको देखिन्छ । 

निर्वाचन आयोगले आइतबार र आज सोमबार समानुपातिक बन्दसूची बुझाउने भएकाले प्रतिनिधिसभाका सबैको पदावधी शनिबार रातिबाटै सकिने यसअघि नै स्पष्ट पारिसकेको छ । यसअघिका नेपालको अभ्यास निर्वाचन घोषणासँगै संसद अन्त्य हुने व्यवस्था भए पनि यस पटक भने निर्वाचन आचारसंहितबाट तय गरिएको हो । 

निर्वाचनमा प्रतिस्पर्धा गर्नुपर्ने व्यक्तिहरु कोही सरकारी सुविधामा रहेर जाने कोहीले सरकारी सुविधाविहीन भएर प्रतिस्पर्धा गर्दा अस्वस्थ प्रतिस्पर्धा हुनुका साथै चुनावको नजितामा समेत फरक पर्ने देखिएपछि मनोनयन दर्ता भएको मितिबाटै संसद नरहने व्यवस्था आयोगले गरेको हो । 

तर पूर्वसभामुख अग्नि सापकोटा अझै पनि सरकारी गाडीमा झण्डा हल्लाउँदै हिंडिरहेको देखिएको छ । निर्वाचन अनुगमन गर्नुपर्ने निकाय निर्वाचन आयोगले यस कुराको अनुगमन नगर्दा आज उनी राष्ट्रिय समारोहमा समेत पुग्न सफल भए । 
 
कानुनअनुसार उपस्थित हुनुपर्ने प्रधानन्यायाधीशलाई उपस्थित नगराई पदमुक्त भइसकेका सापकोटालाई संविधान दिवसको महत्वपूर्ण कार्यक्रममा सहभागी गराउँदै यसले गम्भीर प्रश्नसमेत उब्जाएको छ ।

Advertisement

Advertisement