कपाल काटेरै तीनतले घर, छोरा चार्टर एकाउन्टेन्ट !

Advertisement

चितवन । सानै काम भए पनि निरन्तर लागिरह्यो भने सफलता मिल्छ भन्ने एक उदाहरण यहाँका सुरेश ठाकुरले देखाएका छन् । परिश्रम गर्नसके स्वदेशमा नै काम गर्न सकिन्छ भन्ने उदाहरण ठाकुरले देखाएका हुन् । कपाल काटेरै उनले भरतपुरमा तीन तलाको घर बनाएका छन् ।  

त्यसो त उनका एक छोरा चार्टर एकाउन्टेन्ट उत्तीर्ण गरी काममा लागेका छन् । अर्का एक छोरा र एक छोरीले पनि उच्च शिक्षा हासिल गरिसकेका छन् । यो सबै ठाकुरको मेहनतको कमाइ हो । बाराको देउताल गाउँपालिका–४ पिप्राडीका स्थायी बासिन्दा ठाकुरले स्थानीय विद्यालयबाट कक्षा १० उत्तीर्णपछि यो पेसामा लागेका हुन् । स्थानीयस्तरमा काम सिकेर छ महिना उनले भारतको दिल्ली पुगेर तालिम लिए । 

Advertisement

विसं २०५० मा भरतपुरको तत्कालीन जिल्ला विकास समितिको जग्गामा रहेको सटरमा उनले कपाल काट्न सुरु गरे । त्यतिबेला उनको उमेर १८ वर्षको थियो । उनले भने, “म मेरो फूपाजु रामकुमार ठाकुरसँग कपाल काट्ने कामका लागि चितवन आएँ ।” २६ वर्ष त्यहीँ ठाउँमा कपाल काटेपछि उहाँ अहिले केही पर सरेका छन् । 

यहाँ आएर सुरुमा नै आफैँले व्यापार थालेको उनी सम्झन्छन् । त्यतिबेला दाह्री र कपाल काटेको रु १० लिने गरिन्थ्यो । अहिले यो मूल्य बढेर रु एक सय ७० पुगेको छ । त्यतिबेला दैनिक ५० जना सम्मको दाह्री कपाल काटेको उनलाई अनुभव छ ।

अहिले यो सङ्ख्या ३०÷३५ छ । आम्दानी हुँदै गएपछि बसाइँ चितवन बनाउने रहर उहाँमा जाग्यो । यहाँ कमाएको पैसाले वीरगञ्जमा जग्गासमेत किनिसकेका छन् । सन्तान हुर्कंदै गएपछि त्यहाँको घडेरी बेचेर भरतपुर महानगरपालिका–१२ मा घडेरी किने । सोही घडेरीमा उनको तीन तलाको घर ठडिएको छ । 

४५ वर्षीय ठाकुरका जेठा छोराले स्नातक गरेर जागिर खान थालेका छन् । कान्छो छोराले भारतको चण्डीगढबाट सिए उत्तीर्ण गरेर यही लेखापरीक्षण सुरु गरेका छन् । उनका छोरी कक्षा १२ पढ्दै छिन् । अहिले पनि निरन्तर कपाल काट्दै आउनुभएका ठाकुर मेहनत गर्यो भने यही कमाइ हुने बताउँछन् । 

जीवनको झण्डै तीन दशक यो पेसामा सङ्घर्षरत ठाकुरले भने, “मेहनत गरेर काम गर्नुस् विदेशिनु पर्दैन ।” कर्मथलो चितवन बनाउनु भएका ठाकुरको मेहनतको कमाइले स्थायी बसोबास भरतपुर बनेको हो । अहिले पनि उनको आफ्नै कमाइले परिवार धानेको छ । 

छोरीबाहेकको पढाइ खर्च घटेपछि र छोराको आम्दानी सुरु भएकाले अबका दिन यस्तै परिश्रम गरिरहनु नपर्ने उनी बताउँछन् । रासस

Advertisement

Advertisement